निकट भविष्यमा हुने चुनावको परिणामको चिन्ता नगरी, चुनावलाई सफल बनाउनका निम्ति नेपाली कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गरेको छ र बाँकी दिनहरूमा पनि पूर्ण प्रतिबद्धताका साथ भूमिका निर्वाह गर्नेछ । समयमै निर्वाचन सम्पन्न गराउन सरकारलाई सम्पूर्ण रूपमा साथ दिने र चुनावलाई सफल बनाउँदै संविधानलाई सही मार्गमा अघि बढाउने हाम्रो अठोटमा एक इन्च पनि तलमाथि हुने छैन ।
फागुन २३ र २४ का घटनाहरूले देशको राजनीतिमा गहिरो छाप छोडेका छन् । ती घटनाप्रति तमाम अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, ती दिनहरूलाई विभिन्न दृष्टिकोणले हेर्ने प्रवृत्ति आज पनि विद्यमान छ । यही कारणले आगामी चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, विचार र दृष्टिकोणबीचको प्रतिस्पर्धा पनि हो । एकातिर अतीतका घटनालाई सामान्यीकरण गर्ने सोच छ, अर्कोतिर ती घटनाको पीडामा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति पनि देखिन्छ । नेपाली कांग्रेस यी दुवै अतिवादी सोचसँग सहमत छैन । हामी जिम्मेवार, सन्तुलित र दूरदर्शी राजनीति पक्षमा उभिएका छौँ ।
२०७२ सालमा संविधान निर्माण भएसँगै देशले नयाँ अध्याय सुरु गरेको थियो। त्यसपछि निर्वाचन सम्पन्न भए, तर पछिल्ला पाँच–छ वर्ष राजनीतिक अस्थिरतामा बिते । सरकार बनाउने, टिकाउने र गिराउने खेलमै राजनीति सीमित रहँदा संविधान व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन सकेन । नागरिकमा असन्तुष्टि बढ्नुको कारण पनि यही हो । विशेषतः युवापुस्ताले बेरोजगारी, असुरक्षा र अवसरको अभाव झेल्नु परेको छ ।
अब २०८२ देखि २०८७ सम्मका पाँच वर्ष नेपालका लागि निर्णायक कालखण्ड बन्न सक्छन् । हामी यो अवधिलाई परिवर्तन, सुधार र सुशासनको काल बनाउन चाहन्छौं । हाम्रो लक्ष्य स्पष्ट छ —
- प्रत्येक नागरिकले पेटभरि खान पाओस्,
- कुनै पनि बिरामी उपचारको अभावमा नमरोस्,
- प्रत्येक युवाले शिक्षा र रोजगारीको अवसर पाओस्,
- सुशासन र पारदर्शिताको आधारमा राज्य सञ्चालन होस् ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्र केवल कागजी दस्तावेज होइन, पाँच वर्षको कार्ययोजना हो । प्रत्येक महिना प्रगति विवरण सार्वजनिक गर्दै कामको मूल्यांकन गर्ने प्रतिबद्धता लिइएको छ । विगतका भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गरिनेछ – जसमा आफ्नै दलका व्यक्ति संलग्न भए पनि कारबाहीबाट कोही उन्मुक्त हुने छैन ।
