नेभिगेशन
प्रदेश

जमानत जोगाउन नसकेका उम्मेदवारको बाढी

धेरै जिल्लामा ‘१० प्रतिशत थ्रेसहोल्ड’ पार गर्नै कठिन, ठूला दलदेखि स्वतन्त्रसम्म प्रभावित

काठमाडौं । चुनावी मैदानमा उम्मेदवारी दिने संख्या धेरै भए पनि मतदाताको समर्थन भने सीमित उम्मेदवारमा अत्यधिक केन्द्रित भएको देखिएको छ । धेरै जिल्लामा ठूलो संख्यामा उम्मेदवारले खसेको सदर मतको १० प्रतिशत मतसमेत ल्याउन सकेनन् र उनीहरूको जमानत जफत भयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुन्छ । यसपटकको निर्वाचनमा यही कानूनी प्रावधानको सबैभन्दा बढी असर साना दल, स्वतन्त्र उम्मेदवार र कतिपय परम्परागत दलका उम्मेदवारमा देखिएको छ । कतिपय जिल्लामा पूर्वमन्त्री, निवर्तमान सांसद, ठूला दलका उम्मेदवार र चर्चित राजनीतिक व्यक्तित्वसमेत जमानत जोगाउन असफल भएका छन् ।
तल विभिन्न जिल्ला र निर्वाचन क्षेत्रअनुसार मतपरिणाम तथा जमानत जफतको अवस्थाको विश्लेषण प्रस्तुत गरिएको छ ।

बैतडीमा सात उम्मेदवारको जमानत जफत
बैतडीमा ६७ हजार ७३० सदर मत खसेकामा सात जना उम्मेदवारले १० प्रतिशत मत कटाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपेनबहादुर चन्दले २,६८१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रामबहादुर कुँवरले २९९, जनता समाजवादी पार्टी नेपालका आनसिंह भण्डारीले ९४, नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले ९४, आम जनता पार्टीका बिसनसिंह बोहराले ८२, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ र स्वतन्त्र जयप्रकाश पन्तले १८ मत पाए ।
यहाँ रास्वपाका हरिमोहन भण्डारी २२,१३४ मतसहित विजयी भए । कांग्रेसका चतुरबहादुर चन्दले १८,१९४, एमालेका दामोदर भण्डारीले १७,०९१ र नेकपाका परमानन्द भट्टले ६,९६५ मत पाए । यसले बैतडीमा मतदाता मुख्यतः चार उम्मेदवारतिर केन्द्रित भएको देखाउँछ ।

