नेभिगेशन
मनोरञ्जन

के उनी साँच्चै गरिब भएर मरेका थिए ?

काठमाडौँ। हलिउडले त उनको परिवारका लागि उदार हात बढायो तर इन्टरनेटका कतिपय प्रयोगकर्ताले भने फरक प्रश्न उठाए । यति चर्चित अभिनेता भएर पनि किन ‘क्राउडफन्डिङ’ गर्नुप¥यो ?
४८ वर्षीय हलिउड अभिनेता जेम्स भान डेर बीक गत माघ २८ मा दिवंगत भए । उनले कोलोन क्यान्सरसँग तीन वर्ष संघर्ष गरे । अन्ततः उनको पराजय भएको थियो । भानको अवसानपछि श्रीमती र ६ सन्तानका लागि खोलिएको ‘गोफन्डमी’ अभियानले २६ लाख डलरभन्दा बढी रकम संकलन गरिसकेको छ । हलिउडका प्रभावशाली व्यक्तिहरूले खुलेर साथ दिएका छन् । निर्देशक स्टेभेन स्पिलबर्गले २५ हजार डलरको चेक काटे, अभिनेत्री जोए साल्डानाले मासिक २,५०० डलर सहयोग गर्ने घोषणा गरिन् । निर्देशक जोन एम चुले १० हजार डलर, दिवंगत निर्माता नर्मन लीअरकी पत्नी लिनले ५ हजार डलर सहयोग गरिन् । यसबाहेक टीभी लेखक जुली प्लेक, प्रस्तोता रिक्की लेक, मोडल लिडिया हेस्र्टलगायत धेरैले हजारौं डलर सहयोग गरे ।
तर सामाजिक सञ्जालमा सबैजना त्यति उदार देखिएनन् । ‘यो कुरा अलि अनौठो लाग्छ,’ एक प्रयोगकर्ताले लेखे, ‘दुनियाँभर यस्तै अवस्थाका हजारौं मानिस छन् । उनीहरूलाई २५ लाख डलर उठ्दैन । उनले जीवन बीमा वा रेसिडुअल चेक पक्कै पाएका होलान् ।’
प्रश्न उठ्नु स्वाभाविक हो तर तथ्य के हो भने, नाम चलेका भए पनि भान  ‘सुपर–हाइ नेट वर्थ’ सेलिब्रिटी थिएनन् । उनी निजी जेट चढ्ने, महँगा कलाकृति संकलन गर्ने वा धेरै आलिशान घर किन्ने जीवनशैलीमा थिएनन् । सन् २०२० मा परिवारसहित टेक्सस सरेपछि उनले सदरमुकाम अस्टिन बाहिरको ३६ एकडको रान्च भाडामा लिएका थिए । जीवनको अन्तिम समय त्यहीँ बित्यो ।
उनले अभिनयबाट कमाएको आम्दानी जति भए पनि क्यान्सर उपचारको महँगो यात्रामा खर्च भयो । विशेषगरी उनले रोजेका वैकल्पिक उपचार विधिहरू निकै खर्चिलो थिए । अन्तिम समयतिर उनले ‘डसन्स क्रीक’ सम्बन्धी स्मृति सामग्री समेत अनलाइन लिलामीमा राखे । पात्र डसनको शयनकक्षमा देखिने ‘इटी’ खेलौना ६ हजार डलरमा बिकेको थियो ।


