नेभिगेशन
मनोरञ्जन

रोमान्सका लागि छेक्दैन उमेरले

रियालिटी टेलिभिजनकी कलाकार निकी भियालले उनकी पत्नी नताली जोयलाई पहिलो पटक भेट्दा उनी पहिलो नजरमै प्रेममा परेका थिएनन् । निकी र नतालीले सुरुमा कहिल्यै डेटिङ नगर्ने अडान लिएका थिए । निकीकी पत्नी नताली १८ वर्ष कान्छी थिइन्  । त्यसैले डेटिङ गर्न उनीहरु हिचकिचाइरहेका थिए । एक पुस्ताकै अन्तर भएकाले दुवै हिचकिचाएका थिए । निकीले सन् २०२४ मा पछि नतालीसँग विवाह गरे । अहिले उनीहरु एक फरक किसिमको प्रेम यात्रामा छन् । दुवै नयाँ दर्शकलाई लोभ्याउने प्रयासमा लागिपरेका छन् । ‘एज अफ अट्राक्सन’ नामक डेटिङ शृंखला उनीहरुले चलाइरहेका छन् र यो नेटफ्लिक्समा सार्वजनिक भइरहेको छ । यो कार्यक्रमले २२ देखि ५९ वर्षका एकल व्यक्तिहरूलाई पछ्याउँदै ‘उमेर एउटा संख्या मात्र हो’ भन्ने परीक्षण गरिरहेको छ । निकीले यो कार्यक्रमले सांस्कृतिक पूर्वाग्रहहरूलाई किनारामा राखेर अनुकूलतामा ध्यान केन्द्रित गर्ने बताएका छन् । यो एउटा रोमान्टिक विचार हो जसले एक अनुभवजन्य सत्य बोल्छः उमेरको अन्तर कतिपयले सोचेजस्तो अस्वस्थ छैन वा हुँदैन ।
‘उस्तै प्वाँख भएका चराहरू सँगै उड्छन्’ भन्ने उखान मानिसहरूमा पनि लागू हुन्छ । विवाहसम्बन्धी तथ्याङ्क अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले जोडीहरू प्रायः एकअर्कासँग मिल्दाजुल्दा हुने पाएका छन् । यो पूर्णतया अप्रत्याशित भने होइन । मानिसहरू प्रायः जाति, शिक्षा र धर्मजस्ता उस्तै गुणहरू भएकाहरूसँग जोडी बाँध्छन् । अमेरिकामा आठमध्ये एक विवाहित जोडीको उमेर ठ्याक्कै एउटै हुन्छ भने एक तिहाइको उमेर अन्तर एक वर्षभन्दा बढी हुँदैन । विद्यालय शिक्षाले पनि विद्यार्थीहरूलाई उमेरअनुसारका समूहहरूमा राखेर यो प्रवृत्तिलाई बढावा दिन्छ ।
पुरुष र महिला दुवैले आफ्नो उमेरको नजिकका साथीहरू छान्ने झुकाव राखे पनि, सबैभन्दा सामान्य जोडी भनेको पाको पुरुष र उमेरमा कान्छी महिलाबीच हुन्छ । यो ढाँचा संसारको लगभग हरेक देशमा देखिन्छ । पिउ रिसर्च सेन्टरका अनुसन्धानकर्ताहरूको हालैको अनुसन्धानले विश्वव्यापी औसत उमेर अन्तर ४.२ वर्ष देखाएको छ । उत्तर अमेरिकामा श्रीमान्हरू आफ्नी पत्नीभन्दा औसतमा २.२ वर्ष जेठा हुन्छन्; युरोपमा औसत उमेर अन्तर २.७ वर्ष छ; एसिया–प्रशान्त क्षेत्रमा यो ४ वर्ष छ । उप–सहारा अफ्रिकामा उमेरको अन्तर सबैभन्दा बढी ८.६ वर्ष छ ।
उमेरको अन्तर किन यति धेरै छ र बढी उमेर अन्तर किन सामान्य मानिन्छ ? यसलाई धेरैले विकासवादी व्याख्यासँग जोडेर हेर्ने गर्छन् । पुरुषहरू उर्वर हुने (बच्चा जन्माउन सक्ने) साथीहरू मन पराउँछन् भने महिलाहरू आफ्ना सन्तानको हेरचाह गर्न सक्ने पुरुषहरू रुचाउँछन् । महिलाहरू सानै उमेरमा सबैभन्दा बढी उर्वर हुने र पुरुषहरू उमेरसँगै स्रोत–साधनहरू जम्मा गर्ने हुँदा, सैद्धान्तिक रूपमा थोरै उमेरको अन्तरले धेरै सन्तान उत्पादन गर्न मद्दत पुग्छ । तथ्याङ्कले यो कुरा साँचो भएको देखाउँछ । सन् २००७ मा भियना विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले प्रकाशित गरेको अध्ययनले देखाएअनुसार स्विडेनी जोडीहरू श्रीमान् श्रीमतीभन्दा करिब पाँच वर्ष जेठा थिए । तिनहरुका सन्तान ५ प्रतिशतले बढी थिए । अनि, जसको जोडी बराबर उमेरका थिए, ती जोडीका सन्तान तुलनात्मक रुपमा कम थिए । अमेरिकी तथ्याङ्कले पनि यस्तै भन्छ । गरिब देशहरूमा पाका र धनी श्रीमान् हुनुको फाइदा अझ बढी हुन सक्छ ।
सामाजिक मान्यताले पनि यसमा भूमिका खेल्छ । आफूभन्दा धेरै जेठो वा धेरै कान्छो व्यक्तिप्रति आकर्षित हुनेहरूले अरूको कुरा काट्ने डरले आफ्नो उमेरको नजिकको व्यक्ति रोज्न सक्छन् । सन् १९२० मा अमेरिकी श्रीमान्हरू आफ्नी पत्नीभन्दा करिब ४.५ वर्ष जेठा थिए, जबकि आज यो अन्तर २.२ वर्ष मात्र छ । कुनै समय सामान्य मानिने ‘ट्रफी वाइभ्स’ (धनी पुरुषका धेरै कान्छी श्रीमतीहरू) अहिले अमेरिकामा यति दुर्लभ छन् कि उनीहरूलाई तथ्याङ्कमा भेट्टाउन गाह्रो छ ।
