नेभिगेशन
मनोरञ्जन

प्रियंकाको ‘नयाँ नेपालको आशा’ बालेन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै कलाकार तथा फिल्म नायिका प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत नयाँ राजनीतिक परिवर्तनप्रति आशा व्यक्त गरेकी छन् । उनले आफ्नो फेसबुक स्टाटसमा झापा–५ बाट बालेन्द्र शाहको विजयलाई ऐतिहासिक उपलब्धि भन्दै बधाई दिएकी हुन् ।
कार्कीले लेखेकी छन्, अहिले सार्वजनिक भएको यो परिणाम एउटा निर्वाचनको नतिजा मात्र नभई जनताको आवाज र परिवर्तनप्रतिको विश्वासको अभिव्यक्ति हो । यसपटक मतदाताले घण्टीलाई मत दिएका होइनन्, उनीहरूले आशा, विश्वास र नयाँ सम्भावनालाई मत दिएका हुन् ।
उनले लामो समयदेखि नेपाली जनताले विभिन्न राजनीतिक भाषण र वाचा सुन्दै आएको तर धेरैपटक निराशा पनि भोग्नुपरेको उल्लेख गर्दै यसपटकको जनादेशले नागरिकहरू अब फरक प्रकारको राजनीति चाहन्छन् भन्ने स्पष्ट सन्देश दिएको बताएकी छन् ।
कार्कीले रास्वपाका उम्मेदवारहरूको सफलता जनविश्वासको प्रतीक भएको टिप्पणी गरेकी छन् । तर यस्तो ऐतिहासिक जितसँगै ठूलो जिम्मेवारी पनि आउने उनले स्मरण गराएकी छन् । उनका अनुसार नयाँ नेतृत्वसँग अहिले नेपाललाई जस्तो थियो त्यस्तै राख्ने होइन, जस्तो हुन सक्छ त्यस्तो बनाउने अवसर आएको छ ।
उनले देश परिवर्तन रातारात सम्भव नहुने भन्दै त्यसका लागि समय, मेहनत र धैर्य आवश्यक पर्ने उल्लेख गरेकी छन् । तर निर्वाचित प्रतिनिधिहरूसँग आगामी पाँच वर्षको समय रहेको भन्दै उनले यही अवधिमा विकासलाई अघि बढाउन, सुशासनलाई बलियो बनाउन र जनताको विश्वासलाई परिणाममा बदल्नुपर्ने जिम्मेवारी रहेको बताएकी छन् ।
फेसबुक स्टाटसमा कार्कीले बालेन र रवि लामिछानेलाई बधाई दिँदै नेपाल परिवर्तन सम्भव रहेको विश्वास व्यक्त गरेकी छन् । ‘नेपाल बदलिन सक्छ र आजको दिनले त्यो सम्भावना देखाएको छ । अब इतिहास लेख्ने समय आएको छ,’ उनले लेखेकी छन् ।
उनले नेपाली युवाहरू अवसर खोजिरहेका, समाज पारदर्शिता र उत्तरदायित्व चाहिरहेका तथा नागरिकहरू फेरि आशालाई विश्वासमा बदल्न चाहिरहेका छन् भन्ने उल्लेख गर्दै नयाँ नेतृत्वबाट परिणाममुखी कामको अपेक्षा रहेको बताएकी छन् ।
‘हामीले धेरै वर्षदेखि भाषण र नाराहरू सुन्दै आएका छौं, तर अब देशलाई काम गर्ने नेतृत्व चाहिएको छ,’ उनको बुझाइ छ ।
कार्कीले आफ्नो सन्देशको अन्त्यमा नयाँ नेपालको सपना पुनः देख्न थालेको उल्लेख गर्दै यस्तो नेपालको कल्पना गरेकी छन् जहाँ भविष्यका पुस्ताले विदेश होइन, आफ्नै देशमा भविष्य देख्न सकून् । ‘त्यस्तो नेपाल जहाँ हाम्रो बच्चाहरू यही बस्न चाहून् र यही भविष्य देखून्,’ उनले लेखेकी छन् ।
यसपटक फिल्म तथा संगीत उद्योगको ठूलो तप्का रास्वपाको पक्षमा खुलेरै लागेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्