काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सफल भएको भन्दै विभिन्न राजनीतिक दलले सरकार र मतदाताप्रति आभार व्यक्त गरेका छन् । कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीसहितका दलहरुले सरकारको प्रशंसा गरेका छन् ।
कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली जनताको अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा प्रमाणित भएको जनाएको छ । बिहीबार मतदानपछि विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सबैप्रति उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेको छ ।
‘जनताको यो सक्रिय सहभागिताले एकातिर लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले मतदाताको फैसलालाई शिरोधार्य गर्दै आगामी दिनमा विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
केही निर्वाचन क्षेत्रमा भएका छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सफल भएका भन्दै कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ । निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन खटिने राष्ट्रसेवक कर्मचारी तथा सुरक्षा निकायको भूमिकालाई पनि कांग्रेसले प्र्रशंसा गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि देशभर शान्तिपूर्ण मतदान भएको भन्दै सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । ‘देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनु भएका अपूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधि साथीहरूलाई पनि धन्यवाद,’ बिहीबार राती वक्तव्यमार्फत ओलीले भनेका छन् ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास अझ सुदृढ भएको बताएका छन् । देशभर मतदान कार्य सम्पन्न भएपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै उनले जटिल राजनीतिक परिस्थितिका बीच घोषणा भएको निर्वाचनले तमाम आशंकाहरूलाई चिर्न सफल भएको उल्लेख गरेका छन् ।
निर्वाचन घोषणा हुँदा राजनीतिक वृत्तमा विभिन्न संशय र आशंकाहरू व्यक्त भइरहेको सन्दर्भलाई जोड्दै उनले भनेका छन्, ‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ ।’ उनले यो निर्वाचनलाई केवल प्रक्रिया मात्र नभई राजनीतिक निकासको महŒवपूर्ण खुड्किलोको रूपमा चित्रण गरेका छन् ।
संयोजक प्रचण्डले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता र संयमको प्रशंसा गर्दै सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन् । निर्वाचन सफल बनाउन अहोरात्र खटिने नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू र नागरिक समाजको भूमिकाप्रति पनि उनले सम्मान गरेका छन् ।
निर्वाचनपछिको राजनीतिक दिशाबारे संकेत गर्दै प्रचण्डले आगामी दिनमा जनताको निर्णयलाई पूर्ण सम्मान गरिने बताएका छन् । ‘जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको फोटो फेसबुकमा राख्दै ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’ लेखेका छन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले अनेकौं शंका, आशंका र सुरक्षा चुनौतीका बाबजुद प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमै सम्पन्न गरेको भन्दै प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘अब देशले निकास र सुशासन पाओस् यही हाम्रो अपेक्षा छ ।’
ओलीले सम्झिए सुखानीका शहीद र जेल जीवन
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि फागुन २१ सँग जोडिएका आफ्ना जीवनका दुई संयोगको स्मरण गरेका छन् । मतदान गरिसकेपछि उनले फागून २१ गते सुखानी घटना हुँदा जेल सार्ने बहानामा आफूलाई मार्न खोजे पनि जोगिएको र आफ्नो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको उल्लेख गरेका छन् ।
झापा आन्दोलनका क्रममा २०२९ फागुन २१ मा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा हत्या गरिएको थियो । उक्त घटनालाई स्मरण गर्दै ओलीले लेखेका छन्, ‘जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि म मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ ।’
राजनीतिक जीवनको संकटपूर्ण घडी मात्र नभई, स्वास्थ्यका दृष्टिले पनि आजको दिन आफ्नो लागि विशेष रहेको ओलीले भनेका छन् । ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,’ उनले लेखेका छन् ।
ओली यसपटक झापा–५ बाट उम्मेदवार हुन् । राजनीतिक रुपमा यसपटक घेराबन्दीमा परेका ओलीलाई यसपटकको चुनाव सहज नभएको आकलनका बीच उनले फागुन २१ को संयोग स्मरण गरेका हुन् । ओलीले फागुुन २१ नबिर्सने दिन भनेर लेखेका छन् । फागुन २१ मै सम्पन्न चुनावी परिणाम प्रतिकूल आएर ओलीका लागि बिर्सने दिन बन्छ वा उनकै भाषामा ‘चौतर्फी घेराबन्दी’का बीच पनि जितेर सम्झने तेस्रो संयोग थपिन्छ, चासोका साथ हेरिएको छ ।