नेभिगेशन
अर्थतन्त्र

सानिमा बैंकको अगुवाइमा बकान खोलामा ६ अर्ब ८७ करोड ऋण लगानी

काठमाडौं । संखुवासभामा निर्माण हुने ४४ मेगावाटको बकान खोला अर्धजलाशय जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । समिट इनर्जी सोलुसन्स प्रालि प्रवद्र्धक रहेको यो आयोजनामा सानिमा बैंकको अगुवाइमा ६ अर्ब ८७ करोड रुपैयाँ लगानी जुटेको हो । 
आयोजनाको प्रवद्र्धक कम्पनी र लगानीकर्ता बैंकहरूबीच आइतबार वित्तीय व्यवस्थापन सम्झौता (फाइनान्सियल क्लोजर) भएको छ । सम्झौताअनुसार आयोजनामा अगुवाइ गरेको सानिमा बैंकले २ अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । 
यस्तै, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा एनआईसी एसिया बैंकले पनि १ अर्ब ५० करोड रुपैयाँ आयोजनामा लगानी गर्ने प्रतिबद्धताअनुसार सम्झौता भएको कम्पनीका सञ्चालक शालिग्राम बेलबासेले जानकारी दिए । उनका अनुसार नेपाल एसबिआई बैंकले पनि १ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । 
आयोजना निर्माण सम्पन्न गर्न ९ अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा वाणिज्य बैंकहरूले गर्ने ऋण लगानी कुल लगानीको ७५ प्रतिशत हो । बाँकी २५ प्रतिशत हुन आउने २ अर्ब २९ करोड रुपैयाँ स्वपुँजी लगानी प्रवद्र्धक कम्पनीले गर्ने बेलबासेले बताए । 
‘विद्युत विकासबाट उत्पादन अनुमति लिने तथा विद्युत खरिद सम्झौता (पिपिए) गर्ने कार्य पहिले नै सम्पन्न गरेर वित्तीय व्यवस्थापनको प्रक्रिया सुरु गरिएको थियो,’ उनले भने, ‘आज वित्तीय व्यवस्थापन पनि भएको छ । अब आयोजनाको संरचना निर्माणको काम सुरु गर्ने तयारीमा छौं ।’
बकान खोला अर्ध–जलाशय प्रकृतिको आयोजना हो । यो आयोजनाले सुक्खायाममा दैनिक २ घण्टा ६ मिनेट पूर्ण क्षमता (पिकिङ) विद्युत उत्पादन गर्ने बेलबासेले बताए । यो आयोजनाको संरचना निर्माणको काम अगाडि बढाउन सिभिलतर्फको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
‘आयोजनाको सिभिलतर्फको ठेकेदार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आसन्न निर्वाचनपछि छनोट प्रक्रिया टुङ्ग्याएर २०८३ साल जेठदेखि आयोजना स्थलमा परिचालन गर्ने योजना छ,’ बेलबासेले भने । आयोजना स्थलमा अहिले पहुँच सडक निर्माणको काम भइरहेको र जेठदेखि आयोजनाको संरचनाको निर्माण सुरु गरेर २०८५ साल पुसभित्र सम्पन्न गर्ने लक्ष्य रहेको पनि उनले बताए । 
आयोजना निर्माण सम्पन्न भइ उत्पादन हुने विद्युत २२० केभी शीतलपार्टी सबस्टेसनमा जोड्ने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको छ । आयोजनाको विद्युत शीतलपार्टी सबस्टेसनसम्म पु¥याउन विद्युतगृहदेखि सबस्टेसनसम्म ५५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गर्नुपर्ने कम्पनीले जनाएको छ । यो प्रसारण लाइन संखुवासभामा निर्माण हुने निजी क्षेत्रका अन्य जलविद्युत आयोजनाका प्रवद्र्धकसँग मिलेर संयुक्त रूपमा निर्माण गर्ने योजना रहेको बेलबासेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्