नेभिगेशन
मनोरञ्जन

९८औँ अस्कर अवार्ड कसको पोल्टामा ?

 

विश्वकै प्रतिष्ठित चलचित्र पुरस्कार मानिने अकादमी अवार्ड (अस्कर)को ९८औँ संस्करण आगामी आउँदो मार्च १५, आइतबार आयोजना हुँदैछ । यसपटकका मनोनयन सार्वजनिक भइसकेका छन् र अन्तिम चरणमा पुग्दा पुरस्कार कसले जित्ला भन्ने विषयमा चासो झन् बढेको छ ।
यस वर्षको अस्करमा केही अप्रत्याशित मोड देखिएपछि प्रतिस्पर्धा अझ रोचक बनेको छ । अभिनेता सम्बन्धी पुरस्कारहरूबाट आएका नतिजाले केही विधामा अनुमान बदलिएको छ । मतदान गर्ने फिल्म एकेडेमीका सदस्यहरूले विहीबार साँझसम्म आफ्नो मत बुझाउनुपर्ने भएकाले अन्तिम क्षणसम्म परिणामबारे उत्सुकता कायम छ ।
उत्कृष्ट चलचित्र
उत्कृष्ट चलचित्रतर्फ ‘बुगोनिया’, ‘एफ–वन’, ‘फ्राङ्केनस्टाइन’, ‘ह्यामनेट’, ‘मार्टी सुप्रिम’, ‘वन ब्याटल आफ्टर एनदर’, ‘द सेक्रेट एजेन्ट’, ‘सेन्टिमेन्टल भ्यालु’, ‘सिनर्स’ र ‘ट्रेन ड्रिम्स’ मनोनयनमा छन् ।
अवार्ड सिजनको शुरूवातदेखि नै ‘वन ब्याटल आफ्टर एनदर’, अग्रपंक्तिमा देखिएको थियो । यसले प्रोड्युसर्स गिल्ड अवार्ड, डाइरेक्टर्स गिल्ड अवार्ड, बाफ्टा र गोल्डेन ग्लोब्सजस्ता महŒवपूर्ण पुरस्कार जितेको छ ।
तर हालै अभिनेता अवार्डमा ‘सिनर्स’ले उत्कृष्ट समूह अभिनय जितेपछि प्रतिस्पर्धा झन् कडा बनेको छ । विश्लेषकहरूको अनुमान अनुसार अन्ततः ‘वन ब्याटल आफ्टर एनदर’ नै उत्कृष्ट चलचित्र बन्ने सम्भावना बढी देखिन्छ, यद्यपि ‘सिनर्स’ले अप्रत्याशित जित हात पार्न सक्ने सम्भावना पनि नकारिएको छैन ।
उत्कृष्ट अभिनेत्री
यस विधामा जेस्सी बक्ली (ह्यामनेट), रोज बर्न (इफ आइ ह्याड लेग्स आइड किक यू), केट हडसन (सङ सङ ब्लु), रेनाटे रिन्स्भे (सेन्टिमेन्टल भ्यालु) र एम्मा स्टोन (बुगोनिया) मनोनयनमा छन् । विश्लेषकहरूका अनुसार जेस्सी बक्ली ‘ह्यामनेट’बाट पहिलो पटक अस्कर जित्ने सम्भावना धेरै छ ।
उत्कृष्ट अभिनेता 
यस विधामा टिमोथे चालामे (मार्टी सुप्रिम), लियोनार्डो डिक्याप्रियो (वन ब्याटल आफ्टर एनदर), इथन हक (ब्लु मून), माइकल बी. जोर्डन (सिनर्स) र वाग्नर मोउरा (द सेक्रेट एजेन्ट) प्रतिस्पर्धामा छन् ।
सुरुवातमा टिमोथे चालामे अगाडि देखिए पनि पछिल्लो समय माइकल बी. जोर्डनको सम्भावना बलियो बनेको विश्लेषकहरूले बताएका छन् ।
सहायक अभिनेत्री 
यस विधामा एल फ्यानिङ (सेन्टिमेन्टल भ्यालु) इन्गा इब्सडोटर लिलिआस (सेन्टिमेन्टल भ्यालु), एमी म्याडिगन (वेपन्स), वुनमी मोसाकु (सिनर्स) र टेयाना टेलर (वन ब्याटल आफ्टर एनदर) मनोनयनमा छन् । विश्लेषकहरूका अनुसार अन्ततः टेयाना टेलरले यो अवार्ड जित्ने सम्भावना बलियो छ ।
सहायक अभिनेता 
यस विधामा जेकब एलोर्डी (फ्राङ्केनस्टाइन), शन पेन (वन ब्याटल आफ्टर एनदर), स्टेलन स्कार्सगार्ड (सेन्टिमेन्टल भ्यालु), बेनिसियो डेल टोरो (वन ब्याटल आफ्टर एनदर) र डेल्रोय लिन्डो (सिनर्स) प्रतिस्पर्धामा छन् । विश्लेषकहरूका अनुसार शन पेन बलियो दाबेदार मानिएका छन् ।
उत्कृष्ट निर्देशक 
यस विधामा क्लोए झाओ (ह्यामनेट), जोस सफ्डी (मार्टी सुप्रिम), पल थोमस एन्डरसन (वन ब्याटल आफ्टर एनदर), जोआखिम ट्रियर (सेन्टिमेन्टल भ्यालु) र रायन कुग्लर (सिनर्स) मनोनयनमा छन् । विश्लेषकहरूका अनुसार पल थोमस एन्डरसनले उत्कृष्ट निर्देशकको अवार्ड जित्ने सम्भावना बढी छ ।
उत्कृष्ट वृत्तचित्र 
यस विधामा ‘द परफेक्ट नेबर’, ‘द अलाबामा सोलुसन’, ‘कम सी मी इन द गुड लाइट’, ‘कटिङ थ्रु रक्स’ र ‘मिस्टर नोबडी अगेन्स्ट पुटिन’ मनोनयनमा छन् । विश्लेषकहरूका अनुसार ‘द परफेक्ट नेबर’ विजेता बन्ने सम्भावना बढी देखिन्छ ।
उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र 
यस विधामा ब्राजिलको ‘द सेक्रेट एजेन्ट’, फ्रान्सको ‘इट वाज जस्ट एन एक्सिडेन्ट,’ नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’, स्पेनको ‘सिरात’ र ट्युनिसियाको ‘द भ्वाइस अफ हिन्द रजाब’ मनोनयनमा छन् । यसपटकको प्रतिस्पर्धा निकै कडा मानिएको छ । केही विश्लेषकले ‘सेन्टिमेन्टल भ्यालु’ जित्ने अनुमान गरेका छन् भने केहीले ‘द सेक्रेट एजेन्ट’ विजेता बन्न सक्ने बताएका छन् ।
उत्कृष्ट एनिमेटेड चलचित्र 
यस विधामा ‘आर्को’, ‘एलियो’, ‘के–पप डेमन हन्टर्स’, ‘लिटिल अमेली ओर द क्यारेक्टर अफ रेन’ र ‘जुटोपिया २’ मनोनयनमा छन् । विशेषगरी युवापुस्तामाझ लोकप्रिय बनेको ‘के–पप डेमन हन्टर्स’ले यो विधामा जित्ने सम्भावना सबैभन्दा बढी मानिएको छ ।
यस वर्षको अस्करमा केही विधामा स्पष्ट दाबेदार देखिए पनि केहीमा अन्तिम क्षणसम्म परिणाम अनिश्चित रहने अनुमान गरिएको छ । त्यसैले मार्च १५ को समारोह चलचित्र उद्योगका लागि रोचक र भावनात्मक क्षणले भरिएको हुने अपेक्षा गरिएको छ ।

