नेभिगेशन
राजनीति
उम्मेद्वार चिनौँः पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्रोही नेतादेखि सत्ताका पेचकससम्म

नेपालको माओवादी आन्दोलनका प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिका सबैभन्दा प्रभावशाली र बहुआयामिक व्यक्तित्वमध्ये एक हुन् । जनयुद्धदेखि शान्ति प्रक्रियासम्म भूमिगत जीवनदेखि लोकतान्त्रिक शासन नेतृत्वसम्मको उनको यात्रा नेपालको समकालीन राजनीतिक इतिहाससँग घनिष्ठ रूपमा जोडिएको छ । 
राजनीतिक जीवनको सुरुआत 
विसं २०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएर उनले आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु गरे । रामबहादुर थापा ‘बादल’ लगायतका नेतासँग मिलेर विसं २०३१ मा माक्र्सवादी अध्ययन समूह गठन गर्दै वैचारिक राजनीति सुदृढ बनाए । २०३५ सालमा पूर्णकालीन कार्यकर्ता बनेका उनी क्रमशः जिल्ला समिति सदस्य, क्षेत्रीय ब्यूरो सदस्य हुँदै अखिल नेपाल युवक सङ्घको महासचिव र अध्यक्ष बने । 
माओवादी आन्दोलन र नेतृत्व 
२०४८ मा नेकपा (एकताकेन्द्र) का महामन्त्री बनेका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । त्यसपछि पार्टी पुनर्गठन गर्दै नेकपा (माओवादी) गठन र विस्तारमा निर्णायक भूमिका निर्वाह गरे । २०५७ मा पार्टी अध्यक्ष बनेका उनले जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डरको जिम्मेवारी पनि सम्हाले । २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गर्दै भूमिगत जीवनबाट सार्वजनिक भई शान्ति प्रक्रियामा प्रवेश गरे, जुन नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक मोड मानिन्छ । 
संसदीय राजनीति र प्रधानमन्त्री पद
२०६४ को संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित भएका प्रचण्ड २०६५ साउनमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिराहा–५ बाट पुनः निर्वाचित भए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा चितवन–३ र २०७९ मा गोरखा–२ बाट निर्वाचित हुँदै उनले संसदीय राजनीतिमा आफ्नो प्रभाव कायम राखे । 
यसबीचमा तीन पटक त उनी प्रधानमन्त्री नै भए । २०७३ साउनमा कांग्रेस सहितका दलको समर्थनमा प्रचण्डले दोस्रो पटक प्रधामन्त्री बन्ने अवसर पाए । यस्तै २०७९ पुसमा एमालेको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भए । गठबन्धन अदलबदल गर्दै तीन पटक प्रधानमन्त्री बनेको प्रचण्डको तीनै कार्यकाल त्यति सम्झनलायक भने रहेन । 
पार्टी नेतृत्व र संगठनात्मक भूमिका
प्रचण्डले पार्टीको विभिन्न राष्ट्रिय सम्मेलन र महाधिवेशनहरूबाट अध्यक्ष पदमा निरन्तर नेतृत्व गर्दै आएका छन् । उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरेका उनले पार्टी संगठनलाई सशक्त बनाउने र राष्ट्रिय राजनीतिमा प्रभाव कायम राख्ने कार्य गरेका छन् । हाल उनि कम्युनिस्ट धारलाई एकतावद्ध गर्ने अभियानका जुटेका छन् । 
वैचारिक योगदान र लेखन
राजनीतिक नेतामात्र होइन, प्रचण्ड एक विचारक र लेखकका रूपमा पनि परिचित छन् । उनले नेपाली क्रान्तिका समस्या, संस्कृति, कला र सौन्दर्यको चिन्तन, प्रचण्डका छानिएका रचनाहरु खण्ड १ र २, प्रचण्डका छानिएका सैन्य रचनाहरु, गणतन्त्रको पहिलो दशक, नयाँ राजनीतिक विश्लेषक, नयाँ युगको पदचाप लगायतका कृतिहरूले उनको वैचारिक दृष्टिकोण र आन्दोलनको दर्शनलाई अभिव्यक्त गर्छन् । 
सशस्त्र संघर्षदेखि लोकतान्त्रिक प्रक्रियासम्मको दीर्घ राजनीतिक यात्राले प्रचण्डलाई नेपालका सबैभन्दा प्रभावशाली, विवादास्पद र निर्णायक नेतामध्ये एक बनाएको छ । उनले युद्ध र शान्ति, वैचारिक आन्दोलन र संसदीय राजनीति, तथा गठबन्धन व्यवस्थापन— यी सबै क्षेत्रमा नेतृत्व क्षमता प्रदर्शन गरेका छन् । 
यतिबेला उनी नेकपाका संयोजक वा भावी प्रधानमन्त्रीका प्रत्यासि मात्रै होइनन्, नेपालको राजनीतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र समकालीन शक्ति सन्तुलनका पर्याय र जेलिएको राजनीतिका महŒवपूर्ण नेतासमेत हुन् । 
प्रस्तुतिः सितल

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्