काठमाडौँ । पछिल्लो समय नेपाली र हिन्दी फिल्मको व्यापार खस्किरहेका बेला ‘आ बाट आमा’ फिल्मले राम्रो व्यापार गरेको देखिएको छ । सोमबारसम्म ११ करोड ४३ लाख रुपैयाँको व्यापार गरेर वर्षकै राम्रो व्यापार गर्ने फिल्ममा पर्न सफल भएको छ ।
यसअघि ‘परान’ र त्यसअघि ‘जेरी अन टप’ फिल्मले १० करोडको हिट मार्कलाई उछिनेर फिल्म व्यापारलाई राहत दिएका थिए । फिल्म हलबाट उत्रिसक्दा यसले १२ करोड २६ लाख ६ हजार रुपैयाँ ग्रस कमाइ गरेको थियो ।
अघिल्लो वर्ष कात्तिकमा ‘ऊनको स्वीटर’ पनि निकै हिट साबित भएको थियो । यस वर्ष पनि ‘ऊनको स्वीटर’ले भारतका विभिन्न सिनेमा हलमा दर्शकबाट प्रशंसा पाएको थियो । नेपालमा यो फिल्मले ११ करोड ४१ लाखको व्यापार गरेको थियो । भारतमा भएको व्यापारका बारेमा भने निर्माण समूहले कुनै हिसाब सार्वजनिक गरेको छैन ।
हालसम्म ‘परान’को व्यापारले यसवर्ष सबैभन्दा बढी कमाउने कीर्तिमान राखिरहेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक सिनेपामा यो फिल्मले १७ करोड ७७ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाएको छ ।
‘आ बाट आमा’ पछिल्लो समयको एक्लो विजेता बन्न पुगेको छ । यसले ‘कुमारी’, ‘रमिताको पिरती’, ‘बिगुल’, ‘श्री बुकुरो’, ‘शिवांश’जस्ता फिल्मलाई उछिनेर व्यापार गरेको छ । चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा’मा विपना थापा, प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, सिमरन पन्त, उषा उप्रेती, रचना गौतमलगायतको अभिनय छ । फिल्मको सफलतालगत्तै निर्माण समूहले फिल्मको सिक्वेल बनाउने घोषणा गरेको छ ।
फिल्म प्रदर्शक नरेन्द्र महर्जन भने पछिल्लो समय धेरै फिल्मले लगानी उठाउन नसक्नुमा मागभन्दा बढी सिनेमा रिलिज हुनु मुख्य कारक रहेको बताउँछन् । ‘यतिबेला एक साथ दुईदेखि तीन वटा फिल्महरू र कहिलेकाहीँ त चार वटासम्म रिलिज भइरहेका छन्,’ उनले कारण केलाउँदै भने, ‘हाम्रा दर्शकको फिल्म हेर्ने क्षमताभन्दा बढी फिल्म रिलिज भएपछि केही राम्रा फिल्महरूले पनि दर्शक पाउन सकेनन् ।’
दर्शकको घट्दो आर्थिक क्षमता र समयको व्यवस्थापनजस्ता कारणले फिल्मको व्यापारमा प्रभाव पारिरहेको महर्जन बताउँछन् ।
उनले नेपाली फिल्म नराम्रो भएकाले नचलेको भन्नुभन्दा पनि हलिउड र बलिउडका फिल्महरू पनि सोचे जति चलेनन् भन्दै ‘बोर्डर २’ र ‘ओ रोमियो’ले सोचेजस्तो बम्पर व्यापार नगर्नुमा दर्शकको खाली खल्तीतर्फ औंल्याए ।
रोचक त, केही नेपाली फिल्मले दर्शक नआएपछि आफ्नो प्रदर्शन रोकेर उचित समयमा पुनः रिलिज गर्ने घोषणासमेत गरेका छन् । यस्तो सूचना जारी गर्ने फिल्महरूमा ‘बिगुल’ र ‘शिवांश’ रहेका छन् ।
‘अब त सरकारले फिल्म हेर भनेर बैंकमा पैसा पठाए मात्र हो,’ प्रदर्शक महर्जन भन्छन्, ‘केही यस्ता क्रेजी दर्शक छन्, जो जस्तो फिल्म भए पनि हेर्नैपर्ने ठान्छन् । त्यस्ता दर्शक हरेक भाषाका फिल्ममा हुन्छन् । उनीहरूबाहेक अन्य दर्शकले नेपाली वा हिन्दी कुनै फिल्मलाई पनि आफ्नो बकेट लिस्टमा राखेनन् ।’
‘उचित समयमा रिलिज गर्ने’ भनेर स्थगन गरिएका फिल्मले भविष्यमा राम्रो व्यापार गर्ने कुरामा महर्जन शंका व्यक्त गर्छन् । भारतमा पनि पछिल्लो समय ‘सनम तेरी कसम’ले सुरुवाती प्रदर्शनमा खासै राम्रो व्यापार गरेको थिएन तर गत वर्ष ‘सनम तेरी कसम’ले भने आश्चर्यजनक तरिकाले राम्रो व्यापार गरेको थियो । २०१६ फेब्रुअरी ६ मा रिलिज हुँदा २५ करोड बजेट रहेको सो फिल्मले नौ करोड भारु मात्र व्यापार गरेको थियो । यसको ठीक नौ वर्षपछि सन् २०२५ मा पुनः रिलिज गरिँदा यसले २१ करोड भारुको व्यापार गरेको थियो ।
यो ट्रेन्डले बलिउड उत्साहित मात्र भएन, धडाधड पुनः रिलिज गर्ने क्रम चल्यो । ‘लैजा मजनू’, ‘तुम्बाड’ र दक्षिण भारतीय फिल्म ‘गब्बर’ले राम्रो व्यापार गरेका थिए ।
यसबाट उत्साहित देखिएका नेपाली निर्माता अर्जुनकुमारले ‘चपली हाइट’लाई पुनः रिलिज गरेर इतिहास दोहोरिएला कि भन्ने आश गरेका थिए । महर्जन भन्छन्, ‘हामीले यो फिल्मलाई दुई, तीनपटक नै पुनः चलाउने प्रयास ग¥यौं तर खासै फाइदा भएन । हामीले ‘बुलाकी’मा पनि सोही प्रयोग गर्न खौज्यौं तर सफल भइएन ।’
त्यसैले उनले छोटो समयको अन्तरालमा कुनै फिल्म पुनः रिलिज गर्दा ती फिल्मले राम्रो व्यापार गर्नेमा शंका रहेको महर्जन बताउँछन् । त्यसैले अहिले तत्काल दर्शक नपाएका फिल्मलाई पुनः रिलिज गर्नुभन्दा केही समय कुर्नु उचित हुने उनको धारणा छ ।
हाललाई उनको निष्कर्ष छः चाहिँदोभन्दा बढी फिल्म जुध्दा पनि व्यापारमा ठूलो प्रभाव परिरहेको छ ।