नेभिगेशन
अन्तर्वार्ता

औषधिको उपलब्धता सुनिश्चित गर्न सरकारले तयारी गर्नुपर्छः शैलेश वैद्य, मिडिया कोर्डिनेटर, औषधि उत्पादक संघ

एक्सपोमा विभिन्न स्टलमार्फत नयाँ–नयाँ प्रविधि, प्राविधिक पक्ष तथा औषधिको गुणस्तर कसरी सुनिश्चित गरिन्छ भन्ने विषयहरू प्रस्तुत गरिएको छ । औषधि उद्योगको स्थापना, सञ्चालन र उत्पादन प्रक्रियासँग सम्बन्धित धेरै पक्षहरू यस प्रदर्शनीमा देख्न सकिन्छ । हामीले यी सबै कुरा जनतासामु स्पष्ट रूपमा प्रस्तुत गर्न चाहेका हौं । यस कार्यमा मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण छ ।
नेपाल अहिले अतिकम विकसित देशको सूचीमा रहेको देश हो । तर सन् २०२६ को नोभेम्बरदेखि नेपाल उक्त सूचीबाट स्तरोन्नति हुँदै बाहिरिने प्रक्रियामा छ । अहिले अतिकम विकसित देशको अवस्थामा रहेकाले नेपालमा केही पेटेन्टसम्बन्धी कानून पूर्णरूपमा लागू हुँदैनन् । त्यस कारणले गर्दा विभिन्न बहुराष्ट्रिय कम्पनीहरूले विकास गरेका नयाँ–नयाँ औषधि तथा औषधिका अणुहरू यहाँ उत्पादन गर्न वा उपलब्ध गराउन सहज भएको छ । यसको परिणामस्वरूप नेपाली जनताले गुणस्तरीय औषधि तुलनात्मकरूपमा सुलभ मूल्यमा प्राप्त गरिरहेका छन् ।
तर स्तरोन्नति भएपछि पेटेन्टसम्बन्धी कानूनहरू लागू हुन सक्छन् । त्यसले गर्दा भविष्यमा औषधिको उपलब्धता सुनिश्चित गर्न केही जटिलता आउन सक्ने सम्भावना छ । किनभने त्यसपछि बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी कानून लागू हुन सक्छ । अहिलेसम्म नेपालमा यससम्बन्धी पूर्ण कानूनी संरचना स्पष्टरूपमा तयार भइसकेको छैन । त्यसैले नयाँ सरकार तथा सम्बन्धित निकायहरूले यस विषयलाई गम्भीर रूपमा बुझेर आवश्यक नीतिगत व्यवस्था र कानूनी संरचना तयार गर्न जरुरी छ ।
यो विषय उद्योगसँग मात्र सम्बन्धित नभई स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । त्यसैले नेपाली जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै औषधिको सहज उपलब्धता सुनिश्चित गर्ने दिशामा सरकारले विशेष ध्यान दिन आवश्यक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्