नेभिगेशन
राजनीति

प्रतिनिधिसभा निर्वाचनः दुई तिहाइका लागि रास्वपालाई दुई सिट अपुग, अन्य दलको कति ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएसँगै आगामी संसदमा कुन दलको कति प्रतिनिधित्व रहने भन्ने लगभग स्पष्ट भएको छ ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ प्राप्त मतका आधारमा ५७ सिट पाउने देखिएको छ । निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट–लग’ सूत्र अनुसार हालसम्मको मत परिणामलाई आधार मान्दा रास्वपाको समानुपातिक सिट संख्या ५७ पुग्ने अनुमान गरिएको हो ।

यदि आयोगले यही सिट संख्या कायम गरेमा प्रतिनिधिसभामा रास्वपाको कुल सिट संख्या १८२ पुग्नेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई सिटले मात्र पछि पर्ने देखिएको छ । यद्यपि स्वतन्त्र सांसद महावीर पुन भने रास्वपाकै समर्थनमा निर्वाचित भएका छन् ।

समानुपातिकतर्फ कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ सदर मतमध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७ प्रतिशतभन्दा बढी हो ।

यसपटक समानुपातिक प्रणालीबाट ६ वटा दलले प्रतिनिधित्व पाउने देखिएको छ । दोस्रो ठूलो दलका रूपमा रहेको नेपाली कांग्रेसले समानुपातिकबाट २० सिट पाउने अनुमान छ । कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । समानुपातिकमा १७ लाख ५४ हजार ५२ मत प्राप्त गरेको कांग्रेसको प्रतिनिधिसभामा कुल ३८ सिट हुने देखिएको छ, जुन अघिल्लो प्रतिनिधिसभामा रहेको ८९ सिटको तुलनामा झण्डै आधाभन्दा कम हो ।
नेकपा एमालेले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ । प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेको प्रतिनिधिसभामा कुल २५ सिट पुग्नेछ । अघिल्लो प्रतिनिधिसभामा एमालेका ७९ सांसद थिए ।

गत निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएको एमाले यसपटक करिब ५० प्रतिशत मत गुमाउँदै १४ लाख ५१ हजार ७५९ मतमा सीमित भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ९ सिट पाउने देखिएको छ । प्रत्यक्षमा ८ सिट जितेको उक्त पार्टीको प्रतिनिधिसभामा कुल १६ सिट हुने अनुमान गरिएको छ । समानुपातिकतर्फ उसले ८ लाख ८ हजार ५ सय ८२ मत प्राप्त गरेको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकबाट ४/४ सिट पाउने देखिएको छ । श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ सिट जितेकाले उसको कुल ७ सिट हुनेछ भने राप्रपाले प्रत्यक्षमा १ सिट जितेकाले प्रतिनिधिसभामा उसको कुल ५ सिट हुने देखिएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना सकिएकाले अब सिट बाँडफाँटको औपचारिक प्रक्रिया अघि बढ्नेछ । दलहरूले प्राप्त गरेको सदर मतको आधारमा सिट निर्धारण गरिनेछ ।

सिट निर्धारण भएपछि आयोगले सम्बन्धित दलहरूलाई तीन दिनभित्र समानुपातिक बन्दसूचीबाट नाम सिफारिस गर्न पत्राचार गर्नेछ । दलहरूले पठाएको नाम सूची कानुनी मापदण्डअनुसार भए/नभएको आयोगले पुनः परीक्षण गरेपछि अन्तिम निर्णय गर्दै समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्