नेभिगेशन
अर्थतन्त्र

निर्माण व्यवसायीलाई डोरीले होइन, कानुनले बाँध्ने भनेको होः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले निर्माण व्यवसायीलाई पूर्वाधार विकासको काममा केन्द्रित भई काम गर्न आग्रह गरेका छन् । रास्वपाको मंगलबार सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लागिछानेले वरिष्ठ नेता बालेन शाहले धनगढीमा दिएको मन्तव्यको आसयको अर्को अर्थ लगाइएको बताउँदै अब असुरक्षित महसुश नगरी काममा केन्द्रित हुन आग्रह गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघले सोमबार शाहले धनगढीमा दिएको मन्तव्यप्रति ध्यानाकर्षण भएको भन्दै सोमबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएको थियो । निर्माण व्यवसायीको अभिव्यक्तिको जवाफ दिँदै  लामिछानेले शाहले दिएको मन्तव्यको आसय निर्वाचनपछि आफ्नो पार्टीले नेतृत्व गर्ने सरकारले निर्माण व्यवसायीलाई डोरीले नभई कानुनले बाँध्ने भनेको स्पष्ट पारे ।
‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, मान्छेलाई डोरीले बाँध्ने भनेको होइन । कानुनले बाँधेर काम गराउने भनेको हो, कानुनले नै बाँध्ने हो,’ लामिछानेले भने । 
देश विकास निर्माणको बाटोमा अगाडि बढेको बताउँदै लामिछानेले निर्माण व्यवसायीले पनि अब ‘हामी असुरक्षित हुन्छौं कि’ भन्ने डर पालेको जस्तो बुझिएकाले काम नगर्नेलाई डोरीले बाँध्ने नभई कानुनले बाँधेर निर्धारित समय र लागतभित्रै काम सम्पन्न गर्ने भनिएको स्पष्ट पारे ।  
‘रास्वपाले आफ्ना कुराहरु राख्दै गर्दा कतिपय मानिस आतिएको देखिएको छ । म निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु, विज्ञप्ति निकाल्न पर्दैन,’ उनले भने,‘ विज्ञप्ति होइन, अब ठूला–ठूला निर्माण उपकरणहरू कसरी खरिद गर्ने हो, रातारात कसरी विकास निर्माण गर्ने हो, त्यतातिर लाग्नुस् ।’ 
उनले २०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन दजर्नौं कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईंहरुलाई ? तपाईंको ज्ञान तपाईंैसँग राख्नुहोला भन्दै गगन थापाप्रति लक्षित गर्दै आक्रोश पोखे । 
अब सम्भव भएसम्म २४ घन्टा नै दुईदेखि तीन सिफ्टमा काम हुँदै बताउँदै लामिछानेले रातारात काम गर्नका लागि भएका उपकरणहरु पर्याप्त नभएमा आवश्यक पर्ने उपकरण खरिद गरेर तयार बस्न पनि आग्रह गरे । ‘विज्ञप्ति निकाल्न पर्दैन, के–के इक्विपमेन्ट ल्याउनुपर्ने हो, कसरी ल्याउनुपर्ने हो, त्यसको तयारी गर्नुहोस्, अब नेपाल विकास निर्माणको बाटोमा जानछ, कसैले छेक्न सक्दैन,’ उनले भने । 
सभापति लामिछानेले देशमा रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताए । देश नयाँ इतिहास लेख्ने चरणमा पुगेको उल्लेख गर्दै उनले आगामी २१ मा हुने मतदानले परिवर्तनको दिशालाई स्पष्ट पार्ने विश्वास व्यक्त गरे । निर्वाचनपछि प्राप्त परिणामलाई सबैले स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन आवश्यक रहेको उनले बताए ।
लामिछानेले देशमा विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिँदै भ्रष्टाचारविरुद्ध आफ्नो पार्टी कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पारे । उनले २०४६ सालयताकासबै काण्डको छानबिन हुने बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्