देशका दुर्गम क्षेत्र, विशेषतः कर्णाली, आज पनि गरिबी, बेरोजगारी र स्वास्थ्य समस्याबाट ग्रस्त छन् । देशको कुल गरिबी दर करिब १७–१८ प्रतिशत हुँदा कर्णालीमा ४० प्रतिशतभन्दा बढी गरिबी हुनु गम्भीर असमानता हो । विकासको मोडेलमा पुनर्विचार नगरी समानुपातिक प्रगति सम्भव छैन । काठमाडौं महानगरले अर्बौं बजेट सञ्चालन गर्दा कर्णाली प्रदेशको वार्षिक आय अत्यन्त न्यून हुनु संघीय संरचनाको पुनर्सन्तुलन आवश्यक रहेको संकेत हो । जनसंख्या मात्र आधार बनाएर स्रोत बाँडफाँट गर्दा पछाडि परेका क्षेत्रको विकास सम्भव हुँदैन ।
त्यसैले अबको चुनाव आरोप–प्रत्यारोपको होइन, नीति, योजना र दृष्टिकोणको प्रतिस्पर्धा बन्नुपर्छ । सामाजिक सञ्जालका हल्ला र भ्रमभन्दा माथि उठेर तथ्य र कार्ययोजनामा केन्द्रित बहस हुन आवश्यक छ ।
नेपाली कांग्रेसको आग्रह स्पष्ट छ—पाँच वर्ष देशलाई प्रयोगशाला होइन, परिवर्तनको आधार बनाऔं । स्थिरता, सुशासन र समृद्धिको यात्रामा सबैको साथ र विश्वास अपरिहार्य छ । यही प्रतिबद्धतासहित हामी आगामी निर्वाचनतर्फ अघि बढिरहेका छौं । प्रदेशलाई बलियो बनाउन कानून पनि बदल्नुपर्छ । आज ५५ करोड रुपैयाँ उठ्ने ठाउँबाट ५५ अर्ब उठाउन सक्ने संरचना बनाउनुपर्ने छ भने त्यसका लागि संवैधानिक र कानुनी सुधार अपरिहार्य छन् । केवल प्रधानमन्त्री जादूगरझैँ आएर चटक्कै विकास गरिदिने कुरा सम्भव हुँदैन। विकासदर बढाउन संरचनागत सुधार चाहिन्छ—संविधानमा भएका अव्यवहारिक प्रावधान सच्याउनुपर्छ, कानूनहरू समयानुकूल बनाउनुपर्छ, र कार्यान्वयन प्रणाली चुस्त बनाउनुपर्छ । यही उद्देश्यका लागि आगामी पाँच वर्षलाई सुधार र प्रयोगको कालखण्ड बनाउने प्रस्ताव हामी राख्छौँ ।
संविधान निर्माणताका भोगिएका कठिनाइ र त्यसपछिको कार्यान्वयन अनुभवका आधारमा अब व्यावहारिक संशोधनको बहस आवश्यक छ । उदाहरणका लागि, अहिलेको व्यवस्थाअनुसार जेठमा बजेट ल्याइन्छ र असार–साउनदेखि खर्च सुरु हुन्छ । तर उच्च हिमाली र पहाडी जिल्लामा असार–साउनमा वर्षात्, बाढीपहिरो र प्राकृतिक कठिनाइका कारण विकास निर्माणका काम सम्भव हुँदैनन् । कर्णालीजस्ता प्रदेशमा कात्तिक–मंसिरसम्म बजेट फ्रिज हुने अवस्था देखिन्छ । आर्थिक वर्षको ढाँचा र खर्च प्रणाली परिमार्जन नगरी विकासले गति लिन सक्दैन । त्यसैले आर्थिक वर्ष, बजेट कार्यान्वयन र खर्चको समयसीमा सम्बन्धी कानुनी व्यवस्था पुनरावलोकन गर्नुपर्छ ।
शिक्षा र मानव विकासको सवाल झन् गम्भीर छ । सूचना प्रविधिको युगमा अर्बौंको उद्योग स्थापना हुँदा पनि त्यसको लाभ सीमित वर्गले मात्र लिन सक्ने अवस्था छ । किनभने विज्ञान, गणित र अंग्रेजी शिक्षामा समान पहुँच छैन । शिक्षाको आधार जन्मपछिको विद्यालय मात्र होइन—आमाको स्वास्थ्य, गर्भअवस्थाको पोषण, जन्मपछिको पहिलो पाँच वर्षको स्याहार र पोषणले ८० प्रतिशत बौद्धिक विकास निर्धारण गर्छ । बाँकी २० प्रतिशत विद्यालयले पूर्ति गर्छ । त्यसैले कर्णालीजस्ता क्षेत्रमा मातृस्वास्थ्य, बालपोषण र आधारभूत शिक्षामा विशेष लगानी नगरी समान प्रतिस्पर्धा सम्भव हुँदैन ।
