नेभिगेशन
राजनीति

यी सांसद, जसले जोगाए पार्टीको साख

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम आइसकेको छ । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिँदा कतिपय प्रदेशमा केही दलको प्रतिनिधित्व शून्य हुँदा केही प्रदेशमा भने ‘पार्टीको बिउ’ मात्र जोगियो । 
बागमती प्रदेशमा रास्वपाको लहर चलिरहँदा एमालेले कुनै क्षेत्र जित्न सकेन । कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको बिउ मात्रै जोगिएको छ । बागमतीका धेरै क्षेत्रमा स्थापित नेताहरू पराजित भइरहँदा कांग्रेसका मोहन आचार्य, रसुवा र नेकपाका युवराज दुलालले सिन्धुपाल्चोक–२ मा जित्न सफल भए । रसुवामा आचार्यको पकड यसपटक पनि कायमै रह्यो । उनले सो क्षेत्रबाट जितमा ह्याट्रिक गर्दा पार्टीलाई बागमतीमा निल हुनबाट बचाए । 
सिन्धुपाल्चोक–२ मा नेकपाका प्रदेश सांसद दुलाल प्रदेश सभाबाट  राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए । पूर्व प्रदेशमन्त्रीसमेत रहेका दुलाल आफ्नो क्षेत्रमा ग्रासरुटसम्म भिजेका नेता मानिन्छन् । बागमती प्रदेशमा नेकपाको उपस्थिति कमजोर हुँदा उनको जितले नेकपालाई राहत मिलेको छ । दुलालले कांग्रेसका वंशलाल तामाङलाई पराजित गरे । बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवाबाहेक ११ जिल्लामा  ‘क्लिन स्विप’ गरेको रास्वपाले सिन्धुपाल्चोक–१ मा पनि जितेको छ । यो क्षेत्रमा रास्वपाका भरत पराजुली नेकपाका माधव सापकोटालाई पराजित गर्दै निर्वाचित भए । 
त्यस्तै, मधेश प्रदेशमा पनि रास्वपाले ३० क्षेत्रमा जित्यो । कांग्रेसका फिर्दोस आलमले  रौतहट–२ र नेकपाका मातृका यादवले धनुषा–१  मा पार्टीको बिउ जोगाए । आलमले २९ हजार ५२८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपाका किरणकुमार साहले १८ हजार ४४२ मत ल्याए । यादव रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज हुँदा कम मत ल्याएर पनि निर्वाचित भए ।  एमाले र मधेस केन्द्रित दल यो प्रदेशमा निल भए । 
लुम्बिनी र कर्णाली प्रदेशमा भने एमालेले १÷१ सिट जित्यो । लुम्बिनी प्रदेशमा एमालेका मोहम्मद इस्तियाक राई बाँके–२ बाट निर्वाचित भएर एक सिट सुरक्षित गरे । उनी निर्वाचनको केहीअघिमात्रै जसपा छाडेर एमाले प्रवेश गरेका हुन् । कर्णाली प्रदेशमा लक्ष्मीप्रसाद पोखरेल दैलेख–२ बाट विजयी भएर पार्टीको प्रतिनिधित्व जोगाए । कर्णाली प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा रास्वपाले पनि बिउ जोगाएको छ । अन्य प्रदेशमा लहर आउँदा सुर्खेत–२ मा मात्रै रास्वपाले जित्यो । यो क्षेत्रमा रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटा भारी मतान्तरले विजयी भए । 
त्यस्तै, कर्णाली प्रदेशले राप्रपालाई पनि राहत दिएको छ । अरू प्रदेशमा प्रत्यक्षमा निल भएको राप्रपाले जुम्लामा पनि जित हासिल ग¥यो ।  ज्ञानेन्द्र शाही दोस्रोपटक निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रत्यक्षमा एउटा सिट जोगाउन सफल भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति