नेभिगेशन
अर्थतन्त्र

विश्वका ठूला ६ जलविद्युत् परियोजना, चीनको लगानी आक्रामक

काठमाडौं  । विश्वभर ऊर्जा सुरक्षाको आधारका रूपमा जलविद्युत् परियोजनाहरूको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ । विशाल नदी प्रणाली, उन्नत प्रविधि र ठूलो लगानीको संयोजनबाट निर्माण गरिएका केही परियोजनाले उत्पादन क्षमताका आधारमा विश्वमै कीर्तिमान कायम गरेका छन् । चीनको थ्री गर्जेज बाँध (२२,५०० मेगावाट) विश्वकै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र हो, जसले विद्युत् उत्पादनसँगै बाढी नियन्त्रण र जल यातायात सुधारमा योगदान दिएको छ ।

त्यसैगरी बाइहेतान बाँध (१६,००० मेगावाट) र सिलुओदु बाँध (१३,८६० मेगावाट) चीनकै ऊर्जा रणनीतिका महत्वपूर्ण स्तम्भ हुन् । दक्षिण अमेरिकामा ब्राजिल–पाराग्वेको सहकार्यमा निर्मित इटाइपु बाँध (१४,००० मेगावाट) सफल द्विपक्षीय ऊर्जा साझेदारीको उदाहरण हो । ब्राजिलको बेलो मोन्टे बाँध र भेनेजुएलाको गुरी बाँध पनि शीर्ष परियोजनामध्ये पर्छन् । यी परियोजनाले औद्योगिक विकास, सहरीकरण, कार्बन न्यूनीकरण र दीर्घकालीन ऊर्जा सुरक्षामा उल्लेखनीय योगदान पु¥याएका छन् ।

थ्रीगर्जेज जलाशय जलविद्युत् केन्द्र (२२,५०० मेगावाट)

चीनले निर्माण गरेको २२ हजार ५०० मेगावाटको थ्री गर्जेज विश्वकै ठूलो जलाशय जलविद्युत् परियोजना हो । चीनको हुबेई प्रान्तको यिचाङनजिक याङ्त्से नदीमा निर्माण भएको यो जलविद्युत् परियोजनाले सन् २०१२ देखि विद्युत् उत्पादन सुरु गरेको हो । यो परियोजना निर्माणको अवधारणा २०औं शताब्दीको सुरुवातबाटै आएको भएपनि सन् १९९४ बाट मात्रै निर्माण प्रक्रिया सुरु गरिएको थियो ।

चीनले जलविद्युत् उत्पादन, बाढी नियन्त्रण तथा जल यातायात सुधार गर्ने उद्देश्यले यो परियोजना निर्माण गरेको थियो । करिब १८५ मिटर अग्लो र २ हजार ३३५ मिटर लामो जलाशय परियोजनाको विद्युत्गृहमा ७०० मेगावाट क्षमताका ३२ वटा मुख्य टर्बाइनहरू जडान भएका छन् ।

दुईवटा ५० मेगावाट क्षमताका टर्बाइनहरू पनि जडान भएका छन् । यी टर्बाइनहरूबाट उत्पादन हुने विद्युत्ले चीनको औद्योगिक विकास र सहरी क्षेत्रको विद्युत् मागको परिपूर्ति गरेको छ । परियोजनाले उत्पादित गरेको विद्युत् ५०० केभी उच्च क्षमताको प्रसारण लाइनमार्फत चीनका विभिन्न प्रान्त र सहरहरूमा वितरण गरिएको छ । साथै, यो परियोजना निर्माणपछि याङ्त्से नदीमा हरेक वर्ष आउने विनाशकारी बाढी नियन्त्रण भएको छ ।

परियोजनाको बाँध निर्माणका कारण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करोडौँ मानिस बाढीको जोखिमबाट सुरक्षित भएका छन् । जलाशय निर्माणपछि नदीमार्गबाट ठूला जहाज सञ्चालन गर्न सकिने भएकाले आन्तरिक जल यातायात र व्यापारमा उल्लेखनीय वृद्धि भएको छ । यो परियोजनाको निर्माण गर्ने क्रममा १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । यो जलाशय जलविद्युत् परियोजना आधुनिक इन्जिनियरिङको उत्कृष्ट उदाहरण हो । यो परियोजनाको लागत १८० अर्ब युआन (करिब २२.५ अर्ब अमेरिकी डलर) थियो ।

