नेभिगेशन
राजनीति

मतदान चार सुरक्षा घेराभित्र

३ लाख ३९ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको ऐतिहासिक घडी नजिकिएको छ । आगामी बिहीबार बिहान ७ देखि बेलुकी ५ बजेसम्म देशभरका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । तर, के तपाईको मतदान केन्द्र सुरक्षित छ ? तपाईलाई भयरहित वातावरणमा मतदान गराउन राज्यले कस्तो तयारी गरेको छ ? साढे ३ लाख सुरक्षाकर्मी र २ लाख कर्मचारी खटिने निर्वाचनको सुरक्षा चक्र कस्तो छ ? 
प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब साढे ३ लाख सुरक्षाकर्मी र २ लाखभन्दा बढी कर्मचारी खटिने छन् । मतदानको व्यवस्थापनमा निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतदेखि सहयोगीसम्म गरेर २ लाख १५ हजार कर्मचारी खटाएको छ  । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका गरि करिब ३ लाख ३९ हजार सुरक्षाकर्मी खटिनेछन् । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्ले एकीकृत सुरक्षा रणनीतिअनुसार चार संगठन एकसाथ परिचालित भएकाले मतदाताले ढुक्कसाथ सहभागिता जनाउन बाधा नहुने बताउँछन् । 
सरकारले निर्वाचनलाई लक्षित गरी मतदानअघि, मतदानका दिन र मतदानपछि गरी तीन तहको सुरक्षा रणनीति बनाएको छ । केन्द्रीय सुरक्षा समिति बैठकबाट स्वीकृत सुरक्षा कार्ययोजनाअनुसार तीन तहको सुरक्षा रणनीति बनाएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी फिल्डमा छन् । मतदान व्यवस्थापन र सुरक्षा व्यवस्थापनसहित समग्र जनशक्ति फिल्डमा पुगिसकेको र तोकिएको समयभित्र सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन निर्वाचन आयोग पनि केन्द्रित बनेको छ । 
निर्वाचन आयोगले आयुक्त सगुनशमशेर जबराको नेतृत्वमा गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमार्फत सरकारका संयन्त्रसँगको समन्वयमा काम गरिरहेको छ । ‘तयारी सबै पुरा भइसकेको छ,’ जबराले भने ।  
यस्तै गृहमन्त्री आमप्रकाश अर्यालको नेतृत्वमा केन्द्रीय सुरक्षा समिति, गृह सचिवको नेतृत्वमा केन्द्रीय निर्वाचन कमान्ड सेन्टर, सातवटै प्रदेशमा प्रमुख सचिवको नेतृत्वमा प्रदेश निर्वाचन कमान्ड सेन्टर, प्रदेशकै गृहमन्त्रीको नेतृत्वमा प्रदेश सुरक्षा समिति तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिमार्फत निर्वाचन सुरक्षा र समन्वयका लागि तहगत संयन्त्र क्रियाशील छ ।

कति मतदानस्थल सुरक्षित ?
देशैभर ११ हजार १ सय १० मतदानस्थलका २३ हजार १ सय १२ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । पछिल्लो समय अद्यावधिक विवरणअनुसार स्थायी मतदानस्थल १० हजार ९ सय ६७ र अस्थायी मतदानस्थल १ सय ४३ वटा तोकिएमा ४ हजार ४ सय १४ अति संवेदनशील, ४ हजार ४ सय ४२ संवेदनशील र २ हजार २ सय ५४ मतदानस्थललाई सुरक्षा जोखिमका हिसाबले सामान्य सूचीमा समेटिएको छ । 
सुरक्षा जोखिमको सूचीमा समेटिएका मतदानस्थललाई जोखिम आकलन गरी पछिल्लो पटक अद्यावधिक गरेर सुरक्षाकर्मी परिचालन हुँदैछन् । यसरी मतदाता, मतदानस्थल, भौगोलिक अवस्था, उम्मेदवार संख्या, दलहरूबीच देखिएका प्रतिस्पर्धाको अवस्था, विगतका निर्वाचनमा देखिएका सुरक्षा स्थिति र चुनौतीलगायत परिस्थितिलाई आकलन गरेर सुरक्षा तैनाथी गरिएको छ ।