सुनसरीमा ११० मध्ये ५५ उम्मेदवारले १०० कटाएनन्
चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा उम्मेदवारको अत्यधिक संख्या र मतको तीव्र विखण्डन देखियो । कुल ११० उम्मेदवारमध्ये ५५ जना ले १०० मतसमेत कटाउन सकेनन्  ।
सुनसरी–१ मा १५ उम्मेदवारले १०० भन्दा कम मत पाए । माओवादीका दिलबहादुर बास्तोला ९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बू ८३, नेपाली जनश्रमदान संस्कृति पार्टीका अर्का राजकुमार लिम्बू ८३, नेमकिपाका महेश श्रेष्ठ ६३ , जसपा नेपालका सञ्जय राई  ५३ , आम जनता पार्टीका रामबहादुर बिष्ट  ५२ , मङ्गोल नेसनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ  ४६ , नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू  २७ , मितेरी पार्टीका रक्षकुमार राई  १७ मतमा सीमित रहे । स्वतन्त्रतर्फ देउमान लिम्बू  ७४ , सुमित राई  ६९ , जीवनकला राई  ३७ , शेषप्रसाद रेग्मी  १७ , चेतबहादुर राई  १७ र ओमकृष्ण उदास मात्र ९ मतमा रोकिए ।
सुनसरी–२ मा ११ जना उम्मेदवार ५० मतभन्दा तल सीमित भए । स्वतन्त्र रोशनी राईले २, भीमबहादुर दाहालले ६, नवराज पौडेलले ४५, नेकपाका अतित नेपालले ३१, आम जनता पार्टी (एकल चुनाव चिह्न) का निरञ्जन ठाकुरले २८, स्वतन्त्र देवेन्द्र पौडेलले २०, अन्जनादेवी गुप्ताले १८, राजकुमार खत्रीले १४, सत्यनारायण पण्डितले १०, डम्बरबहादुर बराइलीले ६ र नेमकिपाकी गीतामैयाँ बजिले १४ मत पाए ।
सुनसरी–३ मा १० जनाले १०० भन्दा कम मत पाए भने ५०० भन्दा कम मत ल्याउने उल्लेख्य उम्मेदवारमा जनमत पार्टीका रामनारायण थारू ३८९, उज्यालो नेपाल पार्टीका जागेश्वर यादव २८६, समावेशी समाजवादीका किशोरकुमार विश्वास २२५, जसपा नेपालका बद्रीप्रसाद यादव १७७, माओवादीका आशुतोष ढुंगेल १४० र प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमोद पौड्याल ११९ मतमा सीमित रहे ।
सुनसरी–४ मा १८ जनाले १०० मत कटाएनन् । आम जनता पार्टीका तवरेज आलम अन्सारी ८७, मङ्गोल नेसनल अर्गनाइजेसनका मनकुमार राई  ७४, नेपाल जनता पार्टीका रमेशकुमार साह ६३, स्वतन्त्र अंकित कार्की ४९, नेकपा (संयुक्त)का सत्यनारायण लहुटिया ३९, स्वतन्त्र तेजनारायण गोइत ३४, कुन्दन कौसिक ३३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मो. सदिक मियाँ २९, स्वतन्त्र उपेन्द्रकुमार साह २५, देवनारायण महतो १६, शर्मानन्द खतिवडा १६, महेन्द्र सुनचौरी १४, जलाल मियाँ १३, नेमकिपाकी चञ्चला न्हिसुतु १२, स्वतन्त्र पार्वती मुखिया १२, यमुना केसी ११, फूलकुमारी खान ४ र बुधेश्वर यादव ४ मतमा सीमित रहे ।
सुनसरीको परिणामले उम्मेदवारी र वास्तविक जनसमर्थनबीचको दूरी सबैभन्दा तीक्ष्णरूपमा देखाएको छ ।

खोटाङमा ११ उम्मेदवारको जमानत जफत
एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा ५८ हजार ६३८ सदर मतमध्ये जमानत जोगाउन ५,८६३ मत आवश्यक थियो तर ११ जना उम्मेदवारले यो सीमा पार गर्न सकेनन् । जमानत जफत हुनेमा रास्वपाका रुद्र गिरी, राप्रपाका दीपक तामाङ, जसपा नेपालका सुनिल चाम्लिङ, नेमकिपाका ध्यानप्रसाद ढकाल, मंगोल नेसनल अर्गनाइजेसनका प्रयाग राई, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राई, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङ, नेकपाका चन्द्रबहादुर बुढाथोकी ‘शैलेश’, जसपाका राकेश राई, स्वतन्त्र तिलकचन्द्र राई र डा राजकुमार राई रहे ।
यहाँ श्रम संस्कृति पार्टीका आरेन राई  १६,६१२ मतसहित विजयी भए । एमालेका देवविक्रम राईले १२,७१४, कांग्रेसका वीरकाजी राईले ११,९५७ र नेकपाका डा हरि रोकाले ९,४४३ मत पाए । समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी १८,१३७ मतसहित पहिलो बनेको छ ।

बाजुरामा पूर्वमन्त्री पनि जोगिएनन्
बाजुरामा आठ उम्मेदवारमध्ये पाँच जनाको जमानत जफत भयो । कुल ४३ हजार ८९६ सदर मतमध्ये धरौटी जोगाउन ४,३८९ मत आवश्यक थियो । तर पूर्वमन्त्रीसमेत रहेका नेकपाका प्रकाशबहादुर शाहले ३,४२४ मत मात्र पाएर जमानत गुमाए । राप्रपाका केशरबहादुर शाहीले ३५२, माओवादीका भूपेन्द्र ल्वारले २३३, प्रगतिशील लोकतान्त्रिक पार्टीका डिककुमार डिसीले ९७ र स्वतन्त्र उपेन्द्र शाहीले ७२ मत पाए ।
रास्वपाका हेमराज थापाले ६,०३५ मतसहित तेस्रो स्थान लिएर जमानत जोगाए भने शाह चौथोमा झरे । बाजुराले राजनीतिक हैसियतभन्दा मतको वास्तविक सङ्ख्या निर्णायक हुने सन्देश दिएको छ ।

