नेभिगेशन
मनोरञ्जन

‘लालीबजार’को गीत सार्वजनिक

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटाले अभिनय गरेका छन् । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ । गीतमा खेम सेन्चुरी र दीपिका बयाम्बु मगरको स्वर रहेको छ भने संगीत खेम सेन्चुरीकै र शब्द रमेश बिजीको रहेको छ ।
बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा, रवीन्द्रसिंह बानियाँ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, समाइरा थापा र मुकुन्दकुमार श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।


यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन् । निर्देशक थापाका अनुसार फिल्मको नाम पहिले अर्को राखिएको भए पनि पछि परिवर्तन गरेर ‘लालीबजार’ राखिएको हो, जसको शीर्ष पात्रको नाम मधुबाला रहेको छ ।
निर्माण पक्षका अनुसार संवेदनशील विषयवस्तुमा आधारित फिल्म आगामी वर्ष २०८३ वैशाख १८ गते प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्