नेभिगेशन
मनोरञ्जन
मतदानपछि सामाजिक सञ्जालमा प्रतिक्रिया

कलाकारदेखि सर्वसाधारणसम्म लोकतन्त्रप्रति आशावादी

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सम्पन्न भएसँगै कलाकार, बुद्धिजीवी र सर्वसाधारणले सामाजिक सञ्जालमार्फत आफ्नो मताधिकार प्रयोग गरेको जानकारी दिँदै लोकतन्त्र र देशको भविष्यप्रति आशा व्यक्त गरेका छन् ।
चलचित्र निर्देशक दीपेन्द्र के. खनालले निर्वाचनका सन्दर्भमा चलचित्र तथा कला क्षेत्रको भूमिकाबारे टिप्पणी गरेका छन् । उनले चलचित्र र कला क्षेत्र मनोरञ्जन मात्र नभई राष्ट्रको ‘सफ्ट पावर’ भएको उल्लेख गर्दै राजनीतिक दलहरूको घोषणापत्रमा यस क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएकोप्रति असन्तुष्टि प्रकट गरेका थिए । यद्यपि उनले आफूले मत खसालेको चिनो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । खनालका अनुसार चलचित्रले देशको कथा, संस्कृति र पहिचान विश्वभर पु¥याउन सक्ने भएकाले पर्यटन प्रवद्र्धनदेखि रोजगारी सिर्जनासम्म बहुआयामिक प्रभाव पार्न सक्छ । उनले मत भनेको कागजमा छाप लगाउने काम नभई आफ्नै भविष्यका लागि हस्ताक्षर गर्ने प्रक्रिया भएकाले मतदाताले विवेकपूर्ण निर्णय गर्नुपर्ने बताएका छन् ।
यस्तै गायक शिव परिवारले काठमाडौँ क्षेत्र नम्बर २ मा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई मतदान गरेको उल्लेख गर्दै नेपालले अब सबै क्षेत्रमा विकसित अन्तर्राष्ट्रिय स्तरको देशका रूपमा काँचुली फेर्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।
फिल्म निर्माता सुशील पोखरेलले गत साता फिल्म परालको आगोको सुटिङ सकेर काठमाडौं फर्किएका छन्  । उनले चुनावअघि आरोप–प्रत्यारोप स्वाभाविक भए पनि अबको समय सबै नेपालीको साझा भएको बताएका छन् । उनका अनुसार कुनै पनि दलको झण्डाले नेपाली समाजलाई विभाजित गर्न नहुने र जसको सरकार बने पनि त्यो सम्पूर्ण नेपालीको सरकार हो भन्ने भावना विकसित हुन आवश्यक छ । उनले ‘झोले’, ‘घण्टे’, ‘बहिष्कार’जस्ता विभाजनकारी शब्द प्रयोग नगरी आपसी एकता कायम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
कलाकार अर्जुन कुमारले पनि आफ्नो मताधिकार प्रयोग गरेको जानकारी दिँदै देश बन्ने–नबन्ने भविष्य थाहा नभए पनि नागरिकको हैसियतले मत दिएको बताएका छन् । यस्तै ललितपुरको धोबीघाटमा मतदान गरिसकेपछि नायिका उषा रजकले ‘मैले त भोट दिएँ, तपाईंले नि ?’ भन्दै मतदातालाई सहभागी हुन आह्वान गरेकी छन् । यसैगरी अभिनेत्री दीपाश्री निरौलाले मतदान गरी नागरिक कर्तव्य पूरा गरेको बताएकी छन् ।
फिल्म निर्देशक तथा कलाकार रमेश बुढाथोकीले निर्वाचनको परिणाम सुशासनको पक्षमा आउनुपर्ने र राजनीतिक अस्थिरताको अन्त्य भई देशले समृद्धिको बाटो समाओस् भन्ने कामना गरेका छन् ।
यसैबीच फिल्म निर्देशक सुब्रत आचार्यले निर्वाचन सम्पन्न गराउन नेतृत्व गरेको भन्दै प्रधानमन्त्री सुशिला कार्कीको प्रशंसा गरेका छन् । उनले निर्वाचनको परिणाम जे आए पनि हार्ने पक्षले त्यसलाई सहर्ष स्वीकार गर्ने लोकतान्त्रिक परम्परा बसाल्नुपर्ने बताएका छन् । देश निर्माणको जिम्मेवारी विजयी र पराजित दुवै पक्षको साझा दायित्व भएको उनको भनाइ छ ।
कलाकार सरोज खनालले पनि कठिन परिस्थितिका बीच फागुन २१ मा निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्री कार्कीको नेतृत्वप्रति सम्मान व्यक्त गरेका छन् । उनले निर्वाचन आयोग, सुरक्षाकर्मी, उम्मेदवार र मतदातालाई समेत बधाई दिएका छन् ।
चलचित्र ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहानले पनि निर्वाचन सम्पन्न भएकोलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन् । जेन्जी आन्दोलनपछि देश अन्योल र अस्थिरताको अवस्थाबाट गुज्रिरहेको बेला प्रधानमन्त्री कार्कीले धैर्य र साहसका साथ देशलाई निकासतर्फ डो¥याउने प्रयास गरेको उनको भनाइ छ ।
यसैगरी सर्लाहीको बरहथवा नगरपालिका–१५ स्थित जनता आधारभूत विद्यालय पिपराभित्ताबाट मतदान गरेको जानकारी शिवशंकर रिजाल (जोगिन्दर) ले दिएका छन् । कलाकार भएर पनि उनले नेपाली कांग्रेसका लागि मत मागेका थिए  । उनले कांग्रेसको विज्ञापन गीत गाएका थिए  ।
वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरी मतदान गरेको उल्लेख गर्दै यस निर्वाचनबाट देशले असल र सक्षम नेतृत्व पाउने आशा व्यक्त गरेका छन् । उनले जटिल परिस्थितिमा निर्वाचन सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । यस्तै एउटा भिडियो सन्देश जारी गर्दै मदनकृष्ण श्रेष्ठले मतदान गर्दा नयाँ पुराना साथीहरू भेट भएकामा खुशी व्यक्त गर्दै उनले सबै पार्टीका पुराना व्यक्तिहरू भेटेकामा प्रशन्न देखिन्थे  ।
निर्वाचन सम्पन्न भएसँगै सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरूले लोकतन्त्रप्रति नागरिकको विश्वास र देशको भविष्यप्रति आशावादी भावना अझै कायम रहेको संकेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन