पोखरा, १२ भदौ - पोखराको चर्चित पर्यटकीय स्थल डेभिज फल्स (पातले छाँगो) को सञ्चालन जिम्मा निजी कम्पनीलाई दिने तयारीसँगै स्थानीयबासी पुनः आन्दोलित भएका छन् ।
स्थानीयको विरोधपछि केही समय थाँतीमा परेको सिसाको पुल निर्माण योजना फेरि अघि बढ्ने संकेत पाएपछि आक्रोशित भएका स्थानीयबासीले सेती क्यान्योन प्रालिद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम नै अवरुद्ध गरेका छन् ।
पोखरा–१७, छोरेपाटनस्थित पातले छाँगो निजी कम्पनीलाई बिना प्रतिस्पर्धा ४० वर्षका लागि जिम्मा दिने तयारी भएको भन्दै स्थानीय यो योजनाको विरोधमा उत्रिएका हुन् ।
यसअघि पनि तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमा अघि बढाउन खोजिएको यो योजना, जनविरोधकै कारण कार्यान्वयन हुन सकेको थिएन । अहिलेका मेयर धनराज आचार्यले फेरि योजना अघि बढाउन खोजेपछि विवाद चर्किएको हो ।
नागरिक अगुवाहरूले सिसाको पुलजस्तो संरचना पर्यटन प्रवर्द्धनका लागि राम्रो भए पनि, पारदर्शिताबिना निजी कम्पनीलाई लामो समयको जिम्मा दिनु गलत भएको तर्क गरेका छन् । ‘यो हाम्रो साझा सम्पत्ति हो, डेभिज फल्सलाई निजीकरण गरेर नाफामुखी बनाउने प्रयास स्वीकार्य छैन,’ स्थानीयले भने ।
महानगर र सेती क्यान्योन प्रालिबीच ४५ करोड ३१ लाख रुपैयाँको परियोजना सम्झौता भइसकेको छ, जसअनुसार करिब १ किलोमिटर क्षेत्रभित्र सिसाको पुलसहित अन्य पूर्वाधार निर्माण गरिनेछ ।
तर यो योजनामा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नभएकाले महानगरको नियतमै प्रश्न उठेको स्थानीयको भनाइ छ । पोखरा महानगरले परियोजना सार्वजनिक–निजी साझेदारी ऐन २०७४ र नियमावली २०७५ अनुसार अघि बढाइएको जनाएको छ ।
१७औं कार्यपालिका बैठकले पुरानै निर्णय सदर गरी योजनालाई पुनः अघि बढाउने निर्णय गरेको हो । पातले छाँगोको संरक्षण र सञ्चालन सन् २०३५ सालदेखि छोरेपाटन माविले गर्दै आएको थियो । हाल भने महानगरले सञ्चालन थालेको छ ।
करिब १२ रोपनी क्षेत्रफल फैलिएको यो पर्यटकीयस्थलबाट हरेक वर्ष तीन करोड रुपैयाँभन्दा बढी आम्दानी हुने स्थानीय बताउँछन् । ‘हाम्रो सम्पत्तिबाट निजी कम्पनीले ४० वर्षसम्म मनपरी फाइदा उठाउने हो भने हामी चुप लागेर बस्दैनौं,’ स्थानीयले भने ।