कसरी काम गर्छन ?
सेना र सशस्त्रले प्रत्येक निर्वाचन क्षेत्रलाई बेस बनाएर त्यसमार्फत चार तहमा इलाका र मतदानस्थललाई घेरेर सुरक्षा परिचालन गरेका छन् । जसमा दोस्रो सुरक्षा घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना खटिएको छ  । अनुसन्धान विभागले पनि तहगत रूपमा सोहीअनुसार आफ्नो संयन्त्रलाई खटाएको छ । ‘निर्वाचन सुरक्षामा पहिलो र भित्री घेराका रूपमा रहेको मतदानस्थल र मतदान केन्द्रको सुरक्षामा नेपाल प्रहरी खटिनेछ,’ नेपाल प्रहरी प्रवक्ता काफ्ले भन्छन्, ‘निर्वाचन सुरक्षामा खटिएको नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनमा कुनै व्यवधान खडा भए, मतदानलाई अवरुद्ध पार्न खोजिएमा र अन्य अप्रिय घटना हुन सक्ने देखेमा दोस्रो र तेस्रो सुरक्षा घेरामा रहेका सशस्त्र र सेनाको सहयोग लिने गरी फिल्डको सुरक्षा खाका बनाइएको छ ।’ 
मतदानस्थलमा अप्रिय घटना घटेमा १० मिनेटभित्र सशस्त्र र २० मिनेटभित्र नेपाली सेना पुग्ने गरी फौज परिचालन गरिएको  छ । मतदानपछि मतपेटिका गणनास्थलसम्म पु¥याउने सुरक्षा जिम्मा तीन घेराको अवधारणाअनुसार प्रहरी, सशस्त्र र सेनालाई जिम्मेवारी दिइएको छ ।
 
सेना आठवटै पृतनाबाट
नेपाली सेनाले सैनिक मुख्यालयस्थित युद्धकार्य महानिर्देशनालयमार्फत निर्वाचन सुरक्षा केन्द्रीय कमान्ड लिएर फौज परिचालन गरेको छ । जसअनुसार युद्धकार्य महानिर्देशनालयको प्रत्यक्ष कमान्ड÷कन्ट्रोल र समन्वयमा सात प्रदेशका सात पृतना र काठमाडौं उपत्यकास्थित नारायणहिटी दरबार परिसरमा रहेको उपत्यका पृतना मुख्यालयबाट सुरक्षा व्यवस्थापन गरेको छ । 
आठवटै पृतनाबाट आ–आफ्ना प्रदेशका निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्थापन जिल्लास्थित गण÷गुल्म र निर्वाचन क्षेत्रका लागि छुट्टै अस्थायी बेसमार्फत व्यवस्थापन गरिएको छ । हरेक निर्वाचन क्षेत्रका लागि सेनाले सेनानीको कमान्डमा अस्थायी सेल्टरका रूपमा कम्पनी अपरेटिङ बेस सीओबी स्थापना गरी जिल्लाको सुरक्षा चुनौती, जोखिम र आवश्यकता निर्धारण गरी जनशक्ति फिल्डमा उतारेको छ । 
एउटा निर्वाचन क्षेत्रमा आवश्यकताअनुसार १ देखि ६ वटासम्म अस्थायी बेस बनाएर मतदानस्थल सुरक्षामा फौज तैनाथ छ  । निर्वाचन क्षेत्रका लागि जति स्थापना गरिएका सीओबीमार्फत नै इलाकालाई सुरक्षा घेरा साँघुरो बनाएर त्यसको तेब्बर संख्यामा प्लाटुन अपरेटिङ बेस अर्थात  पीओबी र प्लाटुन तहको युनिटको जति संख्यामा खडा गरिएको छ । त्यसको तेब्बर संख्यामा सेक्सन अपरेटिङ बेस अर्थात एसओबी स्थापना गरी सेनाले मतदानस्थलको बाहिरी सुरक्षामा तैनाथ गरेको हो । 
कम्पनी, प्लाटुन र सेक्सन तहमा रहने संख्या त्यस क्षेत्रको सुरक्षा चुनौतीअनुसार व्यवस्थापन गरिएको छ । यी तीन तहकै संयन्त्रले सवारी गस्ती, पैदल गस्ती, स्ट्राइकिङ र रिजर्भ फौज गरी विभिन्न स्वरूपमा परिचालन गरेको छ । निर्वाचनमा सेनाका करिब ८० हजार संख्याको फौज फिल्डमा तैनाथ छ ।

