नेभिगेशन
अर्थतन्त्र

पिचाईलाई तीन वर्षमा पारिश्रमिक ६९ करोड डलर

काठमाडौँ । गुगल र मातृ कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले नयाँ क्षतिपूर्ति योजनाअन्तर्गत आगामी तीन वर्षमा अधिकतम ६९ करोड २० लाख डलरसम्म पारिश्रमिक प्राप्त गर्ने भएका छन् । अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन) मा शुक्रबार सार्वजनिक गरिएको विवरणले यस्तो जानकारी दिएको हो ।
नयाँ योजनाले पिचाईलाई विश्वकै सबैभन्दा धेरै पारिश्रमिक पाउने प्रमुख कार्यकारी अधिकृतमध्ये एक बनाउने अनुमान गरिएको छ । पिचाई सन् २०१५ देखि गुगलका प्रमुख कार्यकारी अधिकृत छन् भने सन् २०१९ देखि अल्फाबेटको नेतृत्व सम्हाल्दै आएका छन् ।
योजनाअनुसार पिचाईको आधारभूत तलबमा भने परिवर्तन गरिएको छैन । उनको तीन वर्षका लागि कुल ६० लाख डलर अर्थात् वार्षिक २० लाख डलरको तलब यथावत् रहनेछ । तर, उनले पाउने अधिकांश पारिश्रमिक भने कम्पनीको सेयर र प्रदर्शनसँग जोडिएको प्रोत्साहन योजनामार्फत प्रदान गरिनेछ ।
क्षतिपूर्तिको ठूलो हिस्सा अल्फाबेट कम्पनीको सेयरका रूपमा उपलब्ध गराइनेछ । साथै कम्पनीअन्तर्गत रहेका दुई सहायक कम्पनी– स्वायत्त सवारी साधन विकास गर्ने वायमो र ड्रोनमार्फत सामान ढुवानी सेवा प्रदान गर्ने विङका सेयर पनि यस योजनामा समावेश गरिएको छ ।
एसईसीमा गरिएको फाइलिङअनुसार पिचाईले वायमोबाट करिब १३ करोड डलर र विङबाट करिब चार करोड ५० लाख डलरसम्म प्राप्त गर्न सक्नेछन् । तर, अन्तिम रकम भने कम्पनीको सेयरको प्रदर्शन तथा अल्फाबेटले सेयरधारकलाई दिने लाभांशको अवस्थामाथि निर्भर रहने बताइएको छ ।
कागजातअनुसार कुनै कारणले पिचाई पदबाट हटाइएमा अझै प्रयोग गर्न बाँकी रहेका सबै स्टक विकल्पहरू उनले गुमाउनुपर्ने व्यवस्था गरिएको छ । कम्पनीले सार्वजनिक गरेको फाइलिङमा पिचाईको नेतृत्वमा कम्पनीले राम्रो प्रगति हासिल गरेको उल्लेख गरिएको छ । कम्पनीका अनुसार उनलाई दिइएको वर्तमान तथा अघिल्ला प्रोत्साहन योजनाले अल्फाबेट र यसका सेयरधारकलाई उल्लेखनीय लाभ पु¥याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्