नेभिगेशन
राजनीति

‘भोट हाल्न डराउनु पर्दैन’

काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको भन्दै सम्बन्धित निकायहरूले आममतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।
नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले एकीकृत सुरक्षा अवधारणाअनुसार देशभर सुरक्षा व्यवस्था कडा बनाइएको जनाएका छन् । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सबै सुरक्षा निकायबीच समन्वय र सहकार्य गरी सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी र तैनाथी पूरा भइसकेको जानकारी दिएका छन् ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र, १ हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी तथा १ लाख ४९ हजार ९० म्यादी प्रहरी परिचालन गरिएका छन् । सबै मतदान केन्द्रमा सुरक्षाकर्मी तथा निर्वाचन सामग्रीसहितको टोली पुगिसकेको जनाइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले मौन अवधिमा निर्वाचनविरोधी गतिविधि, सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक प्रचार नियन्त्रणका लागि विशेष निगरानी बढाइएको बताए । देशभर करिब २०० साइबर प्रहरी सक्रिय रूपमा सामाजिक सञ्जाल अनुगमनमा खटिएका छन् ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्र तथा संवेदनशील स्थानमा विशेष निगरानी, गस्ती र ‘चेकप्वाइन्ट’ सञ्चालन गरी सुरक्षा मजबुत बनाएको जनाएको छ । १६५ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा बेस स्थापना गरिएको छ ।
यसबीच, मतदान केन्द्र निर्माण, सामग्री व्यवस्थापन र सर्वदलीय बैठक लगायतका काम तीव्र रूपमा भइरहेको छ । मुख्य निर्वाचन अधिकृतहरूले सबै तयारी समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
सम्बन्धित निकायहरूले निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै आफ्ना अमूल्य मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्