नेभिगेशन
राजनीति

भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको टेलिफोन वार्ता, निर्वाचनमा रास्वपाको उल्लेखनीय सफलताप्रति मोदीले दिए बधाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वार्ता गरेका छन् । 

रवि-बालेनसँग टेलिफोन वार्ता भएको सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री मोदीले बताएका छन् । वार्ताका क्रममा मोदीले नेपालमा सम्पन्न निर्वाचनमा रास्वपाको उल्लेखनीय सफलताप्रति बधाई दिए। 

प्रधानमन्त्री मोदीले रवि र बालेनसँग छुट्टा-छुट्टै संवाद गरेका हुन् । उनले दुवै नेतालाई निर्वाचन सफलताका लागि बधाई दिँदै आगामी नयाँ सरकार गठनका लागि शुभकामना दिए। भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री मोदीको भनाइ छ। 

उनले भारत-नेपाल सम्बन्ध आगामी वर्षहरूमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै दुवै देशबीच संयुक्त प्रयासबाट सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सकिने बताए।

लामिछाने नेतृत्वको रास्वपाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ मात्रै १२५ सिट जिटेको छ। समानुपातिक मतगणनामा पनि रास्वपा धेरै अगाडि छ। दुवैतर्फको सिट जोड्दा रास्वपा एक्लैले दुई तिहाइ सिट ल्याउने देखिन्छ।

दुई तिहाइकै सरकार बनाउने भएपछि भारतीय प्रधानमन्त्री मोदीले रास्वपा नेतृत्वसँग संवाद गरेका हुन्। भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै सफलतापूर्वक चुनाव गराएकोमा सुशीला नेतृत्वको सरकारलाई बधाई दिएका थिए ।

भारतीय विदेश मन्त्रालयले पनि नेपाल सरकारलाई बधाई दिँदै आगामी सरकारसँग सहकार्य गर्ने बताएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्