समारोहलाई ‘आइरन म्यान’को पुनर्मिलन

के अस्कर समारोहमा ‘आइरन म्यान’को पुनर्मिलन हुन लागेको हो? अभिनेत्री ग्वेनेथ पाल्ट्रो र अभिनेता रोबर्ट डाउनी जुनियर आगामी मार्च १५ मा हुने अस्कर समारोहमा पुरस्कारका प्रस्तुतकर्ताका रूपमा सहभागी हुने भएका छन् ।
बिहीबार कार्यक्रमका कार्यकारी निर्माताहरूले नयाँ प्रस्तुतकर्ताहरूको सूची सार्वजनिक गरेका छन् । यस सूचीमा एनी ह्याथवे, विल अर्नेट, प्रियंका चोपडा जोनास र पल मेस्कल पनि समावेश छन् ।


यी कलाकारहरू यसअघि घोषणा गरिएका प्रस्तुतकर्ताहरू गत वर्षका उत्कृष्ट अभिनेता विजेता एड्रियन ब्रोडी र मिकी म्याडिसन, सहायक अभिनेता विजेता किरन कुलकिन र जोए साल्दानासँगै कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै क्रिस इभान्स, जेभियर बार्डेम र माया रुडोल्फले पनि ९८औँ वार्षिक अस्कर समारोहमा पुरस्कार प्रदान गर्नेछन् ।
अस्कर कहिले हुँदैछ ?
अकादमी अवार्ड (अस्कर) समारोह मार्च १५, आइतबार अमेरिकाको लस एन्जलसस्थित डोल्बी थिएटरमा आयोजना हुनेछ ।
यो कार्यक्रमलाई एबीसी टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने भए पनि नेपालीहरूले युट्युबबाट हेर्न पाउने छन्  ।
कार्यक्रमको प्रस्तोता (होस्ट) को हुन् ?
गत वर्ष ९७औँ अस्कर समारोह सफलतापूर्वक सञ्चालन गरेका कोनन ओ’ब्रायन यस वर्ष पनि कार्यक्रमको होस्टका रूपमा फर्किने भएका छन् । उनको पुनरागमनको घोषणा करिब एक वर्षअघि गरिएको थियो । गत मार्चमा उनले मजाकिया शैलीमा भनेका थिए, ‘अर्को वर्ष म अस्कर होस्ट गर्न चाहनुको एउटै कारण छ, म एड्रियन ब्रोडीले आफ्नो भाषण पूरा गरेको सुन्न चाहन्छु ।’
अस्कर अनलाइन पनि हेर्न पाइन्छ?
गत वर्षझैँ यस वर्ष पनि अस्कर समारोह हुलुमार्फत प्रत्यक्ष स्ट्रिमिङ हुनेछ । त्यसका साथै हुलु लाइभ टीभी, यट्युबटीभी लगायत अन्यबाट कार्यक्रम हेर्न सकिन्छ । 
कार्यक्रममा क्रिस इभान्स, जेभियर बार्डेम, माया रुडोल्फ, चेज इन्फिनिटी, डेमी मूर र कुमेल नान्जियानीले पनि पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्