सशस्त्र प्रहरी र प्रहरीको मुख्य जिम्मेवारी 
निर्वाचन सुरक्षामा सशस्त्र प्रहरीले हल्चोकस्थित मुख्यालयमा कार्यविभागका एआईजीको कमान्डमा निर्वाचन सुरक्षा परिचालन तथा व्यवस्थापन र समन्वयको प्रबन्ध गरेको छ । यही संयन्त्रमार्फत सात प्रदेशका सात र उपत्यका गरी आठवटा बाहिनीबाट आ–आफ्ना प्रदेश मातहतका निर्वाचन क्षेत्र र मतदानस्थलको सुरक्षा व्यवस्थापनमा खटिएको छ । सशस्त्रले निर्वाचन सुरक्षामा करिब ३५ हजार जनशक्ति खटाएको छ । जसमा प्रदेश मातहतका क्षेत्रमा प्रदेशको कमान्ड र समन्वय तथा जिल्लाको हकमा जिल्लास्थित गण÷गुल्ममा जिल्ला निर्वाचन सेलमार्फत जनशक्ति परिचालन गरेको छ  ।
प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार सशस्त्रले जिल्लाका स्थायी युनिटका अलावा १६५ निर्वाचन क्षेत्रमा हरेक क्षेत्रका लागि डीएसपीको कमान्डमा निर्वाचन सुरक्षा बेस स्थापना गरेर जनशक्ति फिल्डमा उतारेको छ । अस्थायी बेसमातहत निरीक्षकको कमान्डमा आवश्यकताअनुसार स्ट्राइकिङ र स्ट्राइकिङ मातहत सई वा असईको कमान्डमा आवश्यकताअनुसार मोबाइल टोली बनाएर खटाइएको छ  । 
बेस, स्ट्राइकिङ र मोबाइल टोलीले तोकिएका मतदानस्थलमा निरन्तर दोस्रो घेराको तहमा रहेर सुरक्षा प्रदान गर्नेछ  । यसबाहेक बेसमातहत रिजर्भ फौज र क्विक रेस्पोन्स टिम अर्थात क्यूआरटीलाई पनि तयारी अवस्थामा राखेर परिचालन गरिएको छ । संयन्त्रलाई सघाउन सशस्त्र प्रहरीले केन्द्रबाट एसएसपी नेतृत्वका छुट्टाछुट्टै २३ वटा संयन्त्रलाई पनि फिल्ड मा उतारेको छ । एउटा युनिटले ३ देखि ४ वटा जिल्लासम्मको समन्वय गर्ने गरी खटाइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता काफ्लेले संयन्त्रमार्फत बनाइएको योजनामा नेपाल प्रहरीले आफ्नो तर्फबाट आवश्यक सबै तयारी गरिसकेको बताए ।   निर्वाचन आयोगदेखि जिल्ला सुरक्षा समितिसम्मका सबै संयन्त्रहरू यतिबेला हाइ अलर्टमा छन् । अझ रंगहरुको पर्व होली भएकाले पनि कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता मजबुत बनाइएको छ । सुरक्षाकै कारण यसपालीको तराईको होलीमा समेत एकै ठाउँमा जमघट भई डिजे बजाएर होली खेल्न निषेध गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्