उनी चर्चित बनेको सिरिज ‘डाउन्सन क्रीक’ले उनलाई स्टार बनायो । सन् १९९८ मा सुरु भएको उक्त सिरिजका कलाकारहरू अधिकांश नयाँ अनुहारका थिए । शुरूमा उनले न्यून पारिश्रमिकमै काम गरे । स्रोतहरूका अनुसार पहिलो सिजनमा उनी औसत तलबमा थिए । पछि प्रति एपिसोड ३५ हजार डलरसम्म पुगे । अन्तिम सिजनतिर २ लाख डलरसम्म पाएको अनुमान छ ।
तर त्यतिबेलाका ‘रेसिडुअल’ सम्झौताहरू नयाँ कलाकारका लागि खासै लाभदायक थिएनन् । सन् २००३ मा सिरिज सकिँदा दीर्घकालीन आम्दानी धेरै थिएन । उनले सन् २०१४ को एक अन्तर्वार्तामा भनेका थिए, ‘म २० वर्षको थिएँ । सम्झौता राम्रो थिएन ।’
त्यसपछि पनि उनले काम पाउँदै आएका थिए । ‘डोन्ट ट्रस्ट द बी,’ ‘इन अपार्ट २३,’ ‘सीएसआइ ः साइबर,’ ‘पोज’ जस्ता सिरिजमा देखिए । ‘भर्सिटी ब्लुज’ र ‘रुल्स अफ अट्रयाक्सन’ जस्ता फिल्मले पनि उनको पहिचान कायम राखे । सन् २०१९ मा ‘डान्सिङ वीथ द स्टार्स’मा सहभागिताबाट करिब २ लाख ५० हजार डलर कमाएको अनुमान छ ।
डिज्नी जुनियरको एनिमेटेड सिरिज ‘भ्याम्पिरिना’मा ७३ एपिसोडमा ‘बोरिस द भ्याम्पायर’ पात्रलाई आवाज दिँदा उनले झन्डै ५ लाख डलरसम्म पारिश्रमिक पाएको अनुमान छ । गत वर्ष उनले ‘ओभरकम्पेन्सेटिङ’ र ‘साइडलाइनड २ः इन्टरसेप्टेड’ मा काम गरेका थिए । साथै, अमेजनको आउँदो ‘लीगली ब्लोन्ड’ सिक्वेल ‘एले’मा पनि सानो भूमिकामा काम गरे ।
तर ६ सन्तान हुर्काउनु आफैंमा ठूलो आर्थिक जिम्मेवारी हो । अस्टिन वरपर त्यस्तो ३६ एकडको सम्पत्ति भाडा लिँदा मासिक १० हजारदेखि ३० हजार डलरसम्म खर्च हुन सक्छ । उनको मृत्युअघि ४८ लाख डलरमा उक्त रान्च किनेको खबर बाहिरिए पनि पछि प्रतिनिधिहरूले स्पष्ट पारे—साथीहरूको सहयोगबाट ट्रस्टमार्फत ‘डाउन पेमेन्ट’ जुटाइएको थियो ।
उपचार खर्च पनि सानो थिएन । गिल्डको बीमा योजनाले आधारभूत उपचारको ठूलो हिस्सा कभर गरे पनि वैकल्पिक उपचारहरू बीमाले समेट्दैन । विदेशस्थित केही होलिस्टिक क्लिनिकहरूले एक बसाइका लागि १५ हजारदेखि ६५ हजार डलरसम्म लिने गर्छन् । ‘पली–एमभीए’ जस्ता पूरक औषधिहरू वार्षिक २० हजार डलरसम्म पर्न सक्छन् । यी सबै खर्च व्यक्तिगत रूपमा खर्च गर्नुपर्छ ।
उनकी पत्नी किम्बर्ली लामो समयदेखि वैकल्पिक चिकित्सा पद्धतिप्रति झुकाव राख्दै आएकी थिइन् । उनको सामाजिक सञ्जाल स्वास्थ्यसम्बन्धी सामग्रीले भरिएको हुन्थ्यो । यद्यपि भानले सन् २०१४ मा एस्ट्राजेनेकासँग फ्लु सट अभियानमा सहकार्य गरेका थिए । सन् २०२१ मा रेडक्रससँग रक्तदान अभियानमा पनि जोडिएका थिए ।
विचारधाराका बहसहरू भए पनि, एक कुरा स्पष्ट छ – उनले बाँच्न हरसम्भव प्रयास गरे । ‘यो मेरो जीवनको सबैभन्दा राम्रो कुरा हुनेछ,’ उनले ‘टुडे’ कार्यक्रममा भनेका थिए, ‘यसले मलाई जीवनमा आवश्यक परिवर्तन गर्न बाध्य पार्नेछ ।’ तर अन्ततः रोगले जित्यो ।
उनको बैंक खातामा कति रकम बाँकी थियो, त्यो परिवारबाहेक कसैलाई थाहा नहुन सक्छ तर अन्तिम हिसाब त्यही होइन । गोफन्डमीको अंक पनि होइन । साँचो मूल्यांकन त त्यो हो – कति मानिसले उनलाई सम्झिए, कति साथी र सहकर्मीले उनको परिवारलाई साथ दिए ।
कहिलेकाहीँ प्रसिद्धि ठूलो देखिन्छ, तर त्यसको पछाडिको आर्थिक यथार्थ त्यति चम्किलो हुँदैन । र, अन्तिम क्षणमा मानिसले छोडेर जाने सम्पत्ति भनेको पैसा मात्र होइन, सम्बन्ध, स्मृति र माया पनि हो । (एजेन्सीहरु)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
देउडा गाउँदै हुर्किएकी कृष्णा

देउडा गाउँदै हुर्किएकी कृष्णा

छानिए उत्कृष्ट आठ

छानिए उत्कृष्ट आठ