काठमाडौँ । नेटफ्लिक्सका सह–प्रमुख कार्यकारी अधिकारी ग्रेग पिटर्सले हलिउडमा ठूलो मात्रामा रोजगारी कटौती हुन सक्ने भन्दै आफू “चिन्तित” रहेको बताएका छन्। यो चिन्ता त्यतिबेला व्यक्त गरिएको हो, जब प्यारामाउन्ट कम्पनीले आफ्नो पुरानो प्रतिद्वन्द्वी वार्नर ब्रदर्स डिस्कभरी (वार्नर)लाई अधिग्रहण गर्ने प्रक्रियामा अघि बढिरहेको छ।
वार्नर खरिदको प्रतिस्पर्धाबाट नेटफ्लिक्स बाहिरिएपछि पिटर्सले भने, प्यारामाउन्टले गरेको यो सम्झौताका कारण ‘धेरै मानिसहरूले आफ्नो जागिर गुमाउनु पर्नेछ।’ प्यारामाउन्टका अनुसार वार्नर ब्रदर्ससँग आफ्नो स्टुडियो, स्ट्रिमिङ र समाचार सेवाहरूलाई एकीकृत गर्दा करिब ६ अर्ब डलर बराबरको लागत कटौती गरिनेछ।
तर नेटफ्लिक्सको अनुमान अनुसार यो सम्झौता सफल बनाउन प्यारामाउन्टले १६ अर्ब डलरसम्म खर्च कटौती गर्नुपर्ने हुन सक्छ। वार्नर खरिदका लागि करिब १११ अर्ब डलरको मूल्य निर्धारण गरिएको छ। यो सम्झौता डेभिड एलिसनको कम्पनी स्काइडान्सले प्यारामाउन्टसँग विलय पूरा गरेको सात महिनापछि आएको हो।
पिटर्सले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा भने, ‘उनीहरूले यस्ता सम्झौताहरू त्यस्तो मूल्यमा जितिरहेका छन् जुन मलाई आर्थिक रूपमा अर्थपूर्ण लाग्दैन। यदि नेटफ्लिक्सले यसलाई आर्थिक रूपमा सम्भव बनाउन सक्दैन भने, उनीहरूले कसरी सक्छन् भन्ने मलाई थाहा छैन। त्यसैले म उद्योगका लागि अलिकति चिन्तित छु।’
पिटर्सका अनुसार यो सम्झौतामा प्यारामाउन्टले प्रयोग गरिरहेको करिब ५४ अर्ब डलरको ऋणले कम्पनीलाई ‘अस्थिर अवस्थामै’ पु¥याउन सक्छ। उनले भने, ‘यदि म त्यो अवस्थामा भएको भए ऋणको भारका कारण निकै चिन्तित हुने थिएँ र ‘चिन्तित’ भन्नु पनि सायद कम शब्द हो।’
गत हप्ता नेटफ्लिक्सले प्यारामाउन्टले प्रस्ताव गरेको बढाइएको प्रस्तावसँग मेल खाने निर्णय गरेन। पिटर्सका अनुसार वार्नर राम्रो मूल्यमा भए ‘राम्रो हुन सक्थ्यो’, तर ‘कुनै पनि मूल्यमा किन्नैपर्ने वस्तु भने थिएन।’
उनले भने, ‘हामी कहाँ जाँदैछौँ भन्ने हामीलाई थाहा थियो। जब हामीले जित्नका लागि आवश्यक बोली त्यो सीमाभन्दा धेरै भएको देख्यौँ, त्यसपछि थप ठूलो छलफलको आवश्यकता परेन।’

नेटफ्लिक्सले नियामकीय स्वीकृति पाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि प्रश्नहरूको सामना गरेको थियो । विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त कम्पनीको ठूलो स्ट्रिमिङ बजार हिस्साका कारण समस्या हुन सक्ने बताएका थिए ।
