नेभिगेशन
राजनीति

२६ वर्षीय  खनालको संसदीय यात्रा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल २६ वर्षमै संघीय संसद् पुग्न सफल भएका छन् ।
खनाललाई नयाँ पुस्ताको आकांक्षा र वैकल्पिक राजनीतिक सोच बोकेको अनुहारका रूपमा हेरिएको छ । मध्यविन्दु नगरपालिका–६, टाँडी निवासी खनालको जन्म २०५६ असार ११ गते भएको हो । विद्यालय तहसम्मको अध्ययन स्थानीयस्तरमै सम्पन्न गरी उच्च शिक्षाका लागि काठमाडौँ पुगेका खनालले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् ।
पुराना राजनीतिक दलको अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्ति आवश्यक ठानेपछि उनी तत्कालीन विवेकशील साझा पार्टीमा आबद्ध भए । विसं २०७६ मा जनकपुरमा सम्पन्न विवेकशील नेपाली दलको महाधिवेशनबाट खनाल २० वर्षकै उमेरमा केन्द्रीय सदस्य निर्वाचित भएको थिए ।
राजनीतिक सक्रियताका साथै खनालले संसदीय अभ्यासको अनुभव पनि बटुलेका छन् । उनले रास्वपाका सांसद असिम शाहको स्वकीय सचिवका रूपमा कार्यरत रहँदै संसद् र नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक अनुभव हासिल गरेका थिए । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेपछि उनकको चर्चा झन् बढेको थियो ।
कानुनको विद्यार्थी भएकाले जनताका जायज मागलाई संसद्मार्फत उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका खेल्ने लक्ष्यसहित राजनीतिमा आएको नव निर्वाचित खनालले बताए । युवा पुस्ताको आवाज, पारदर्शीता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।
खनालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तिलबहादुर महतलाई २५ हजार ५९२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । महत उक्त क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार भएका थिए । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीले १४ हजार ७१३ मत तथा नेपाल कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्