नेभिगेशन
राजनीति

प्रधानमन्त्री सुशीला कार्कीको देशबासीलाई अपिल

‘भोट हाल्नु भविष्यको निर्णय हो’

काठमाडौं ।आगामी बिहीबार फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार देशबासीका नाममा सम्बोधन गर्दै सबै मतदातालाई अनिवार्य रूपमा मतदानमा सहभागी हुन आग्रह गरेकी छन् । होली (फागु पूर्णिमा) र निर्वाचन एकै साता परेकाले यसलाई ऐतिहासिक अवसरका रूपमा लिँदै उनले शान्ति, संयम र जिम्मेवारीका साथ दुवै सम्पन्न गर्न आह्वान गरिन् ।
‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उनले भनिन् । सबै मतदातालाई फागुन २१ गते मतदान केन्द्रमा पुग्न अपिल गर्दै उनले अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न आग्रह गरिन् ।
जेनजी आन्दोलनपछिको जटिल र संवेदनशील अवस्थाको स्मरण गर्दै प्रधानमन्त्री कार्कीले देशलाई हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ डो¥याइएको दाबी गरिन् । ‘त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डो¥याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो,’ उनले भनिन् । विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएको उल्लेख गर्दै उनले यसलाई सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम बताइन् ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको भूमिकाको प्रशंसा गरिन् । ‘तपाईंहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ,’ उनले भनिन् । मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र संयमित ढंगले प्रचार–प्रसार गर्न उनले सबै दल, उम्मेदवार र समर्थकलाई आग्रह गरिन् ।
सामाजिक सञ्जालमार्फत फैलाइने तथ्यहीन र कृत्रिम सामग्रीप्रति सचेत रहन आग्रह गर्दै प्रधानमन्त्रीले सरकारले त्यस्ता गतिविधिलाई निगरानीमा राखेको जानकारी दिइन् । ‘तथ्यहीन र भ्रामक सामग्री फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई कानुनको दायरामा ल्याइरहेका छौं,’ उनले भनिन् । दण्डहीनतालाई कुनै पनि हालतमा प्रश्रय नदिने स्पष्ट सन्देश दिँदै उनले जोड दिइन्, ‘मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन ।’
होलीको शुभकामना दिँदै उनले यस पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिने उल्लेख गरिन् । ‘निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्,’ उनले कामना गरिन् । तर उत्सव मनाउँदा संयम अपनाउन आग्रह गर्दै उनले भनिन्, ‘होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ ।’
सम्बोधनका क्रममा प्रधानमन्त्रीले खाडी क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरिन् । इरान वरपर विकसित घटनाक्रमलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिइन् । सम्बन्धित नियोगहरू सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको उनको भनाइ थियो ।
उनले प्रधानमन्त्रीको जिम्मेवारीलाई मातृभूमिप्रतिको कर्तव्यका रूपमा लिएको उल्लेख गर्दै अब केही दिनमा देशको बागडोर जननिर्वाचित प्रतिनिधिको हातमा पुग्ने बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्