नेभिगेशन
राजनीति

मौन अवधि सुरु, प्रचारप्रसारमा रोक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार अवधि सोमबार  मध्यरातबाट समाप्त भएको छ । आगामी बिहीबार हुने निर्वाचनका लागि मंगलबारदेखि मौन अवधि सुरु भएको छ । मतदान हुनु ४८ घण्टा अघिदेखि मतदान नसकिएसम्म मौन अवधि लागू हुन्छ । 
यस्तो अवधिमा सभा, जुलुस, भेला, छलफल र सामाजिक सञ्जालबाट मत माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा मतदान केन्द्रको ३ सय मिटर वरिपरि रहेका प्रचार सामग्री समेत हटाउनुपर्नेछ । मौन अवधिमा आचारसंहिता उल्लंघन वा आर्थिक चलखेल गरेमा उम्मेदवारी खारेजी र ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने गरी कडा कारबाही हुनसक्ने व्यवस्था छ । 
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आर्थिक कारोबार वा आचारसंहिता विपरीतका गतिविधि भेटिएमा उम्मेदवारी खारेजी र ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने गरी कडा कारबाही गरिने चेतावनी दिँदै दल र उम्मेदवारहरुले मौन अवधिको पालना गर्ने विश्वास व्यक्त गरेका छन् । 
यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६५ स्थानका लागि  ३ हजार ४ सय ६ जना उम्मेदवार मैदानमा छन् । समानुपातिकतर्फ १ सय १० स्थानका लागि ३ हजार १ सय ३५ जना उम्मेदवार छन् । कुल १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता छन् । 
यसपटकको निर्वाचनमा  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी करिब २ लाख ९८ हजार जनशक्ति परिचालन हुनेछ । करिब २ लाख १५ हजार कर्मचारी खटिएका छन् ।
यसैबीच, निर्वाचन आयोगले मौन अवधि र मतदानको दिनसम्मको आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ । आयोगले सोमबार विज्ञप्तिमार्फत प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया निषेध गरेको जनाएको छ । कुनै पनि माध्यम वा तरिकाबाट गरिने निर्वाचन प्रचारलाई समेत सो अवधिमा निषेध गरिएको छ । सञ्चार माध्यहरूले समेत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ । ‘प्रचारप्रसार निषेध अवधिमा प्रचलित  कानुन र निर्वाचन आचारसंहिताबमोजिक गर्न नहुने भनि तोकिएका कार्यहरु नगर्न आयोग हार्दिक अनुरोध गर्दछ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्