नेभिगेशन
मनोरञ्जन

फोहोरबाट बन्यो मोहक मूर्तिकला

एउटाको फोहोर अर्काको मोहोर हुन्छ भन्ने उखान कलाकार निकोला एलिसका लागि बिल्कुलै सटिक देखिन्छ । बेलायतस्थित म्यानचेस्टरकी ३४ वर्षीया एलिसले लंकाशायरका सबैभन्दा पुराना उत्पादन कम्पनीमध्ये एकमा ‘आर्टिस्ट–इन–रेजिडेन्स’को रूपमा काम गर्दै कारखानाको फोहोर सामग्रीबाट मूर्तिकलाहरू सिर्जना गर्छिन् ।
स्ट्रेटफोर्ड हाई स्कुलमा कला शिक्षिका समेत रहेकी एलिस भन्छिन्, ‘फेब्रिकेटर र मेसिन अपरेटरजस्ता व्यावहारिक सीप हासिल गर्न वर्षौँ लगाउने मानिसहरूप्रति मलाई धेरै सम्मान छ ।’
‘एक्सरसाइज इन नोइङ’ नामक उनको प्रदर्शनी अहिले म्यानचेस्टरस्थित कला केन्द्र (होम)मा १७ मेसम्म प्रदर्शनमा रहेको छ । हप्तामा एक–दुई दिन एलिस डार्बेनस्थित रिथरर्डन एन्ड कम्पनीको कारखाना परिसरमै बसेर आफ्ना कलाकृति तयार पार्छिन् ।
चार वर्षभन्दा बढी अघि नेशनल फेस्टिभल अफ मेकिङमार्फत उनले कारखानासँग काम सुरु गरेकी थिइन् र आफ्नै वरपर भइरहेको उत्पादन गतिविधिलाई उजागर गर्न उत्सुक थिइन् ।
उनले भनिन्, ‘मैले कतिपय मानिससँग कुराकानी गर्दा उनीहरूले ‘यो देशमा अब उत्पादन उद्योग खासै छैन भन्छन् । यो सुन्दा मलाई अचम्म लाग्छ, किनभने तपाईंले सडकबाट ३० मिनेट जति तल गाडी चलाउनुभयो भने लंकाशायर अहिले पनि प्रमुख उत्पादन केन्द्र हो, यहाँ मानिसहरू अझै सामान उत्पादन गरिरहेका छन् ।’
आफ्नो कामको हिस्साका रूपमा एलिसले दैनिक काम गरिरहेका कामदारहरूलाई चित्रित गर्दै प्लास्टरबाट मूर्तिकलाहरू बनाएकी छन् । उनले भनिन्, ‘उनीहरू साँच्चिकै रमाइला मानिस हुन् । यो प्रदर्शनीमार्फत मेरो अनुभव ग्यालरीमा ल्याएर त्यस्ता मानिसहरूलाई चिनाउने प्रयास गरेकी हुँ । उनीहरूले तपाईंलाई कारखानाको अनुभव बताउन नसक्लान्, तर मैले भने कलामार्फत उनीहरुको कारखानाको वातावरण र अनुभव दिने प्रयास गरेकी छु ।’
प्रदर्शनीमा रिथर्डनको वेल्डिङ बुथ वरिपरि नौ कोणबाट डिजिटल क्यामेराले खिचिएका भिडियोहरू पनि समावेश छन् । साथै, प्रदर्शनी स्थलभरि झुन्ड्याइएका ठूला कृतिहरू पनि प्रस्तुत गरिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्