नेभिगेशन
प्रदेश

धनुषा–१ मा अन्ततः मातृका विजेता

काठमाडौं । अन्तिम समयमा रास्वपाका उम्मेदवारको उम्मेदवारी रद्द भएको धनुषा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादव निर्वाचित घोषित भएका छन् । उनलाई सोमबार साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ । 
रास्वपाका उम्मेदवार बनेका निर्माण व्यवसायी किशोरी साह कालोसूचीमा रहेको खुलेपछि उम्मेदवारी खारेज भएको थियो । तर मतगणनामा उनकै चुनाव चिन्हमा उल्लेख्य संख्यामा मत परेको भेटिएपछि मतपरिणाम घोषणामा विवाद भएको थियो । रास्वपाले गुनासो गरेपछि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई गणना रोक्न भनेको थियो । विवादकै बीच यादवलाई प्राप्त मतका आधारमा निर्वाचित घोषणा गर्दै प्रमाणपत्र दिइएको हो । 
कालोसूचीमा परेपछि निर्वाचन आयोगले साहको उम्मेदवारी चुनावको दुई दिनअघि नै खारेज गरेको थियो । रास्वपाका साहको मतबाहेक नेकपाका उम्मेदवार मातृकाप्रसाद यादवले १० हजार ४ सय २८ मत ल्याएका थिए । कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४ सय ८५ मत पाएका छन् । एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २ सय २० मत ल्याएका छन् । 
खारेजीविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले निर्वाचन आयोगसहितलाई छलफलमा बोलाएको छ । सर्वोच्चले यसअघि नै आयोगले मतपरिणाम घोषणामा रोक लगाएकाले उम्मेदवारी खारेज गर्ने सक्कल फाइल पेस गर्न भनेको छ । सर्वोच्चले अर्को सुनुवाइ २९ गतेका लागि तोकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्