नेभिगेशन
उपत्यका
काठमाडौं उपत्यकाका लागि कांग्रेसको भिजन १०

योजनाबद्ध विकासका लागि प्रतिबद्धता

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूले विकास प्रतिबद्धतापत्र ‘भिजन–१०’ सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका महामन्त्री तथा काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलको उपस्थितिमा उपत्यकाका तीनवटै जिल्लाका उम्मेदवारहरूको भर्चुअल सहभागितामा प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।
प्रतिबद्धतापत्रमा काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटै सहरका रूपमा लिई स्थानविशेषका मौलिक विशिष्टता संरक्षण गर्दै एकीकृत सहरी विकास योजना तर्जुमा र कार्यान्वयन गर्ने उल्लेख छ । उपत्यकालाई सफा, सुन्दर, आधुनिक, सुशासित र जीवन्त सहरका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरिएको छ ।
उपत्यकाको वहन क्षमताअनुसार सहर व्यवस्थापन गर्दै बृहत्तर संघीय राजधानी पुनर्संरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सुदृढ र सक्षम बनाइने जनाइएको छ । यातायात सुधारका लागि एकीकृत सहरी यातायात तथा स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्टसहित सडक पूर्वाधार विस्तार गरिने तथा पैदलयात्री र साइकलयात्रीमैत्री ‘वाकेबल सिटी’ अवधारणा लागू गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड, सार्वजनिक तथा पुरातात्विक स्थलको संरक्षण, नदी शुद्धीकरण र सौन्दर्यीकरणका कार्यक्रमसमेत समेटिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री, सर्वसुलभ र गुणस्तरीय बनाउने लक्ष्य राखिएको छ । विपद् व्यवस्थापनका लागि पूर्वचेतावनीसहित कमाण्ड सेन्टर सञ्चालन गर्ने योजना पनि उल्लेख छ ।
रोजगारी सिर्जना, युवालक्षित डिजिटल तथा आइटी उद्यम प्रवद्र्धन, सामाजिक सुरक्षा विस्तार, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन र खानेपानी समस्याको दिगो समाधानका लागि कम्तीमा आगामी ५० वर्षलाई लक्षित दीर्घकालीन योजना निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।
कार्यक्रममा बोल्दै पौडेलले उपत्यकाको दिगो व्यवस्थापन कांग्रेसको प्राथमिकतामा रहेको बताए । उनले भने, ‘एक्लाएक्लै भन्दा सामूहिक प्रयास प्रभावकारी हुन्छ, त्यसैले साझा प्रतिज्ञा गरिएको हो ।’ प्रतिबद्धतापत्रमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवारहरूको हस्ताक्षर रहेको पार्टीले जनाएको  छ ।
उपत्यकाका ३ जिल्लामा कांग्रेसका उम्मेदवार
काठमाडौं 

काठमाडौं–१ः प्रबल थापा
काठमाडौं–२ः कविर शर्मा
काठमाडौं–३ः रमेश अर्याल
काठमाडौं–४ः सचिन तिमिल्सना
काठमाडौं–५ः प्रदीप पौडेल
काठमाडौं–६ः कृष्णसबुज बानियाँ
काठमाडौं–७ः प्रमोदहरि गुरागाईं
काठमाडौं–८ः सपना राजभण्डारी
काठमाडौं–९ः नानु बास्तोला
काठमाडौं–१०ः हिमाल कार्की

भक्तपुर 
भक्तपुर–१ः किरण न्यौपाने
भक्तपुर–२ः कवीर राणा

ललितपुर 
ललितपुर–१ः उदयशमशेर राणा
ललितपुर–२ः प्रेमकृष्ण महर्जन
ललितपुर–३ः जितेन्द्रकुमार श्रेष्ठ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्