नेभिगेशन
अन्तर्वार्ता

फर्मा एक्स्पो औषधि उत्पादकहरुका लागि महाकुम्भ नै होः शरदचन्द्र ओझा, कार्यसमिति सदस्य, औषधि उत्पादक संघ

नेपाल फर्मा एक्स्पोको यो दसौं संस्करण हो । यसको प्रमुख उद्देश्य भनेको हामीले औषधि उत्पादन गर्दा प्रयोग गर्ने विभिन्न प्रविधि, मेसिनरी र प्रणालीबारे जानकारी गराउनु हो । हामीले औषधि उत्पादन गर्दा कस्ता मेसिन प्रयोग गरिरहेका छौं, कस्ता प्रविधि अपनाइरहेका छौं र ती प्रविधि वर्तमान समयका नवीनतम प्रविधि हुन् कि होइनन् भन्ने कुरा देखाउनु यस एक्स्पोको उद्देश्य हो ।
नेपालमा औषधि उद्योगको करिब ६० वर्षको इतिहास छ । यस अवधिमा उत्पादन गरिएका औषधिहरू र अहिले उत्पादन भइरहेका औषधिहरूबीच के–कस्ता भिन्नता छन्, ती भिन्नतालाई प्रविधि, गुणस्तर तथा बिरामीमा औषधिको प्रभावकारिताका आधारमा कसरी व्याख्या गर्न सकिन्छ भन्ने कुरा पनि हामी यहाँ प्रस्तुत गर्न खोजिरहेका छौं । यो एक्स्पो एक प्रकारको महाकुम्भजस्तै हो । यहाँ नेपाली औषधि उत्पादकहरू मात्र नभई औषधि उत्पादनमा सहयोग गर्ने विभिन्न मेसिन कम्पनीहरू, कच्चा पदार्थ आपूर्तिकर्ताहरू, प्याकेजिङ सामग्री आपूर्तिकर्ताहरू तथा प्रयोगशालाका उपकरण उपलब्ध गराउने कम्पनीहरू सहभागी भएका छन् । यसरी समग्र रूपमा हेर्दा यो एउटा पूर्ण प्याकेजको प्रदर्शनी हो ।
विगत र अहिलेको एक्स्पोबीच केही फरक छन् । पहिलो फरक भनेको अघिल्लो संस्करण चितवनमा भएको थियो भने अहिले काठमाडौंमा आयोजना गरिएको छ । दोस्रो, औषधि क्षेत्रमा प्रविधि निरन्तर परिवर्तन भइरहन्छ । नयाँ–नयाँ उपकरण र प्रणालीहरू विकसित भइरहेका हुन्छन् । उदाहरणका लागि, प्रयोगशालामा हुने परीक्षण प्रक्रियालाई लिन सकिन्छ। हाम्रो कम्पनी आइडियल फर्मास्युटिकल्सले नेपालमै आइ ड्रप उत्पादन गर्छ । पहिले आइ ड्रप उत्पादन र परीक्षणका लागि प्रयोग हुने प्रविधि फरक थियो भने अहिले हामी करिब १२–१३ प्रकारका परीक्षण गर्छौं । ती परीक्षणहरूका लागि प्रयोग हुने अत्याधुनिक मेसिनहरू यहाँ प्रदर्शन गरिएका छन् । यसबाट अन्तर्राष्ट्रिय स्तरमा प्रविधि कहाँ पुगेको छ र हामीले ती प्रविधिहरूलाई कति अपनाएका छौं भन्ने कुरा देखाउन खोजिएको हो । यही नै विगत र अहिलेको एक्स्पोबीचको मुख्य भिन्नता पनि हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्