नेभिगेशन
अर्थतन्त्र

सफल प्रशासक तर, राजनीतिको पहिलो खुड्किलोमै ठेस

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको कार्यकारी प्रमुख हुँदै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमान घिसिङ सफल प्रशासक हुन् । विद्युत प्राधिकरणमा दुई कार्यकाल कार्यकारी निर्देशक बनेका उनी नतिजा देखिनेगरी काम गरेकै कारण सफल थिए । तर, राजनीतिक महत्वाकांक्षामा उनलाई पहिलो खुड्किलोमै ठेस राखेको छ । 
विद्युत प्राधिकरणको नेतृत्व रहँदा उनले विद्युत उत्पादन, प्रसारण, वितरण र अन्तरदेशीय विद्युत व्यापारको क्षेत्रमा ठूलो योगदान गरेका हुन् । भारतसँगको विद्युत व्यापारलाई अहिलेको चरणसम्म ल्याइपु¥याउन उनको नै ठूलो योगदान छ । उनको विज्ञता र सर्वसाधारणले पनि नतिजा देख्ने गरी काम गर्ने क्षमताकै कारण जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारमा पनि उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरी ३ वटा मन्त्रालयको मन्त्रीको जिम्मेवारी थियो । 
चार महिना तीन मन्त्रालयको नेतृत्व पाउँदा पनि उनले देखिनेगरी १०० वटा काम गरेर बिदा भएका थिए । करिब तीन दशक विद्युत प्राधिकरणमा बसेर सेवा दिएका तिनै घिसिङको राजनितिक यात्रामा प्रनितिधिसभा प्रवेश गर्न गरेको पहिलो प्रयास नै असफल भएको छ । 
उनी उज्यालो नेपाल पार्टीको नेतृत्व लिएरै चुनावी मैदानमा होमिएका थिए । काठमाडौं–३ बाट उम्मेदवार थिए । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले अपेक्षाअनुसार जित हात पार्न सकेनन् । 
संसदीय राजनीतिमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका उनले  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेसँग अप्रत्यासित हार बेहोरेका छन् । पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दा उनले ११ हजार १७१ मत मात्रै पाए । उनको संसद प्रवेशको पहिलो यात्रा नै अवरुद्ध हुन पुगेको छ । मतगणनाको सुरुवातमा झिनो अन्तरले अग्रता लिएको भए पनि गणना सकिँदा ७ हजार ५८६ मतान्तरले पराजित हुन पुगे । उनीसँगै उनको दल उज्यालो नेपाल पार्टीका अन्य उम्मेदवारले पनि कुनै क्षेत्रमा निर्वाचन जित्ने सम्भावना देखिँदैन । 
घिसिङको कामलाई नजिकबाट हेरिरहेकाहरुले समयको मागलाई बुझ्न नसकेकै कारण यो निर्वाचनमा हार बेहोर्नु परेको विश्लेषण गरेका छन् । घिसिङ निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिन गए पनि १२ दिनपछि सहमति तोडेर बाहिरिएका थिए । देशमा २०७३ सम्म व्याप्त लोडसेडिङ अन्त्य गरी देशभरमा ९८ प्रतिशतसम्म विद्युतीकरण गर्न सफल भएको जस पाउँदै आएका घिसिङले यो निर्वाचनमा हार्न नहुने एकथरीको धारणा थियो । उनी सुरुमा रास्वपासँग मिसिन गए पनि पछि असहमति भएको थियो । त्यसपछि पार्टीले समानुपातिक सूची बुझाउने समय पनि पाएन, एक्लै निर्वाचनमा होमिँदा अप्रत्यासित हार बेहोर्नुपरेको छ । 
निर्वाचनमा पराजय भए लगत्तै घिसिङले चुनावी परिणाम जे जस्तो आए पनि आफू अब राजनितिमै सक्रिय रहने बताएका छन् । विजयी प्रतिस्पर्धी पाण्डेलाई सामाजिक सञ्जालमार्फत बधाई दिँदै घिसिङले अहिले पराजय भए पनि उज्यालो नेपाल निर्माणको अभियानमा आगामी दिनमा अझ बढी सक्रिय भएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । 
‘आफूलाई मतदान गर्ने मतदाताप्रति आभार प्रकट गर्दछु । जनताको माया र विश्वास नै आफ्नो लागि मुख्य प्रेरणाको स्रोत हो । आगामी दिनमा देश र जनताको सेवामा थप जिम्मेवार भएर लाग्नेछु र समृद्ध नेपाल निर्माणको यात्रालाई निरन्तरता दिनेछु,’ उनले भनेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्