लमजुङमा १२ मध्ये ९ उम्मेदवारको जमानत जफत
लमजुङमा ७३ हजार १० सदर मतका आधारमा सात हजारभन्दा बढी मत ल्याउनुपर्नेमा ९ जना उम्मेदवारले यो सीमा छुन सकेनन् । नेकपाका हरिजङ तामाङले ३,३७१, राप्रपाका केबिन्द्रजंग गुरुङले १,०००, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले ५६५ मत पाए । बाँकी उम्मेदवारले ५०० मतसमेत कटाउन सकेनन् । जमानत जफत हुने अन्यमा नेमकिपाका गुजेश्वर प्रजापति मगजु, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश नेपालका मिलन बास्कोटा, माओवादीका रवीन्द्र नाखोला, नेसनल रिपब्लिक नेपालका भरत गुरुङ र स्वतन्त्र सन्तोष घिमिरे रहे ।
यहाँ रास्वपाका धर्मराज केसी ३३,८९८ मतसहित विजयी भए । एमालेका पृथ्वीसुब्बा गुरुङले १६,८७६ र कांग्रेसका गमप्रसाद गुरुङ ले १६,५६९ मत पाए । शीर्ष तीनबीच प्रतिस्पर्धा रहँदा अरू उम्मेदवार पूर्णतः छायामा परे ।

तनहुँमा एमालेको जमानत जफत 
तनहुँमा दुई निर्वाचन क्षेत्र गरी २२ जनाको जमानत जफत भयो । तनहुँ–१ मा १६ उम्मेदवारमध्ये १४ जनाको जमानत जफत भयो । एमालेकी भगवती न्यौपानेले ५,८३० मत ल्याए पनि जमानत जोगाउन सकिनन् । जमानत गुमाउने अन्यमा नेकपाका विद्यानाथ ढकाल, राप्रपाका रामदत्त जोशी, नेमकिपाकी रामलक्ष्मी दुवाल, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेसनल रिपब्लिक नेपालका सुमन थापा मगर, श्रम संस्कृति पार्टीका काशिराम गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका ओमविक्रम पन्त, उज्यालो नेपाल पार्टीका मन्जिल राना, आम जनता पार्टीकी चिजामाया अधिकारी, स्वतन्त्र दीपकराज जोशी, लेखनाथ खनाल र सन्देश रानाभाट लौडारी रहेका छन् । यहाँ रास्वपाका डा स्वर्णिम वाग्ले  ३८,०४० मतसहित विजयी हुँदा कांग्रेसका गोविन्द भट्टराईले १६,२३१ मत पाएका थिए  ।
यसैगरी तनहुँ–२ मा ११ उम्मेदवारमध्ये ८ जना जमानत जोगाउन सकेनन् । नेकपाका सोमबहादुर थापा, राप्रपाका यामबहादुर ठकुरी, नेमकिपाका लक्ष्मण अधिकारी, मङ्गोल नेसनल अर्गनाइजेसनकी सुस्मा आले, नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेपाल कम्युनिष्ट पार्टीका गणेशबहादुर लामगादे र राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर साकी (गोतामे) जमानत गुमाउनेमा परे ।
रास्वपाका श्रीराम न्यौपाने ३२,६८७ मतसहित विजयी भए । कांग्रेसका शंकर भण्डारीले १४,१३५ र एमालेका केदार सिग्देलले ११,६६८ मत प्राप्त गरे ।
तनहुँमा रास्वपाले दुवै क्षेत्रमा जित निकाल्दा एमाले र साना दलको संगठनात्मक उपस्थितिको सीमितता उजागर भएको छ ।