बाइहेतान जलाशय जलविद्युत् परियोजना (१६,००० मेगावाट)

चीनको दक्षिण–पश्चिमी पहाडी क्षेत्रमा बग्ने जिन्सा नदी (याङ्त्से नदीको माथिल्लो भाग) मा अवस्थित बाइहेतान जलविद्युत् परियोजना विश्वको दोस्रो ठूलो जलविद्युत् केन्द्रका रूपमा परिचित छ । कुल १६ हजार मेगावाट जडित क्षमता रहेको यो परियोजना आधुनिक इन्जिनियरिङ, उच्च क्षमताका टर्बाइन र दिगो विद्युत्ीय ऊर्जा रणनीतिको उत्कृष्ट नमूना मानिन्छ ।

यो यस परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन र प्रारम्भिक तयारी सन् २००० को दशकको सुरुआतमा नै सुरु गरिएको थियो । औपचारिक निर्माण कार्य भने सन् २०१० को दशकको मध्यतिर तीव्र गतिमा अघि बढेको थियो । बाँधको मुख्य संरचना निर्माण, जलाशय भर्नु, टर्बाइन जडान र प्रसारण पूर्वाधार विकासको काम सम्पन्न भएपछि  सन् २०२२ बाट यो परियोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको हो ।

प्रारम्भिक अध्ययनदेखि परियोजना निर्माण सम्पन्न गरेर पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न एक दशकभन्दा बढी समय लागेको थियो । चीनले विशाल पहाडी भूगोल, गहिरो नदी खोंच, भूकम्पीय संवेदनशीलता र अत्यन्त ठूलो कंक्रिट संरचना निर्माण जस्ता चुनौतीका बीच यो परियोजना सम्पन्न गरी सञ्चालन गरेको हो । बाइहेतान जलाशय निर्माणमा करिब ३१ अर्ब अमेरिकी डलर बराबर लगानी भएको अनुमान छ । यो परियोजनाको विद्युत्गृहमा एक हजार मेगावाट क्षमताका १६ वटा टर्बाइन जडान गरिएको छ । विद्युत्गृहको संरचना भूमिगत छ ।

चीनको औद्योगिक विस्तार, तीव्र सहरीकरण र बढ्दो ऊर्जा मागलाई मध्यनजर गर्दै यस परियोजनालाई रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यो परियोजनाले उत्पादन गरेको विद्युत् उच्च क्षमताको प्रसारण लाइनमाफर्त चीनका पूर्वी र दक्षिणी औद्योगिक सहरहरूमा वितरण गरिएको छ । यो परियोजना सञ्चालन हुँदा वार्षिकरूपमा ५० मिलियन टनभन्दा बढी कार्बन डाइअक्साइडको उत्सर्जन न्यूनीकरणम योगदान पुगेको छ ।

इटाइपु जलाशय जलविद्युत् परियोजना (१४,००० मेगावाट)

दक्षिण अमेरिकाको पाराना नदीमा निर्माण गरिएको इटाइपु विश्वको तेस्रो ठूलो जलाशय जलविद्युत् परियोजना हो । ब्राजिल र पाराग्वेबीच १९७३ मा हस्ताक्षर भएको ‘इटाइपु सन्धी’अनुसार यो जलाशय जलविद्युत् परियोजना निर्माण गरिएको हो । यो परियोजना दुवै देशको साझा स्वामित्वमा सञ्चालन हुँदै आएको छ । यो परियोजनालाई विश्वकै सबैभन्दा सफल द्विपक्षीय ऊर्जा सहकार्यको नमूना मानिन्छ ।

