नेभिगेशन
अन्तर्वार्ता

हामी सक्षम छौं, सरकारले नीतिगत सहयोग गर्नुपर्छः विप्लव अधिकारी, अध्यक्ष, नेपाल औषधि उत्पादक संघ

एक्सपोमा औषधि क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि, नवीनतम प्रविधि र विभिन्न नवप्रवर्तनहरू प्रदर्शनीका रूपमा प्रस्तुत गरेका छौं । अवलोकनकर्ताले एक्स्पोमा आफूले प्रयोग गर्ने औषधि कसरी उत्पादन हुन्छन् भन्ने कुरा नजिकबाट बुझ्न सक्नुहुन्छ । यो कार्यक्रम केवल औषधि क्षेत्रका व्यक्ति, चिकित्सक वा स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूका लागि मात्र नभई सर्वसाधारणका लागि पनि महत्वपूर्ण छ ।
सर्वसाधारणले पनि आफूले सेवन गर्ने औषधिहरू नेपालमा कस्ता प्रविधिबाट बनिरहेका छन्, विश्वमा उत्पादन हुने औषधि र नेपालमा उत्पादन हुने औषधिबीच के–कस्ता अन्तर छन् वा छैनन् भन्ने कुरा बुझ्ने अवसर प्राप्त गर्नुहुनेछ । साथै, हामीले विश्वस्तरीय प्रविधि अपनाएर नेपालमै उत्कृष्ट गुणस्तरका औषधिहरू उत्पादन गरिरहेका छौं भन्ने कुरा पनि यहाँ अवलोकन गर्न सक्नुहुनेछ । आज एक्सपोको दोस्रो दिनसम्म करिब सात हजारभन्दा बढीले अवलोकन गरिसक्नुभएको छ । यस एक्सपोमा करिब २५ हजारभन्दा बढी मानिस सहभागी हुने अपेक्षा हामीले गरेका छौं ।
एक्स्पो मुख्यरूपमा औषधि उत्पादनमा प्रयोग भइरहेका नयाँ–नयाँ प्रविधिहरू प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्ने गरेका छौं । प्रविधि निरन्तर परिवर्तन भइरहने भएकाले पछिल्ला दुई वर्षमा कस्ता–कस्ता नयाँ प्रविधिहरू विकसित भएका छन् र नेपाली औषधि उद्योगहरूले ती प्रविधिहरूलाई कति आत्मसात् तथा उपयोग गरेका छन् भन्ने कुरा देखाउनु नै यस एक्सपोको मुख्य उद्देश्य हो ।
नेपालले पनि बंगलादेश र भारतजस्तै औषधि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको छ । यो लक्ष्य हासिल गर्न नेपाल सरकारले आवश्यक नीतिगत परिवर्तन गर्नु पनि अत्यन्त जरुरी छ । जसरी बंगलादेश र भारत यस क्षेत्रमा सफल भएका छन्, त्यसैगरी नेपाललाई पनि औषधि उत्पादनमा आत्मनिर्भर बनाउन हामीले धेरै काम गर्नुपर्नेछ । यसका लागि नेपाल सरकारसँग सहकार्य गरेर काम गर्न हामी सधैं तत्पर छौं । एक्स्पो आयोजना गर्नुको अर्को उद्देश्य पनि यही हो ।
हामीसँग आवश्यक प्रविधि छ, हामी औषधि उत्पादन गर्न सक्षम छौं र हामीसँग दक्ष विज्ञहरू पनि छन् । तर केही नीतिगत कारणहरूले गर्दा नेपाली औषधि उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच विस्तार गर्न सकिरहेको छैन । देशभित्र पनि हाल हामी करिब ५० प्रतिशत मात्र औषधि बजारमा हिस्सा ओगट्न सफल भएका छौं । आगामी दिनमा यसलाई बढाएर ७०–८० प्रतिशतसम्म पु¥याउने हाम्रो लक्ष्य छ, जसका लागि राज्यको सहयोग अत्यन्त आवश्यक छ । राज्यलाई यस विषयमा ध्यानाकर्षण गराउन, उद्योगको क्षमता देखाउन तथा सहकार्यको आवश्यकता उजागर गर्न पनि हामीले यो एक्सपो आयोजना गरेका हौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्