नेभिगेशन
मनोरञ्जन

एआई डाटा सेन्टरका लागि मेटाले एएमडी रोज्यो

काठमाडौँ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतको सञ्चालक कम्पनी मेटा प्लेटफम्र्सले एड्भान्स्ड माइक्रो डिभाइसेस (एएमडी) बाट कृत्रिम बुद्धिमत्ता (एआई) चिप खरिद गर्ने ठूलो सम्झौता गरेको छ । सम्झौताअनुसार मेटाले एएमडीको नयाँ एमआइ ४५० चिपहरू किन्नेछ, जसले उसका एआई डाटा सेन्टरहरू सञ्चालनमा सहयोग गर्नेछ । सम्झौताको कूल मूल्य सम्भावित रूपमा १०० अर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्ने बताइएको छ ।

६ गिगावाट क्षमतासम्मका उपकरण आपूर्तिसहितको यो सम्झौताअन्तर्गत पहिलो १ गिगावाटका चिप ढुवानी आगामी जुलाईदेखि सुरु हुने योजना छ । साथै, मेटालाई एएमडीमा अधिकतम १० प्रतिशतसम्म शेयर हिस्सा लिन सक्ने अवसर पनि उपलब्ध गराइनेछ ।
यो खबर मेटाले केही दिनअघि मात्र एनभिडियासँग दीर्घकालीन सहकार्य घोषणा गरेपछि आएको हो । उक्त सहकार्यअन्तर्गत मेटाले एनभिडियाका लाखौं चिप र उपकरण आफ्ना एआई डाटा सेन्टरमा प्रयोग गर्ने बताएको थियो ।
एआई प्रविधिमा बढ्दो प्रतिस्पर्धाबीच एएमडीले एनभिडियासँग तालमेल राख्ने प्रयास गरिरहेको छ । एनभिडियाले सुरुमा भिडियो गेमका लागि बनाइएका जीपीयू चिपहरूलाई एआई प्रणाली तालिममा प्रयोगयोग्य बनाउँदै बजारमा अग्रता लिएको थियो । च्याटजीपीटी जस्ता एआई प्रणालीहरूको लोकप्रियतासँगै एआई चिपको माग तीव्र रूपमा बढेको छ ।
यद्यपि, एआईमा कम्पनीहरूले गरिरहेको ठूलो खर्चको प्रतिफल भविष्यमा कत्तिको आउला भन्ने चिन्ता पनि देखिएको छ । मेटाले भने गुगल र ओपनएआइ जस्ता प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न आफ्ना एआई प्रयासलाई तीव्र बनाइरहेको छ । यसै क्रममा मेटाले स्केल एआईमा १४.३ अर्ब डलर लगानी गरेको तथा एआई स्टार्टअप मानस समेत खरिद गरेको छ ।
सम्झौताअनुसार एएमडीले मेटालाई प्रदर्शनमा आधारित ‘वारेन्ट’ जारी गरेको छ, जसअन्तर्गत निश्चित लक्ष्य पूरा भएमा मेटाले १६ करोडसम्म शेयर न्यून मूल्यमा प्राप्त गर्न सक्नेछ । पहिलो चरणको वारेन्ट १ गिगावाट आपूर्ति पूरा भएपछि लागू हुनेछ भने बाँकी चरणहरू खरिद बढेसँगै लागू हुनेछन् ।
सम्झौतापछि मंगलबार बजार खुल्नुअघि एएमडीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । (एपी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्