काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को फागुन ३० मा सुरु हुने १२औं महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ । अध्यक्षका प्रत्यासीहरुले पूर्वअध्यक्षहरुको सहयोग र टिम निर्माणलाई तीव्रता दिएका छन् ।
अध्यक्षका प्रत्यासी रोबिन शेरचनले पनि टिम तयार पार्दैै लगेका छन् । शेरचनलाई नेकपा (एमाले) निकट प्रवासी नेताहरूको साथ र समर्थन रहेको बुझिएको छ । एकतालाई निष्कर्षमा पु¥याउने र सबैलाई समेटेर लैजाने भएपछि नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट प्रवासका संगठनहरूले पनि शेरचनलाई साथ दिने सहमति जनाएको दाबी गरिएको छ ।
एनआरएनएका पूर्वअध्यक्षहरू भवन भट्ट र देवमान हिराचन पनि खुलेर उनकै पक्षमा उभिएका छन् । त्यस्तै शेरचनले एकताको अभियान सुरु गरेपछि संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछानेसहित शेष घले, आरके शर्मा र महेश श्रेष्ठका विभिन्न पदका प्रत्यासी पनि जोडिने बुझिएको छ ।
प्रारम्भिक छलफलबाट उपाध्यक्षहरूमा लोक दाहाल, खगेन्द्र न्यौपाने (मलेसिया), मनोज गोर्खाली, प्रवीण गुरुङ, बुद्धि सुवेदी, चिरन्जीवी घिमिरे (क्यानडा) र सुनिल शाहको नाम आएको बताइएको छ । त्यसैगरी, युवा उपाध्यक्षमा सुपेन्द्र घिसिङको नाम तय भएको छ भने महिला उपाध्यक्षमा यास्मिन बेगम र टिका गुरुङ दुवैले इच्छा जाहेर गरेका छन् । महासचिवमा रामशरण सिम्खडा पक्कापक्की जस्तै हुँदा उपमहासचिवमा पारसमणि पोखरेल, दीपक गौतम र रोबिन बज्राचार्यको नाम आएको छ ।
त्यस्तै सचिव पदमा माधव दुलाल, शिशिर नेपाल, राजेन्द्र अर्याल, अभिमन्यु बस्नेत, शिवप्रसाद पौडेल र टंक गैरेलगायतका नाम अगाडि आएका छन् । कोषाध्यक्षमा अस्ट्रेलियाका अनिल पोखरेल, सह–कोषाध्यक्षमा दधिबल खड्का, मोहम्मद मुक्तदा र युवा संयोजकमा नविन न्युरेको नाम टुंगो लागेको शेरचनको सचिवालयले जनाएको छ ।
फागुन ३० मा हुने महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनबाट एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, एक महिला उपाध्यक्ष र एक युवा उपाध्यक्ष निर्वाचित हुनेछन् । त्यसैगरी, एक महासचिव, दुई उपमहासचिव, ६ सचिव र एक महिला सचिवको निर्वाचन हुनेछ ।
आर्थिक कार्यभार सम्हाल्न एक कोषाध्यक्ष, तीन सह–कोषाध्यक्ष र एक महिला सह–कोषाध्यक्ष चयन हुने व्यवस्था छ । साथै, एक महिला संयोजक, एक युवा संयोजक, ६ वटा क्षेत्रबाट एक–एक जना गरी ६ क्षेत्रीय संयोजक र १७ क्षेत्रीय उपसंयोजक निर्वाचित हुनेछन् ।