नेभिगेशन
अर्थतन्त्र

सीधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सीधा सडक सञ्जालमार्फत जोडिएको छ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकास्थित तकसेरा गाउँ सीधा सडक सञ्जालले जोडिएको हो । 
दुबै जिल्लाबाट सडक निर्माण गर्दै आएको हुँदा निसेलढोर नजिकै रहेको मनिमर्फेस भन्ने स्थानमा जोडिएको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए । लामो समयदेखि रोकिएको काम ढोरपाटन सिकार आरक्ष कार्यालयले अनुमति दिएपछि सडक जोडिएको उनले बताए ।
सडकले दुई जिल्ला जोडेपछि अब पश्चिम बागलुङ र पूर्वी रुकुुमको यात्रा छोटिएको छ । यसभन्दा अगाडि नै बुर्तिबाङ बजारदेखि निसेलढोर जोडिएको थियो । एक दशकअघि निसेलढोर सडकले जोडिए पनि त्यसभन्दा माथि पुग्न सकेको थिएन । बुर्तिबाङ–ढोरपाटन ३१ किलोमिटर र ढोरपाटन–तकसेरा ३७ किलोमिटर रहेको वडाध्यक्ष घर्ती मगरले जानकारी दिए ।
‘अब बुर्तिबाङदेखि ६८ किलोमिटर दूरी पार गरेपछि तकसेरा पुग्न सकिन्छ, यसभन्दा अगाडिसम्म तकसेराका स्थानीय मध्यपहाडी लोकमार्ग हुँदै रुकुमको काँक्रीबाट लामो दूरीको यात्रा गर्नुपर्ने अवस्था थियो, ढोरपाटन हुँदै सडक जोडिएपछि दूरी छोटियो,’ उनले भने ।
ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले लामो समयको प्रयासपछि ढोरपाटन–तकसेरा सडक जोड्न सफल भएको बताए । उनका अनुसार सिकार आरक्षले अनुमति नदिँदा धेरै वर्षदेखि सडक निर्माण रोकिएकोमा बल्ल निर्माण पुरा भएको छ । 
निसेलढोर तिरबाट सडकको ‘ट्रयाक’ खोल्न चालु आर्थिक वर्षमा १२ लाख ५० हजार विनियोजन गरिएको थियो । सोही बजेटले सडक निर्माण सम्पन्न गरिएको हो । अब तकसेरावासीलाई बागलुङसहित पोखरा र काठमाडौँसम्म पुग्न छोटो हुने र स्थानीय उत्पादन बजारीकरण गर्न सहज हुने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्