नेभिगेशन
राजनीति

संसद्मा युवाको उभार

४० वर्षमुनिका ६० सांसद, नयाँ पुस्ताको दबदबा

काठमाडौं । यसपटकको प्रतिनिधिसभा निर्वाचन परिणामले नेपाली राजनीतिमा  पुस्तान्तरणका लागि प्रष्ट जनमत दिएको छ । प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूमध्ये ४० वर्षमुनिका करिब ६० जना संसदमा पुग्ने निश्चित हुँदा नयाँ पुस्ताको प्रभाव उल्लेखनीय रूपमा बढेको छ । 
नयाँ राजनीतिक शक्तिको उदय, सूचना प्रविधिको तीव्र विस्तार र परम्परागत दलप्रतिको असन्तोषले यसपटक संसद्मा युवाको उपस्थिति उल्लेख्य रूपमा बढाएको हो । प्रतिनिधिसभामा सबैभन्दा कम उमेरका सांसद रास्वपाका मकवानपुर–२ बाट निर्वाचित २५ वर्षीय प्रशान्त उप्रेती बन्ने भएका छन् । त्यस्तै रास्वपाकै नवलपरासी–२ बाट निर्वाचित २६ वर्षीय मनिष खनाल र रुपन्देही–२ बाट निर्वाचित २८ वर्षीय सुलभ खरेल पनि युवा प्रतिनिधित्व गर्दैछन् । 
यसैगरी २९÷२९ वर्षका झापा–१ बाट निशा डाँगी र काठमाडौं–५ बाट  सस्मित पोखरेल पनि रास्वपाबाट निर्वाचित भएका छन् । खोटाङबाट श्रम संस्कृति पार्टीका २९ वर्षीय आरेन राई पनि युवा सांसदका रूपमा नयाँ दलको प्रतिनिधित्व गर्दै लिएर संसदमा पुगेका छन् ।
३० वर्ष आसपासका अन्य सांसदहरूमा सप्तरी–२ बाट निर्वाचित रामजी यादव, सिरहा–२ बाट शिवशंकर यादव, काठमाडौं–१ बाट रञ्जु न्यौपाने तथा चितवन–३ बाट सोविता गौतम छन् । यी सबैले युवा नेतृत्वको नयाँ लहरलाई प्रतिनिधित्व गर्नेछन् । 
निर्वाचन परिणामअनुसार २५ देखि ३० वर्ष उमेर समूहका करिब १० जना सांसद संसदमा पुग्ने देखिएको छ । त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका करिब ५० जना सांसद हुने निश्चित भएको छ । यसरी ४० वर्षमुनिका सांसदहरूको संख्या ६० पुग्दा संसदमा युवाको प्रभाव उल्लेखनीय रूपमा बढ्ने देखिएको छ ।
३१ देखि ४० वर्ष समूहमा पनि धेरै युवा सांसद निर्वाचित भएका छन् । रास्वपाबाट झापा–५ का ३६ वर्षीय बालेन्द्र शाह, झापा–३ का ३७ वर्षीय प्रकाश पाठक, मोरङ–४ का ३४ वर्षीय सन्तोष राजवंशी, ललितपुर–३ की ३६ वर्षीया तोसीमा कार्की, काभ्रे–२ का ३३ वर्षीय बदनकुमार भण्डारी, अर्घाखाँचीका ३७ वर्षीय हरिप्रसाद भुसाल तथा गुल्मी–१ का ३४ वर्षीय सागर ढकाल विजयी भएका छन् ।
अन्य दलबाट पनि युवाहरू संसदमा पुगेका छन् । कांग्रेसबाट मुस्ताङ–१ का ३२ वर्षीय योगेश गौचन थकाली, इलाम–१ बाट निश्कल राई, पाल्पा–१ का ३८ वर्षीय सन्दीप राना र कपिलवस्तु–३ का ३८ वर्षीय अभिषेकप्रताप शाह निर्वाचित भएका छन् ।
त्यस्तै एमालेबाट इलाम–२ का ३६ वर्षीय सुहाङ नेम्बाङ र ताप्लेजुङ–१ का ३८ वर्षीय क्षितिज थेबे पनि संसदमा पुगेका छन् । नेम्बाङ दोस्रोपटक निर्वाचित भएका हुन् । जुम्ला–१ बाट ३४ वर्षीय ज्ञानबहादुर शाहीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताका रुपमा एकल प्रतिनिधित्व सुनिश्चित गरेका छन् । 
यद्यपि संसदमा मध्यम र वरिष्ठ उमेर समूहका सांसदहरू पनि छन् । ४१ देखि ५० वर्ष उमेर समूहका करिब ५६ सांसद निर्वाचित भएका छन् भने ५१ देखि ६० वर्ष उमेर समूहका सांसदहरूको संख्या ३७ पुगेको छ । ६१ देखि ७० वर्ष उमेर समूहका सांसद भने सात जना मात्रै रहने देखिएको छ ।
सबैभन्दा बढी उमेरका सांसदहरूमा टेकबहादुर गुरुङ र स्वतन्त्र सांसदका रूपमा निर्वाचित महावीर पुन ७१÷७१ वर्षका छन् । त्यस्तै रुकुमपूर्वबाट निर्वाचित नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड ७० वर्षको उमेरमा फेरि संसदमा हुनेछन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा नयाँ प्रवृत्ति देखाएको छ । सूचना प्रविधिको तीव्र विस्तार, सामाजिक सञ्जालको प्रभाव र नागरिक असन्तोषले परम्परागत दलहरूको वर्चस्व कमजोर बनाउँदै नयाँ वैकल्पिक शक्तिको उदय गराएको देखिन्छ ।
विशेषगरी रास्वपाको उदयले युवा मतदातालाई राजनीतिमा सक्रिय रूपमा सहभागी हुन प्रेरित गरेको विश्लेषण गरिएको छ । सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीले पनि युवा उम्मेदवारलाई लोकप्रिय बनाउन सहयोग पुगेको विश्लेषकहरू बताउँछन् ।
तर यससँगै केही चुनौतीहरू पनि देखिएका छन् । सामाजिक सञ्जालको तीव्र प्रभावका कारण भावनामा आधारित राजनीति र तथाकथित ‘सिटिजन जर्नालिज्म’ले गलत सूचना फैलाउने जोखिम पनि बढेको छ । यस्तो अवस्थामा संसदमा पुगेका नयाँ पुस्ताका नेताहरूले सस्तो लोकप्रियताभन्दा संस्थागत सुधार, सुशासन र दीर्घकालीन नीति निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
विश्लेषकहरूका अनुसार युवाको ठूलो उपस्थिति मात्र परिवर्तनको ग्यारेन्टी भने होइन । तर उनीहरूले पारदर्शिता, उत्तरदायित्व र आधुनिक शासन प्रणालीलाई प्राथमिकता दिएमा नेपाली राजनीतिक संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ ।
यसपटक संसदमा पुगेका युवा सांसदहरूले रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता र सुशासनजस्ता विषयलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ । मतदाताले उनीहरूबाट पुराना राजनीतिक अभ्यासभन्दा फरक शैलीको नेतृत्व र परिणाममुखी राजनीति अपेक्षा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्