नेभिगेशन
मनोरञ्जन

पाकिस्तानीप्रति कृतज्ञ सोनु

१७ वर्षको उमेरमा जब सोनु निगमले ‘ऐसा सिला दिया तुने मेरे प्यार का...’ एल्बम निकाले, निस्कनेबित्तिकै यो सबैभन्दा बढी बिक्री हुने एल्बम बन्न पुग्यो । त्यसले उनलाई पहिचान मात्र दिएन, आर्थिक रुपमा पनि सशक्त बनायो ।

प्रायः पाकिस्तानी कलाकारप्रति कडा बयान दिने सोनुले यो गीतका असली गायकप्रति भने आफ्नो कृतज्ञता व्यक्त गरेका छन् । पाकिस्तानी गायक अताउल्ला खाँले शुरुमा यो एल्बम बजारमा ल्याएका थिए । उनको यो एल्बम त्यो बेला निकै चर्चित भएको थियो । सोही गीतलाई उनले पुनः रेकर्ड गरेर गाउँदा उनको प्रख्याति चुलिएको थियो ।

उनले हालै एउटा मिडियासँगको कुराकानीमा भनेका छन्, ‘मैले मेरो गायकी अताउल्ला खानको ‘अच्छा सिला दिया तूने मेरो प्यार का’को कभर गीत गाएर शुरु गरेको थिएँ । मेरो शुरुवाती सफलताको श्रेय यही कलाकारको कहिल्यै पुरानो नहुने गीतलाई नै जान्छ ।’

उनले भनेका छन्, ‘उनी असल मानिस हुन् । मेरो जीवनमा उनको विशेष स्थान छ । मेरो गायन करियर नै उनका गीतबाट शुरु भएकाले उनीप्रति मेरो विशेष सम्मान छ ।’

त्यसो त यो एल्बम बजारमा हिट भएपछि अताउल्लाले उनलाई फोन गरेर सुन्दर गायकीका लागि बधाई दिएका थिए ।

‘मिस्टर सोनू, म पाकिस्तानबाट अताउल्लाह बोलेको, यो गीत तिमीले साँच्चिकै राम्रो गायौ,’ सोनेले त्यो दिन सम्झँदै भनेका छन्, ‘त्यो बेला म जम्मा १९ वर्षको थिएँ र त्यति प्रख्यात गायकले मेरो गायकी रुचाउनु उहाँको अत्यन्त दयालुपन र उदारता हो ।’ उनले गायन थालेको ३० वर्ष पूरा भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्