नेभिगेशन
राजनीति

मोदीसँगको टेलिफोन संवादमा रविले उठाए नेपालको प्राथमिकताका चार विषय

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन संवादमा नेपालको प्राथमिकताका चार विषय उठाएको बताएका छन् ।

भारतका प्रधानमन्त्री मोदीले दिएको बधाई सन्देशप्रति प्रतिक्रिया जनाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान र साझा समृद्धिमा आधारित बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए ।

रास्वपाले नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई मान्यता दिँदै शुभकामना दिएकोमा मोदीप्रति धन्यवाद पनि दिएको उनले बताएका छन् । पार्टीका तर्फबाट सभापति लामिछानेद्वारा जारी प्रतिक्रियामा रास्वपा नेतृत्वको सरकार ‘विकास कूटनीति’लाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरिएको छ ।

लामिछानेले नेपाल र भारतबीचको सहकार्यलाई अझ उचाइमा पुर्‍याउन कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा साझेदारी विस्तार गरिने जनाइएको छ । यी चार क्षेत्रमार्फत दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्ने लक्ष्य राखिएको रास्वपा सभापति लामिछानेको भनाइ छ ।

सोमबार रवि र वरिष्ठ नेता बालेन साहसँग भारतीय प्रधानमन्त्री मोदीले फोन संवाद गरेर फागुन २१ मा भएको निर्वाचनमा प्राप्त विशाल जितका लागि बधाई दिएका थिए । मोदीले टेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका थिए। उनले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्