त्यसैबीच ट्रम्पले प्यारामाउन्टको सम्झौताप्रति सहानुभूति देखाएको धारणा पनि थियो, किनकि उनका निकट सम्बन्ध ओरेकलका अर्बपति ल्यारी एलिसनसँग छन्, जसले आफ्ना छोरा डेभिड एलिसनको प्रस्तावलाई समर्थन गरेका थिए। तर नेटफ्लिक्सले आफूले पनि नियामकीय स्वीकृति पाउन सक्ने दाबी गरेको थियो ।
पिटर्सले भने, ‘प्यारामाउन्टले यस्तो धारणा सार्वजनिक गर्न सफल भयो कि उनीहरूले स्वीकृति पाइसकेका छन्, तर अन्तिम निर्णयमा त्यो ठूलो कारण थिएन। हामीले पनि स्वीकृति पाउने थियौँ।’
हलिउडका केही कार्यकारीहरूले नेटफ्लिक्समाथि चलचित्रहरू सिनेमा हलमा प्रदर्शन गर्ने प्रतिबद्धता कम भएको भन्दै आलोचना गरेका थिए। यसको जवाफस्वरूप नेटफ्लिक्सले वार्नर ब्रदर्श स्टुडियोलाई चलचित्र प्रदर्शन तालिकाबारे निर्णय गर्न अनुमति दिने वाचा गरेको थियो ।
पिटर्सले प्यारामाउन्टले सम्झौता सम्पन्न भएपछि हरेक वर्ष ३० वटा चलचित्र सिनेमा हलमा रिलिज गर्ने प्रतिज्ञामाथि पनि प्रश्न उठाए ।
‘उनीहरूले ३० वटा राम्रो सिनेमाघर–स्तरका फिल्म कसरी बनाउलान् ? मैले त्यो सूत्र चाहिँ बुझिनँ । यदि म जुवाबाज भए पनि उनीहरूले त्यो लक्ष्य पूरा नगर्ने सम्भावना नै बढी देख्छु,’ उनले भने ।
नेटफ्लिक्सले प्यारामाउन्टसँग भएको सम्झौताबाट २.८ अर्ब डलरको ब्रेक–फी पाएको थियो । पिटर्सले यसलाई ‘हाम्रो सदस्यहरूका लागि अझ बढी मूल्य दिन सहयोग गर्ने राम्रो अवसर’ बताएका छन् । उनले भिडियो पोडकास्ट र अन्तरक्रियात्मक खेलजस्ता नयाँ सामग्री ढाँचाहरूको योजनाबारे पनि चर्चा गरे ।
उनका अनुसार कम्पनीभित्र केही निराशा भए पनि, ‘यो हाम्रो लागि अवसर हो। प्यारामाउन्टका मानिसहरू आगामी १२, १८ वा २४ महिनासम्म व्यस्त रहनेछन् ।’
पिटर्सले नेटफ्लिक्स ठूलो सम्झौताका अन्य अवसरका लागि खुला रहने बताए। ‘यदि हाम्रो लक्ष्यमा छिटो पुग्ने कुनै अवसर आयो भने, हामी त्यसलाई पछ्याउन तयार हुनेछौँ,’ उनले भने ।
तर उनले नेटफ्लिक्सको मूल रणनीति ‘किन्ने होइन, निर्माण गर्ने’ नै रहेको प्रस्ट पारे। ‘हामी मुख्यतः आफ्नै विकासमा लगानी गर्न केन्द्रित छौँ,’ उनले भने ।
उनका अनुसार वार्नर ब्रदर्सजस्तो ठूलो सम्झौता दुर्लभ हुन्छ, त्यसैले निकट भविष्यमा त्यस्तो गतिविधि धेरै हुने अपेक्षा छैन । ‘अब हाम्रो काम भनेको फेरि फर्केर निरन्तर अघि बढिरहनु हो,’ उनले भने ।