नेभिगेशन
स्वास्थ्य

हैजा संक्रमितको संख्या ५ सय, मूल स्रोत अझै पत्ता लागेन 

वीरगञ्ज, ११ भदौ - वीरगञ्जमा हैजा संक्रमितको संख्या ५ सय नाघेको छ । गत शुक्रबार ३ जनामा संक्रमण पुष्टि भएकोमा बुधबार साँझसम्ममा ५ सय नाघेको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा मात्रै २ सय २६ जनाको उपचार भइरहेको अपस्तालका सूचना अधिकारी डा. उदय नारायण सिंहले बताए । 

संक्रमितसँगै निको हुनेको संख्या पनि बढ्दै गएको छ । हालसम्म २ सय ५७ जनाले उपचार गरेर घर फर्किसकेको डा. सिंहको भनाइ छ । संक्रमितमध्ये अधिकांशमा झाडापखालाको सामान्य लक्षण देखापरेको र केही बिरामीहरू मात्रै गम्भीर अवस्थामा अस्पतालमा आउने गरेको उनले बताए ।

हैजा फैलिनुमा दूषित पानीको आशंका गरिए पनि महानगरले हालसम्म मूलस्रोत पत्ता लगाउन सकेको छैन । यसले पनि हैजा नियन्त्रणमा हम्मे परेको डा. सिंहले बताए ।

यसको रोकथामका लागि वीरगञ्ज महानगरपालिकाले जनचतना फैलाउने, विभिन्न वडाहरूमा निर्मल चक्की वितरण गर्ने, नालाहरूमा स्प्रे छर्ने कार्यलाई तिव्रता दिएको छ भने विद्यालय, कोचिङ सेन्टरहरू पनि बिहीबारसम्मका लागि बन्द गरिएको छ । 

यसैबीच, निजी अस्पतालहरूले पनि आवश्यकताअनुसार निःशुल्क बेड र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र युनिसेफले समेत अभियानमा प्राविधिक र सामग्री सहयोग गरिरहेको डा. सिंहको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्