नेभिगेशन
राजनीति
उम्मेद्वार चिनौंः डा. स्वर्णिम वाग्ले

विश्व अनुभवबाट नेपाल निर्माण

नेपालको गोरखाको माटोमा जन्मिएर विश्वका नीति–निर्माण केन्द्रसम्म पुग्ने दुर्लभ बौद्धिक व्यक्तित्व हुन् स्वर्णिम वाग्ले । अन्तर्राष्ट्रिय विकास, अर्थनीति र सार्वजनिक नीति निर्माणमा दुई दशकभन्दा बढी योगदान दिएका उनी अहिले सक्रिय राजनीतिमार्फत नेपाल रूपान्तरणको अभियानमा छन् । 
अन्तर्राष्ट्रिय अनुभवको बलियो जग 
वाग्लेले विश्वका प्रतिष्ठित संस्थामा काम गर्दै अन्तर्राष्ट्रिय स्तरमै आफ्नो पहिचान स्थापित गरेका छन् । उनले विश्व बैंक र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) मा वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गर्दै ३६ भन्दा बढी देशका विकास रणनीतिमा प्रत्यक्ष भूमिका खेलेका छन् । 
न्यूयोर्कस्थित युएनडीपी को एशिया–प्रशान्त ब्युरोमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा उनले विकास नीति, बजेट र मानव जीवनबीचको सम्बन्धलाई नयाँ ढङ्गले व्याख्या गरे । विकासका सूचकाङ्कलाई मानिसको दैनिकीसँग जोड्ने उनको दृष्टिकोण नै उनको विशिष्ट पहिचान बन्यो । 
नेपालका नीति निर्माणमा निर्णायक भूमिका
अन्तर्राष्ट्रिय करियरसँगै वाग्लेले नेपालको नीति निर्माणमा पनि महŒवपूर्ण भूमिका निर्वाह गरे । उनी राष्ट्रिय योजना आयोगमा सदस्य हुँदै उपाध्यक्ष बने र दीर्घकालीन विकास रणनीति निर्माणमा अग्रणी भूमिका निर्वाह गरे । 
२०७२ सालको विनाशकारी भूकम्पपछि पोस्ट डिजास्टर निड्स एसेसमेन्ट (पीडीएनए)को सह–नेतृत्व गर्दै उनले नेपालको क्षति र आवश्यकता अन्तर्राष्ट्रिय समुदायसमक्ष विश्वसनीय रूपमा प्रस्तुत गरे । 
वाग्ले इन्स्टिच्यूट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज्का अध्यक्ष, काठमाडौं विश्वविद्यालयका पूर्व सिनेटर तथा विभिन्न अन्तर्राष्ट्रिय र गैर–नाफामूलक संस्थाका सल्लाहकार पनि रहिसकेका छन् । 
राजनीतिमा प्रवेशः विचारबाट कार्यान्वयनतर्फ 
लामो समय अन्तर्राष्ट्रिय विकास क्षेत्रमा बिताएका वाग्ले अन्ततः सक्रिय राजनीतिमा प्रवेश गरे । उनी प्रारम्भमा नेपाली कांग्रेस निकट बौद्धिक समूहमा सक्रिय थिए तर २०७९ सालमा पार्टीबाट अलग हुँदै नयाँ राजनीतिक यात्रामा लागे । उनको नयाँ राजनीतिक घर बन्यो राष्ट्रिय स्वतन्त्र पार्टी । तनहुँ–१ को उपनिर्वाचनबाट संघीय सांसद निर्वाचित भएपछि उनी राष्ट्रिय राजनीतिमा थप प्रभावशाली रूपमा स्थापित भए । रास्वपाले उनको बौद्धिकता र नेतृत्व क्षमतालाई सम्मान गर्दै उनलाई उपसभापतिको जिम्मेवारी दियो । 
शक्तिभन्दा विचारलाई प्राथमिकता
शक्ति र पद भन्दा पनि विचार र क्षमतालाई प्राथमिकतामा राख्ने वाग्ले भावी अर्थमन्त्रीका रुपमा अघि सारिएका व्यक्ति हुन् । विश्वको अनुभव, नेपालको पीडा र भविष्यको सम्भावनालाई एउटै फ्रेममा राखेर सोच्ने उनको क्षमता नै उनलाई नेपाली राजनीतिमा स्थापित गर्दै लगिरहेको छ । बौद्धिकता, दक्षता र राजनीतिक प्रतिबद्धताको संगमका रूपमा उनी आज नेपालको वैकल्पिक नेतृत्वको प्रमुख अनुहारमध्ये एक मानिएका छन् । 
नेपाललाई आर्थिक रूपमा सबल, नीतिगत रूपमा स्पष्ट र संस्थागत रूपमा बलियो बनाउन डा.वाग्लेको दक्षता कति सफल हुन्छ ? त्यो समयले बताउने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्