इटाइपु जलाशय परियोजना निर्माणको अवधारणा १९६० को दशकमा अघि सारिएको थियो, जब दुवै देशले पाराना नदीको विशाल जलशक्ति उपयोग गर्ने योजना बनाए । औपचारिक निर्माण कार्य सन् १९७१ मा सुरु भयो । परियोजनाको निर्माण कार्य अत्यन्त विशाल र जटिल थियो । नदीको बहाव मोड्ने, विशाल कंक्रिट संरचना निर्माण गर्ने, टर्बाइन जडान गर्ने र जलाशय विस्तार गर्ने कार्यहरू चरणबद्ध रूपमा सम्पन्न गरियो । १९८४ मा पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गरिएको थियो । तर, ७०० मेगावाटका सबै २० वटै उत्पादन युनिटबाट विद्युत् उत्पादन सन् १९९१ बाट सुरु गरिएको हो ।

दुई दशक लामो निर्माण अवधिमा रहेको यो परियोजना सम्पन्न गर्न करिब २० अर्ब अमेरिकी डलर लगानी खर्च भएको थियो । यो लागत त्यो समयका लागि सबैभन्दा महँगो पूर्वाधार परियोजनामध्ये एक थियो । परियोजनाको जलाशय क्षेत्र करिब १ हजार ३५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यो इटाइपु विश्वमा सबैभन्दा धेरै वार्षिक विद्युत् उत्पादन गर्ने जलविद्युत् परियोजना मध्येको एक हो ।

यसको औसत वार्षिक उत्पादन ७५ देखि ९० टेरावाट घण्टा हाराहारीमा छ । यो परियोजनाले पाराग्वेको ९० प्रतिशतभन्दा बढी र ब्राजिलको करिब १५ प्रतिशत विद्युत् माग परिपूर्ति गर्दै आएको छ । पाराग्वेले आफ्नो हिस्सा प्रयोग गर्न नसक्ने अवस्थामा बाँकी विद्युत् पनि ब्राजिललाई बिक्री गर्ने गरेको छ ।

सिलुओदु जलविद्युत् परियोजना (१३,८६० मेगावाट)

चीनको दक्षिण–पश्चिमी पहाडी क्षेत्रमा बग्ने जिन्सा नदीमा निर्माण भएको सिलुओदु जलविद्युत् परियोजना विश्वकै चौथो ठूलो र अत्याधुनिक जलविद्युत् परियोजना हो । यो यो परियोजनाको कूल जडित क्षमता १३ हजार ८६० मेगावाट छ । सिलुओदु जलाशय परियोजनाको निर्माण २००५ मा सुरु भई सन् २०१४ मा सम्पन्न भई पूर्णरूपमा सञ्चालनमा आएको थियो । उच्च पहाडी भौगोलिक अवस्था, नदीको तीव्र बहाव र ठूलो कंक्रिट संरचना निर्माण गर्नुपर्ने कठिनाइहरूका बीच चीनले यो परियोजना सफलरूपमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

जलाशयको कंक्रिट आर्च ग्राभिटी डिजाइनले नदीको प्राकृतिक बनावटलाई प्रयोग गर्दै संरचनात्मक स्थिरता सुनिश्चित गरेको छ । निर्माण अवधिमा जलाशय विस्तार, भूमिगत विद्युत्गृह निर्माण र प्रत्येक टर्बाइनको जडान चरणबद्ध रूपमा सम्पन्न गरिएको थियो । परियोजनाको निर्माण पूर्णरूपमा सम्पन्न हुन ९ वर्ष लागेको थियो । परियोजनाको कुल लागत करिब २० अर्ब अमेरिकी डलर थियो । यो परियोजनाले चीनको पूर्वी औद्योगिक क्षेत्रमा निरन्तर र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न यो परियोजना रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ ।

सिलुओदु जलाशय परियोजनाले वार्षिक करिब ५५ देखि ६० टेरावाट–घण्टा विद्युत् उत्पादन गर्छ । परियोजनामा आधुनिक प्रविधि प्रयोग गरिएको छ । भूमिगत विद्युत्गृहको स्वचालित नियन्त्रण प्रणाली र डिजिटल मोनिटरिङ प्रणालीले बाँधको सुरक्षा र कार्यक्षमता निरन्तर निगरानी गर्छ । परियोजनाको भूकम्प प्रतिरोधी डिजाइनले यसलाई भूकम्पीय संवेदनशील क्षेत्रमा पनि सुरक्षित बनाएको छ । सिलुओदु जलाशय विश्वको ठूलो जलाशय जलविद्युत् परियोजना ठूलो परिमाणमा विद्युत् उत्पादन गर्ने मात्र नभई चीनको ऊर्जा रणनीति, औद्योगिक विकास र कार्बन न्यूनीकरणमा योगदान महत्त्वपूर्ण छ ।