कञ्चनपुरका दुई क्षेत्रमा जमानत जफतको लहर
कञ्चनपुर–२ मा १९ उम्मेदवारमध्ये १५ जनाको जमानत जफत भयो । राप्रपाका तीर्थराज चटौतले १,९९३ , जनमत पार्टीका रामचन्द्र भट्टले १२५, नेमकिपाका सीताराम रानाले ७२, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीले १९५, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशीले १९५, संयुक्त नागरिक पार्टीका खडक तम्राकारले ३२, मितेरी पार्टी नेपालका तेजबहादुर बडवालले १८, माओवादीका लोकेन्द्रबहादुर विकले १४३, उज्यालो नेपाल पार्टीका योगेन्द्रबहादुर साउदले ९३, नागरिक उन्मुक्ति पार्टी नेपालकी प्रेमवती रानाले ५६०, आम जनता पार्टीका जग्गु चौधरीले ३७, स्वतन्त्र वीरेन्द्र रानाले ८१, भानुभक्त बोहराले २६, सिद्धराज जोशीले १९ र हरिशबहादुर भट्टले ४४ मत पाए ।
रास्वपाका दीपकराज बोहरा ३३,९५२ मतसहित विजयी भए । कांग्रेसका नारायणप्रकाश साउदले १०,८२७, एमालेका बचनबहादुर सिंहले ६,४१८ र नेकपाका माधव पन्तले ६,३३७ मत पाए ।
कञ्चनपुर–३ मा ५३ हजार ५१५ सदर मतमध्ये जमानत जोगाउन ५,३५२ मत आवश्यक थियो । तर नेकपाका उम्मेदवार तथा पूर्वप्रदेशसभा सदस्य मानबहादुर सुनारले ४,२८४ मत मात्र पाएर जमानत गुमाए । यस क्षेत्रमा कुल १४ जनाको धरौटी जफत भएको छ । रास्वपाका ज्ञानेन्द्रसिंह महता २७,११८ मतसहित विजयी भए ।

जुम्लामा रास्वपाको लहर चल्न सकेन
जुम्लामा १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भयो । रास्वपाकी विनिता कठायतले ४२१ मत मात्र प्राप्त गरिन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल ११२, नेमकिपाका विर्षबहादुर रावत ४००, माओवादीका बिर्ख शाही ७१, नेपाल जनता पार्टीका रनील विक्रम शाही ४३ र स्वतन्त्र भक्तबहादुर रावलले जमानत जोगाउन सकेनन् ।
यहाँ राप्रपाका ज्ञानेन्द्र शाही १४,८१६ मतसहित विजयी भए । नेकपाका नरेश भण्डारीले ११,६३५, कांग्रेसका दीपबहादुर शाहीले ७,१४३ र एमालेका शान्तिलाल महतले ४,५१८ मत पाए । राष्ट्रिय स्तरको पार्टी लहर स्थानीय शक्ति सन्तुलनसँग सधैं मेल नखाने जुम्लाले देखाएको छ ।

सर्लाहीमा १५४ जनाको जमानत जफत
सर्लाही चारै क्षेत्रमा जमानत जफतको सबैभन्दा ठूलो केन्द्र बन्यो । १५४ जना उम्मेदवारले जमानत गुमाएका छन्  ।
सर्लाही–१ मा कांग्रेसका शम्भुलाल श्रेष्ठबाहेक २८ जनाको जमानत जफत भयो । जसपाका निवर्तमान सांसद रामप्रकाश चौधरीले ३,९९१, नेकपाका पूर्वसांसद प्रमोद साहले ५,४९८ र एमालेका पूर्वमेयर मनोजकुमार देवकोटाले ६,१०१ मत पाए पनि थ्रेसहोल्ड पार गर्न सकेनन् ।
त्यस्तै सर्लाही–२ मा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोसमेत २९ जनाको जमानत जफत भयो । महतोले ५,९९२ मत पाए । निकटतम प्रतिस्पर्धी नेकपाका पूर्वमन्त्री महेन्द्रराय यादवले ८,५२३ मत पाएर जमानत जोगाए ।
सर्लाही–३ मा ३४ उम्मेदवारमध्ये ३२ जनाको जमानत जफत भयो । पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले १३,३३८ मतसहित जमानत जोगाए भने एमालेका हरिप्रसाद उप्रेती र कांग्रेसका विनोदकुमार खनालसमेत जमानत गुमाउनेमा परे ।
सर्लाही–४ मा ३८ उम्मेदवारमध्ये कांग्रेसका गगनकुमार थापा र एमालेका अमनिसकुमार यादवबाहेक ३५ जनाको जमानत जफत भयो । रास्वपाका अमरेशकुमार सिंह ३५,६८८ मतसहित विजयी भए । कांग्रेसका थापाले २२,८३१ र एमालेका यादवले ९,३४३ मत पाए ।
सर्लाहीको परिणामले मधेसमा उम्मेदवारको अत्यधिक भीड र मतदाताको केन्द्रीकृत रोजाइबीचको ठूलो अन्तर उजागर गरेको छ ।

