नेभिगेशन
प्रदेश

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ। उनी धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए।

निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा–१ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरे। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण भेटिएपछि उम्मेदवारी खारेज गरिएको उनको भनाइ छ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका सेयरधनी रहेका किशोरी साह २०८० सालमा कालोसूचीमा परेका देखिएका छन्। विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेको विवरण पनि भेटिएको आयोगले जनाएको छ।

त्यस्तै, साहको कम्पनीले पुल निर्माण अलपत्र पारेको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका थिए। सडक डिभिजन कार्यालय जनकपुरका अनुसार २०७४ असार १९ गते १२० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणका लागि पप्पु–कमल जेभी निर्माण कम्पनीसँग १२ करोड ३५ लाख ६३ हजार २२४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०७६ पुस १९ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म एउटा स्ल्याब निर्माण बाँकी रहेको र कहिले पूरा हुन्छ भन्ने अनिश्चित रहेको जनाइएको छ।

साहको उम्मेदवारी खारेज भएपछि धनुषा–१ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट रामपल्टन साह, नेपाल कम्युनिस्ट पार्टीबाट मातृकाप्रसाद यादव, जसपा नेपालबाट दीपक कार्की, जनमत पार्टीबाट ब्रह्मदेव महतो, राप्रपा नेपालबाट मनोज मल्ल ठकुरी, आम जनता पार्टीबाट इन्द्रजित साफी, उज्यालो नेपाल पार्टीबाट महेशकुमार यादवलगायत उम्मेदवार छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्