बेलो मोन्टे (११,२३३ मेगावाट)

ब्राजिलले अमेजन वर्षावन क्षेत्रमा बग्ने सिंगु नदीमा निर्माण गरेको बेलो मोन्टे जलविद्युत् परियोजना विश्वको पाँचौं ठूलो हो । यो परियोजनाको जडित क्षमता ११ हजार २३३ मेगावाट छ । ब्राजिलले यो परियोजनाको निर्माण सन् २०११ मा सुरु गरेको थियो । निर्माण सुरु गरेको ८ वर्षपछि २०१९ देखि यो जलविद्युत् परियोजनाले पूर्ण रूपमा विद्युत् उत्पादन सुरु गरेको हो । परियोजनाको निर्माण सम्पन्न गर्न १८.५ अर्ब अमेरिकी डलर खर्च भएको थियो ।

यो परियोजना निर्माण अवधिमा विशाल कंक्रिट संरचना निर्माण, टर्बाइन जडान, जलाशय विस्तार र उच्च क्षमताको प्रसारण लाइन निर्माण गरिएको थियो । यो परियोजनाले वार्षिकरूपमा ३९ देखि ४० टेरावाट घण्टासम्म विद्युत् उत्पादन गर्दै आएको छ । यो नदीको बहाबमा आधारित परियोजना भएकाले यसको उत्पादन वर्षा र नदीको बहावमा निर्भर हुने गर्छ । परियोजनाले उत्पादन गर्ने विद्युत् ब्राजिलका औद्योगिक सहरहरू र ग्रामीण क्षेत्रहरूमा उपयोग गरिएको छ ।

गुरी जलाशय जलविद्युत् परियोजना (१०,२०० मेगावाट)

दक्षिण अमेरिकी देश भेनेजुएलाको दक्षिण–पूर्वी क्षेत्रको कारोनी नदीमा अवस्थित गुरी बाँध (स्यान्टा मारिया देल गुरि) विश्वकै छैटौं ठूलो जलविद्युत् परियोजना हो । यो भेनेजुयलाको भने सबैभन्दा ठूलो जलविद्युत् परियोजना हो । यो परियोजनाको जडित क्षमता १० हजार २०० मेगावाट छ । यो परियोजना एक्लैले भेनेजुएलाको कुल विद्युत् मागको ६० प्रतिशत बढी आपूर्ति व्यवस्थापन गर्दै आएको छ ।

गुरी जलाशय परियोजनाको निर्माण सन् १९६० को दशकमा नै सुरु गरिएको थियो । प्रारम्भिक जलाशयको मुख्य संरचना, जलाशय विस्तार र टर्बाइन जडान गरी सन् १९७० को दशकमा पहिलो युनिटबाट उत्पादन सुरु गरिएको थियो । विस्तारै यो परियोजनाको संरचना थप गर्दै लगेर सन् १९८६ मा जडित क्षमता बढाएर १० हजार २०० मेगावाट पु¥याइएको हो । गुरी जलाशय परियोजना निर्माणमा करिब १२ अर्ब अमेरिकी डलर खर्च भएको अनुमान छ ।

यो परियोजनाले भेनेजुएलाको औद्योगिक र सहरी क्षेत्रहरूमा स्थिर विद्युत् आपूर्ति सुनिश्चित गरेको छ । साथै, परियोजनाले दीर्घकालीन ऊर्जा सुरक्षा र देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । यो परियोजनाले वार्षिक ४५ देखि ५० टेरावाट–घण्टा विद्युत् उत्पादन गर्छ । यसको उत्पादन स्थिर र भरपर्दो छ, किनकि कारोन नदीको पानीको बहाव अपेक्षाकृत स्थिर छ । यसले लाखौँ घरधुरी, औद्योगिक इकाई र सार्वजनिक सेवा क्षेत्रमा ऊर्जा आपूर्ति गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्