नेभिगेशन
राजनीति

छोराले जिते चुनाव, बाबु पार्टी निकाला

काठमाडौं । छोराले चुनाव जित्दा बाबु कारबाहीमा परेको खबरले धेरैलाई आश्चर्यमा पार्न सक्छ । तर, बझाङमा यस्तै भएको छ । एमालेबाट टिकट पाएका छोरा ऐन महर संसदीय निर्वाचनमा निर्वाचित भएपछि कांग्रेसले उनका बाबु रामबहादुर महरलाई पार्टीले निष्कासन गरेको छ ।
छोराको पक्षमा प्रचारप्रसारमा लागेको आरोपमा कांग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल किसान संघ बझाङका पूर्वजिल्ला अध्यक्ष रामबहादुर महरलाई पार्टीबाट निष्कासन गरेको हो । महरमाथि पार्टीका उम्मेदवारविरुद्धका गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । त्यस्तै चार जनालाई स्पष्टीकरण माग्ने निर्णय पनि कांग्रेसले गरेको छ ।
कांग्रेसका बझाङ जिल्ला अनुशासन समिति संयोजक वर्कबहादुर रोकायाले रामबहादुर महरले पार्टीको आचरण, अनुशासन र विधानविपरीत कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीविरुद्धको गतिविधिमा संलग्न भएर अन्य दलका उम्मेदवारलाई मत मागिरहेको प्रमाणका आधारमा कारबाही गरिएको जनाएका छन् । सोही आधारमा जिल्ला समितिले महरलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेको हो ।
उनीबाहेक कांग्रेसले अक्कल कुँवर, भक्तबहादुर सिंह, वित्थडचिर गाउँपालिका अध्यक्ष अम्मर महर र तरुण दल केन्द्रीय सदस्य रविकुमार सिंहसँग पनि स्पष्टीकरणका लागि सिफारिस गरेको छ । चित्तबुझ्दो जवाफ नआएमा उनीहरूविरुद्ध कारबाही गर्न पनि सिफारिस गरिएको छ ।
निर्वाचनको मत परिणामअनुसार बझाङमा एमालेका ऐन महर १८ हजार ५ सय ४३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३ सय ४ मत प्राप्त गरेका थिए । यस्तै, नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ र रास्वपाका शैलेसकुमार सिंहले ९ हजार २ सय ६३ मत प्राप्त गरेका थिए । २०७९ को चुनावमा भानुभक्त जोशीसँग झिनो मतान्तरले हार बेहोरेका महरले दोस्रो प्रयासमा संसद् प्रवेश पक्का गरेका हुन् ।
महरले अन्तिम समयमा एमालेबाट टिकट पाएका थिए । सुरुमा बझाङका उम्मेदवार एमाले केन्द्रीय सदस्य अफिलाल ओखेडा तोकिए पनि पछि ओखेडाको स्थानमा महरलाई टिकट दिइएको थियो । कांग्रेसका स्नेहीलाई २ हजार २ सय ३९ मतान्तरले उछिन्दै निर्वाचित भएका हुन् ।
बझाङमा लामो समयदेखि जित निकाल्न नसकेका कांग्रेस यसपटक पनि निराश भएको छ । एमालेले २०७४ पछि पहिलोपटक बझाङमा जीत सुनिश्चित गरेको हो । महरले यस पटक एमालेको विरासत फर्काउन मात्र नभई सुदूरपश्चिममा पहिलो जीत दिलाउने सफलता पनि पाएका छन् ।
महर २०५५ देखि विद्यार्थी राजनीति सुरु गर्दै अनेरास्ववियूको विभिन्न पदमा रहेर सक्रिय थिए । एमाले र माओवादी केन्द्रको एकीकरणपछि २०७६ जेठ २ मा उनले अनेरास्ववियूको अध्यक्ष पद सम्हाले । पछि उनी विद्यार्थी राजनीति छोडेर एमालेको मूल राजनीतिमा प्रवेश गरे । एमालेको १० औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका छन् र बझाङको सहइन्चार्ज तथा केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । महर आफ्नो नेतृत्वमा जनताको विश्वासलाई सशक्त ढंगले प्रतिनिधित्व गर्दै विकास र समृद्धिका लागि योगदान दिने नेताका रूपमा चिनिन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्