कृषि र भूमि व्यवस्थापन अर्को प्राथमिकता हो । उर्वर जमिन हुँदाहुँदै पनि जंगली जनावरको समस्या, सिँचाइ अभाव र संरक्षणको कमीले उत्पादन घटेको छ । प्रदेशको ठूलो बजेट फेन्सिङ जस्ता काममा खर्चिनुपर्ने बाध्यता छ । जुम्ला, हुम्ला वा अन्य हिमाली जिल्लाका वास्तविक मुद्दा—तारिकरण, सडक सञ्जाल, स्वास्थ्य सेवा, कृषि संरक्षण—यिनै हुन् । यही विषयमा गम्भीर बहस हुनुपर्छ ।
तर दुर्भाग्यवश, चुनावी बहस प्रायः गालीगलौज, सामाजिक सञ्जालका भाइरल क्लिप र सस्तो प्रचारमा सीमित हुन्छ । खुला गाडीमा माइक चढाएर नाराबाजी गर्नेभन्दा पाँच वर्षको स्पष्ट योजना प्रस्तुत गर्नु महŒवपूर्ण हो । मोबाइलका दुई–चार क्लिप भाइरल हुँदैमा विकास हुँदैन ।
अबको चुनाव व्यक्तिवादी आरोपको होइन, नीति र कार्यक्रमको प्रतिस्पर्धा बन्नुपर्छ । पाँच वर्षलाई परिवर्तन, सुधार र उत्पादनशील लगानीको समय बनाऔँ । संविधान र कानून आवश्यक परे संशोधन गरौँ, संरचना सुधारौं, शिक्षा–स्वास्थ्य–कृषिमा प्राथमिकता दिऔँ, र प्रदेशलाई आत्मनिर्भर बनाउने दीर्घकालीन मार्गचित्र तयार गरौँ ।
नयाँ पाँच वर्ष—नयाँ सोच, नयाँ संकल्प र परिणाममुखी कार्यसंस्कृतिको सुरुवात बनोस् । कर्णालीका गाउँ–गाउँमा भाषण गर्दा दशकौँसम्म राज्यसत्ता सम्हाल्नेहरूले चमत्कारका वाचा गरे, तर जनताको जीवनमा अपेक्षित परिवर्तन आएन । गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि पनि नयाँ–नयाँ नाममा सपना देखाइयो, तर परिणाम कमजोर रह्यो । अब फेरि उही गल्ती दोहो¥याउने समय होइन ।
नेपाली कांग्रेसका सभापतिज्यूको नेतृत्वमा देशले एक महŒवपूर्ण अवसर पाएको छ । हामी अन्य राजनीतिक दलका अग्रज नेताप्रति सम्मान व्यक्त गर्छौँ, तर विगतका कमी–कमजोरी सबै मिलेर सच्याउनुपर्छ भन्ने स्पष्ट धारणा राख्छौँ । सत्य, सुधार र जिम्मेवारीको बाटो समातेर कांग्रेस बदलिए देश पनि बदलिन्छ भन्ने संकल्पका साथ अघि बढेका छौं । अबका पाँच वर्ष दुर्घटनामा गुमाउने समय होइन—परिवर्तन र उपलब्धिको वर्ष बनाउने समय हो । घर–घर पुगेर जनतालाई स्पष्ट सन्देश दिनुपर्छ कि देश बनाउने शक्ति उत्तेजना, घृणा र आक्रोशले होइन; धैर्यता, सुझबुझ, योजना र दृढताले तयार हुन्छ । देश बनाउन सपना चाहिन्छ, तर त्यो सपना पूरा गर्न सक्ने क्षमता र प्रतिबद्धता पनि चाहिन्छ ।
आजको यो भेटघाट छोटो भए पनि अत्यन्त अर्थपूर्ण छ । यहाँ उपस्थित सम्पूर्ण साथीहरू—सुर्खेतदेखि गाउँ–गाउँसम्म—आफ्ना घर फर्किएपछि मतदातासम्म कांग्रेसको स्पष्ट सन्देश पु¥याउनुहोस् । भ्रम चिर्नुहोस्, विश्वास दिलाउनुहोस्, र आगामी निर्वाचनमा दुई चुनाव चिन्हमा मतदान गराउन सक्रिय भूमिका खेल्नुहोस् ।
(सुर्खेतमा बिहीबार चुनावी सभालाई गरेको सम्बोधन)