रौतहट । कतिलाई सम्झना छ – ‘विना ढेउवा के भिसा, विना ढेउवा के टिकट, विना ढेउवा के काठमाडौं मे तालिम ।’ २०७९ को निर्वाचनताका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भाषणका यी आश्वासनयुक्त भनाइ सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
रौतहट–१ का मतदाता रिझाउन उनले वैदेशिक रोजगारीमा जानका लागि निःशुल्क टिकट र निःशुल्क भिसा उपलब्ध गराइदिने बाचा गरेका थिए । यो बाचासम्बन्धी भिडियो अधिकांश मिडियामा सार्वजनिक हुँदा उनको आलोचना पनि भएको थियो । तर, चुनाव भने उनले नै जितेका थिए । नेता नेपाल यसपटक फेरि त्यही निर्वाचन क्षेत्रमा छन् । तर, आश्वासन बाँडेको र चर्का कुरा गरेको सञ्चारमाध्यममा आएका छैनन् ।
नेता नेपाल एमालेबाट छुट्टिए, एकीकृत समाजवादी गठन गरे । त्यो पार्टी अर्कोमा विलय गराए । यसपटक उनी पूर्वप्रधानमन्त्री एवम् तत्कालीन माओवादी केन्द्रसँग एकता गर्दै नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक भएका छन् । पार्टीको नाम र चुनाव चिन्ह नयाँ छ । मान्छे उही पुराना, मतदाता तिनै ।
रौतहट–१ मा नेता नेपालका प्रतिस्पर्धी कमजोर छैनन् । एमालेबाट पूर्वमेयर अजयकुमार गुप्ता, कांग्रेसबाट पूर्वमन्त्री अनिलकुमार झा, राष्ट्रिय स्वतन्त्र पार्टी राजेशकुमार चौधरी, जसपा नेपालबाट योगेन्द्र राय यादव , आम जनता पार्टीबाट त्रिभुवन साह, राप्रपाबाट मदन शाह, जनमत पार्टीबाट देवेन्द्र मिश्र लगायत ३६ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारमा ३ महिला छन् भने २१ स्वतन्त्र छन् ।
यो क्षेत्रमा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाका सबै वडा तथा गढीमाई नगरपालिकाका ३ वटा र गरुडा नगरपालिकाका एउटासहित कुल ४१ वटा वडा पर्छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा २२ वटा वडामा हालको नेकपा, ९ वटा वडामा कांग्रेस, ३ वटा वडामा जसपा नेपाल, ३ वटा वडामा एमाले, ३ वडामा लोसपा र एउटा वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका थिए ।
माधवकुमार नेपालले यस क्षेत्रबाट एमालेबाट उम्मेदवार बनेर २०५६ मा प्रतिनिधि सभा, २०७० सालको दोस्रो संविधानसभा र एकीकृत समाजवादीको तर्फबाट २०७९ चुनाव जितेका थिए ।
नेता नेपाललाई यसपटक सजिलो छैन । थरी थरीका प्रश्नको सामना गर्नु परिररहेको छ । निर्वाचनमा अन्य दलसँग गठबन्धन नहुनुले आफ्नो मतभार बलियो बनाउन ठुलै कसरत परेको छ । तीन पटक यस क्षेत्रबाट चुनाव जिते पनि केही ठोस काम नगरेको, प्रधानमन्त्री भइसक्दा पनि रौतहट जिल्ला विकासको हरेक सूचकमा मुलुकको पुछारमा रहेको भन्दै मतदाताहरुको कडा प्रश्नको सामना उनले गरिरहेका छन् ।
पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा पनि उनका लागि मत माग्ने क्रममा टाउको दुःखाइ बनेको छ । यसपटक नेकपाबाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री नेपाल मतदातासँग आफूले यो क्षेत्रमा धेरै विकासका काम गरेको भनिरहेका छन् । संगठनात्मक हिसाबले आफ्नो पार्टी यो क्षेत्रमा बलियो रहेको र आफूले यस क्षेत्रको विकास अनि नागरिक हितका लागि काम गरेको भन्दै आफ्नो जित पक्का भएको दाबी गर्छन् । ‘मैले जतिको विकास रौतहटमा कसैले गरेको छैन । म जतिको नेता पाउनु रौतहटको लागि गौरव हो । जनताले मेरो विकास हेरेर मलाई भोट दिनुहुन्छ, जिताउनुहुन्छ,’ ७२ वर्षीय नेता नेपाल भन्छन् ।