पर्दामा देखिने उमेरको अन्तर पनि पहिलेको तुलनामा अहिले कम हुँदै गएको छ । विगतमा ३८ वर्षका क्लार्क गेबलले २६ वर्षकी भिभियन लेगसँग ‘गोन विथ द विन्ड’ मा र ४३ वर्षका हम्फ्रे बोगार्टले २७ वर्षकी इनग्रिड बर्गम्यानसँग ‘कासाब्लान्का’मा रोमान्टिक अभिनय गरेका थिए । अहिले फिल्म र टिभीमा रोमान्टिक पार्टनरहरू सामान्यतया उमेरको अन्तर ६ वर्षको छ । यो सन् १९४० र ५० को दशकमा झन्डै २० वर्षको थियो । जब फिल्महरूले उमेर अन्तर धरै देखाउँछन्, तिनीहरू प्रायः परम्परालाई चुनौती दिँदै पाको महिला र कान्छो पुरुषको सम्बन्ध देखाउँछन् । यसमा ‘बेबीगर्ल’ (इन्टर्नसँगको महिला बोस), ‘द आइडिया अफ यु’ (केटा–ब्यान्ड स्टारसँगको ४० वर्षीया महिला), र ‘मार्टी सुप्रिम’ (युवा टेबल टेनिस खेलाडीसँगको पाको उमेरकी अभिनेत्री) समावेश छन् । यी फिल्महरूले सामान्य परिस्थिति झल्काउँदैनन्, तर हलिउडको उद्देश्य पनि विरलै त्यस्तो हुन्छ ।
उमेरमा ज्यादै फरकपनाले जोडीको सम्बन्ध कम कसिलो र अस्वस्थ हुन्छ? परम्परागत धारणामा धेरै वर्षको अन्तर भएका जोडीहरूको रुचि र मूल्य मान्यताहरू एउटै नहुन सक्छन् । शक्तिको असन्तुलन पनि हुन सक्छ, विशेष गरी जब पाको पार्टनरले धेरै कमाउँछ । सर्वेक्षणहरूले देखाउँछन् कि मानिसहरू प्रायः उमेरको अन्तर मन पराउँदैनन् किनभने उनीहरूलाई लाग्छ कि कान्छो पार्टनरले आफ्नो अभिभावकजस्तो व्यक्ति वा सम्पत्ति खोजिरहेको हुन सक्छ । केन्ये वेस्टले एक प्रसिद्ध गीतमा यस्तै भनेका थिए । कम्तीमा १० वर्षको उमेर अन्तर भएका जोडीहरूले बढी सामाजिक तिरस्कार भोग्नुपर्छ । नताली जोयले अनलाइनमा मानिसहरूले उनलाई ‘चाइल्ड ब्राइड’ (बाल दुलही) र अन्य ‘भयानक कुराहरू’ भनेर गाली गरेको बताएकी छिन् ।
तर पनि प्रमाणहरूले यस्ता सम्बन्धहरू तुलनात्मक रूपमा खुसी हुन्छन् र उत्तिकै लामो समयसम्म टिक्छन् भन्ने देखाएको छ । सन् २००२ मा मास्ट्रिच विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले प्रकाशित गरेको एक अध्ययनले धेरै उमेरको अन्तर भएका विवाहहरूमा दुवै दम्पतीको जीवन सन्तुष्टि उच्च हुने फेला पारेको थियो । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसन्धानकर्ताहरूले पनि इङ्गल्याण्ड र वेल्सका जोडीहरूमा उमेरको अन्तर र सम्बन्धविच्छेदबीच कुनै बलियो सम्बन्ध फेला पारेनन् । अमेरिकी प्रमाणहरूले पनि यही कुरा देखाएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्याङ्कले धेरै उमेरको अन्तर भएका जोडीहरू सानो उमेरको अन्तर भएकाहरूभन्दा पनि लामो समयसम्म जीवन बिताइरहेका छन् । भनाइको अर्थ, उनीहरुबीच सम्बन्ध विच्छेदको घटना कम छ । करिब पाँच हजार दीर्घकालीन सम्बन्धहरूको नमूना हेर्दै ‘द इकोनोमिस्ट’ले पाँच वर्षको उमेर अन्तर थप ६ हप्तासम्म सँगै बस्ने कुरासँग जोडिएको अनुमान गरेको छ ।
त्यसो त, उमेर अन्तरले केही जोखिमहरू भने ल्याउँछ नै । जब पुरुष महिलाभन्दा कम्तीमा १६ वर्ष जेठो हुन्छ (वा महिला पुरुषभन्दा कम्तीमा १० वर्ष जेठी हुन्छिन्), त्यो बेला पार्टनरद्वारा हुने हत्याका घटनाहरू तीव्र रूपमा बढ्छन् । तर त्यस्ता घटनाहरू दुर्लभ छन् । धेरैजसो सम्बन्धका लागि अन्य कारकहरू बढी महŒवपूर्ण हुन्छन् । क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर पल इस्टविक भन्छन्, ‘उमेरको अन्तर १० वर्षको होस् कि २ वर्षको, तपाईंको सम्बन्ध उमेरभन्दा पनि अन्य कुराहरूले निर्देशित हुन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्