काभ्रेमा ८५ प्रतिशतको जमानत जफत
काभ्रेपलाञ्चोकका दुई क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको छ । काभ्रे–१ का १८ उम्मेदवारमध्ये १४ जनाको जमानत जफत भयो । जसपा नेपालका मानबहादुर तामाङ ७१, नेमकिपाका राजु तामाङ ५२, प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठ ५६, समावेशी समाजवादीका विनोद लामा ५०, नेशनल रिपब्लिकन नेपालका भरत तामाङ ३५, स्वतन्त्र जीवन लामा ९४, युवराज चौलागाईं ७, राप्रपाका नवराज सत्याल ६९९, श्रम संस्कृति पार्टीका धीराज लामा २८७, मङ्गोल नेशनल अर्गनाइजेसनका कमलबहादुर लामा  १५६, माओवादीका कान्छा तामाङ १४९, संयुक्त नागरिक पार्टीका रत्न लामा ११४, स्वतन्त्र राजेशकुमार श्रेष्ठ १६९ मतमा सीमित रहे । उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले ७,४०३ मत पाए पनि जमानत जोगिएन । रास्वपाका मधुकुमार चौलागाईं  २९,६९८ मतसहित विजयी भए । कांग्रेसका गुणराज मोत्तान १९,१६६, नेकपाका दिनानाथ गौतम १४,१८४ र एमालेका अमी तामाङ १३,८१४ मतसहित जमानत जोगाउनेमा परे ।
यसैगरी काभ्रे–२ मा २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत भएको छ । स्वतन्त्र केशवराज तिमिल्सिना ४, लेनिन विष्ट ८, गणेशप्रसाद अधिकारी ११, विष्णुकुमार श्रेष्ठ १३, डिल्ली न्यौपाने ३१, आशा तामाङ ५९, मितेरी पार्टीका हरिबहादुर थापा १०, नेशनल रिपब्लिकन नेपालका सुकमान तामाङ  १५ , सीताराम मैनाली  २१, उमेश थापा  २६, मंगोल नेशनल अर्गनाइजेसनका उमेश लामा २८, नेकपा संयुक्तका राजन थापा ३२, जसपाका रकम लामा ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापा ३९ मतमा सीमित रहे । रास्वपाका बदन भण्डारी ५३,३४४ मतसहित फराकिलो विजयी भए । कांग्रेसका मधुप्रसाद आचार्य  १७,८६८ र एमालेका अशोक व्याञ्जू  १३,९४० मतसहित जोगिए भने नेकपाकी बसुन्धरा हुमागाईंले ८,१०७ मत पाए पनि जमानत जोगाउन सकिनन् ।

विभिन्न जिल्लाको परिणामलाई हेर्दा तीनवटा मुख्य प्रवृत्ति स्पष्ट देखिन्छन् । पहिलो, मतदाता समर्थन थोरै उम्मेदवारमा तीव्ररूपमा केन्द्रित भएको छ । दोस्रो, उम्मेदवारीको संख्या बढे पनि संगठन, पहिचान र चुनावी पहुँचविना उम्मेदवार टिक्न गाह्रो छ । तेस्रो, रास्वपा, केही स्थानमा राप्रपा तथा स्थानीय प्रभावशाली शक्ति उदाउँदा परम्परागत दलका उम्मेदवारसमेत जमानत जोगाउन असफल भएका छन् । यो निर्वाचनले ‘जो कोही पनि उठ्न सक्छ’ भन्ने लोकतान्त्रिक खुलापनलाई पुष्टि गरे पनि ‘मतदाताले कसलाई रोज्छन्’ भन्ने कठोर यथार्थ अझ प्रस्ट बनाएको छ । धेरै क्षेत्रमा चुनाव प्रतिस्पर्धा औपचारिक रूपमा बहुदलीय देखिए पनि व्यवहारमा दुई, तीन वा बढीमा चार उम्मेदवारमै सीमित भएको छ । यही कारण, जमानत जफतको यो लहर कानूनी परिणाम मात्र नभई बदलिँदो मतदाताको मनोविज्ञानको राजनीतिक सन्देशका रूपमा प्रष्टिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्