एमालेबाट चुनावी मैदानमा छन् पार्टीका केन्द्रीय सदस्य अजयकुमार गुप्ता । २०७४ मा गौर नगरपालिकाको मेयर निर्वाचित गुप्तालाई पार्टीले २०७९ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थियो । उनी नेता नेपालसँग ६ हजार ६ सयको मतान्तरले पछाडि परेका थिए । तत्कालीन ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार नेता नेपाललाई गुप्ताले कडा चुनौती दिएका थिए । यसपटक एक्लाएक्लै लडेका र आफू हार्दाजित्दा सदैव जनतामाझ रहिरहेकाले जित्नेमा उनी ढुक्क सुनिन्छन् । गुप्ताले स्थानीय स्तरका मुद्दालाई नै प्राथमिकतामा राखेर मतदाताको घरदैलो गरिरहेका छन् । ‘मैले जितेर गएँ भने यहाँका जनताले भोगिरहनुभएका समस्याको समाधान गर्छु । माधव नेपालसँग मेरो कुनै प्रतिष्पर्धा छैन । उहाँलाई जनताले यसपटक पाठ पढाउनुहुन्छ । मलाई जिताएर उहाँलाई हराउनुहुन्छ,’ ५१ वर्षीय गुप्ताले भने । तर, जेनजी विद्रोहपछि सत्ताबाट बाहिरिएको दल र अध्यक्ष केपी शर्मा ओलीको विवादित छविका कारण गुप्ताले पनि मतदाताका कडा प्रश्नको जवाफ दिइरहनुपरेको छ ।
कांग्रेसले यसपटक पूर्वमन्त्री अनिलकुमार झालाई उम्मेदवार बनाएको छ । यो उनको प्रभाव रहेको क्षेत्र मानिन्छ । उनी २०७४ मा राजपा नेपाल पार्टीबाट उठेर प्रतिनिधि सभाको निर्वाचनमा २१ हजार ८५ मतका साथ विजयी भएका थिए । त्यो बेला उनको निकटतम प्रतिष्पर्धी रहेका कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ४८४ मत ल्याएका थिए । झा २०७९ मा भने ५ दलीय गठबन्धनको तर्फबाट लोसपाबाट उम्मेदवार हुन धनुषा–३ मा पुगेका थिए । त्यहाँ एमालेकी जुली महतोसँग पराजित भएका थिए । महतोले ३३ हजार ३८८ मत पाउँदा दोस्रो बनेका झाले २३ हजार ६८६ मत ल्याएका थिए । मधेश राजनीतिमा उनले आफ्नो छवि प्रभावशाली बनाएका छन् ।
सद्भावना पार्टी छाडेर कांग्रेस प्रवेश गरेका उनी घरदैलोमा छन् । कांग्रेसको संगठन नै उनको जितको बलियो आधार रहेको अगुवा कार्यकर्ता बताउँछन् । ५८ वर्षीय झा आफ्नो जितप्रति ढुक्क देखिन्छन् ।
जसपा नेपालबाट मधेस प्रदेश सभामा पूर्वसांसद एवम् मन्त्री भइसकेका योगेन्द्र राय यादव उम्मेदवार छन् । यादवहरुको जातीय मत यो क्षेत्रमा ठूलो संख्यामा भएकाले उनी त्यो आफ्नो पोल्टामा पर्नेमा भर परेका छन् । उपेन्द्र यादव तथा जसपा नेपाल मधेस अनि मधेसी जनताको हकहित तथा अधिकारको लागि निरन्तर लडिरहेकाले सम्पूर्ण मधेसी जनताले आफूलाई जिताउने विश्वास उनको छ । ४८ वर्षीय यादव ढुक्क भने देखिएका छैनन्, त्यसैले जनमत बटुल्न भेटघाट र भेला बढाएका छन् ।
बालेन साहको प्रधानमन्त्रीको घोषणासँगै मधेशमा रास्वपा पार्टीको लहर बढिरहेको छ । जसको फाइदा लिने दाउमा छन् यस क्षेत्रका रास्वपाको उम्मेदवार राजेशकुमार चौधरी । कुनै समय नेपाली कांग्रेसका जिल्ला सचिव रहेका ५४ वर्षीय चौधरी ०७९ को प्रदेश सभा निर्वाचनमा रौतहट–१ (२) मा हालका मधेस प्रदेशका मुख्यमन्त्री कांग्रेसका कृष्णप्रसाद यादवसँग १ हजार ८९ को झिनो मतान्तरले पराजित भएका थिए ।
यादवले १२ हजार ४ सय ८९ मत पाउँदा चौधरीले ११ हजार ४ सय मत ल्याएका थिए । चौधरीले आफ्नो व्यक्तिगत मत पनि राम्रो रहेको र बालेनको आगमन र परिवर्तन चाहने नागरिक, युवाले पुस्ताले आफ्नो एजेण्डा मन पराएर आफूलाई विजयी गराउने विश्वास लिएका छन् ।
मधेसी बहुल यो निर्वाचन क्षेत्रमा यादव, मुस्लिम, तेली, ब्राह्मण, तत्मा लगायत समुदायको प्रभाव छ । एकातिर पटक–पटक एउटै नेतृत्व दोहोरिएको भन्दै परिवर्तन चाहने मतदाताको संख्या बढ्दा नेता माधवकुमार नेपाललाई चुनौती छ । आफूलाई विकास अभियन्ता र जनतासँग भावनात्मक रूपमा जोडिएको नेता बताउँदै उनले पुनः जित्ने विश्वास व्यक्त गरेका छन् । यसरी हेर्दा, यो निर्वाचन नेपालका लागि प्रतिष्ठाको लडाइ र प्रतिस्पर्धीका लागि ‘पासा पल्टाउने’ अवसरका रूपमा देखिएको छ ।
रौतहट–१ मा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा तत्कालीन ५ दलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी भएका थिए । उनका निकतम प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ता २६ हजार ९२२ मत ल्याएका थिए ।
जिल्ला निर्वाचभन कार्यालयका अनुसार यस क्षेत्रमा ४८ हजार ४५७ महिलासहित कुल मतदाता संख्या १ लाख ८ हजार ७२६ छ । मतदान स्थल ६७ र मतदान केन्द्र १ सय ३२ छन् । २०७९ को समानुपातिकमा
कांग्रेसले १९ हजार ११९, एमालेले ११ हजार ०८९ र एकीकृत समाजवादीले ९ हजार ५७८ मत पाएका थिए ।