नेभिगेशन
प्रदेश

कालोसूचीका साहको उम्मेदवारी खारेज

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी ‘कालोसूची’ मा परेको पुष्टि भएपछि उनको उम्मेदवारी अवैध ठहर गरेको हो ।
साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ देखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको आयोगले जनाएको छ । बैंकको ऋण नतिरेको वा चेक बाउन्स भएको लगायतका आधारमा सूचना केन्द्रले ऋणीलाई कालोसूचीमा राख्ने गर्दछ ।
साहको उम्मेदवारीविरुद्ध कालोसूचीमा रहेको उजुरी परेपछि निर्वाचन आयोगले छानबिन गरेको थियो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम उनी उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको हो । उक्त ऐनमा ‘प्रचलित कानुन बमोजिम कालोसूचीमा रहेको अवधिभर’ कोही पनि व्यक्ति उम्मेदवार हुन नपाउने स्पष्ट व्यवस्था छ ।
कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले व्यक्तिगत गोपनीयताका कारण साह कुन विशेष मुद्दामा कालोसूचीमा परेका हुन् भन्ने नखुलाए पनि सरकारी निकायलाई सोबारे पूर्ण जानकारी गराइएको बताएका छन् ।
०७४ सालको निर्वाचनमा एमालेबाट धनुषामा प्रदेशसभा सदस्य बनेका साह ०७९ को आम निर्वाचनमा जनमत पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए । यसपटक रास्वपाबाट उठेका उनको उम्मेदवारी बदर भएपछि सांसद बन्ने उनको यात्रा मतदानको प्रक्रियामा नपुग्दै टुंगिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्