नेभिगेशन
राजनीति
रवि–देवराज वाक्युद्ध

चुनावी सरगर्मीमा ‘इगो’ को लडाइ

काठमाडौं । चुनावी सरगर्मी बढ्दै जाँदा पूर्वसभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबीच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको छ । झापा–२ मा पर्ने बिर्तामोडमा आयोजित रास्वपाको सभालाई सम्बोधन गदै लामिछानेले पूर्वसभामुख घिमिरेमाथि पुरानो प्रसंग कोट्याउँदै आलोचना गरे । ‘हिजो संसद्को गरिमालाई कुल्चिएर, नियम मिचेर मेरो आवाज थुन्ने र माइक्रोफोन काट्ने पूर्वसभामुख आज कुन मुखले जनताको घरदैलोमा भोट माग्न आउँदै हुनुहुन्छ?,’ उनको प्रश्न थियो । घिमिरे यसपटक पनि झापा–२ मा एमाले उम्मेदवार हुन् । 
लामिछानेले पुराना दलहरू (कांग्रेस–एमाले) मिलेर उपसभामुख इन्दिरा राना मगरलाई हटाउन खोजेको र आफूलाई संसद्बाट निलम्बन गराएर राजनीतिक प्रतिशोध साँधेको आरोप समेत लगाए । झापा–२ मा रास्वपाबाट पूर्वउपसभामुख इन्दिरा राना मगर उम्मेदवार छिन् । उनको पक्षमा मत माग्दै लामिछानेले घिमिरेमाथि प्रश्न उठाएका थिए । 
लगत्तै एमाले नेता एवं पूर्वसभामुख घिमिरेले आफूविरुद्ध घृणा र अफवाह फैलाएको भन्दै कडा आपत्ति मात्र जनाएनन् रविको नैतिकतामाथि प्रश्न उठाए । लामिछानेको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै उनले भनेका छन्, ‘आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा रविजीले कुन नैतिकताले मत मागिरहनुभएको छ ? म आक्षेप लगाउने पक्षमा छैन, तर जनतालाई भावनामा बहकाएर अरूविरुद्ध घृणा फैलाउनु खेदजनक छ ।’
मंगलबार झापाको बिर्तामोडमा आयोजित चुनावी कार्यक्रममा लामिछानेले दिएको अभिव्यक्तिको खण्डन गर्दै घिमिरेले सामाजिक सञ्जाल र प्रेस वक्तव्यमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनी लगाएको आरोपको जवाफ पनि दिएका छन् । ‘संसदीय अभ्यासमा वक्ताहरूको समय निर्धारण नियमावली अनुसार हुन्छ । माइक काट्ने विषय सभामुखको व्यक्तिगत विचारले नभई पूर्वनिर्धारित समय सकिएपछि स्वतः हुने प्रक्रिया हो,’ उनले भनेका छन् । संसद्को अनुभव भइसकेको व्यक्तिले यति सामान्य प्रक्रियालाई ‘अन्याय’ को रूपमा व्याख्या गर्नु विडम्बनापूर्ण भएको घिमिरेको भनाइ छ । आफूमाथि लागेका कानुनी मुद्दा र सहकारी ठगीको छानबिनबाट बच्न लामिछानेले संसद् र सभामुख जस्तो गरिमामय संस्थामाथि हिलो छ्याप्ने काम गरिरहेको भन्दै समाजमा घृणा फैलाएर चुनाव जित्ने सपना नदेख्न चेतावनी पनि दिएका छन् । 
झापा–२ मा विघटित प्रतिनिधिसभामा सभामुख रहेका घिमिरे र उपसभामुख मगरबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । यद्यपि मगर पहिलोपटक प्रत्यक्ष निर्वाचनमा सहभागी हुन् भने घिमिरे ०७९ मा यही क्षेत्रबाट निर्वाचित सांसद हुन् । अघिल्लो पटक मगरलाई रास्वपाले समानुपातिक कोटामा सांसद बनाएको थियो, जहाँबाट उनका लागि एमालेसँगको दलीय गठजोडसँगै उपसभामुख बन्न सहज भएको थियो । 
रोचक त के छ भने घिमिरेलाई सभामुख बनाउन रास्वपाका सभापति लामिछानेले पनि समर्थन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्