नेभिगेशन
राजनीति

एमाले र श्रम संस्कृतिले टुंग्याए समानुपातिक सांसद

सांसद छनोटका लागि कांग्रेस, रास्वपा, राप्रपा र नेकपा बैठक गर्दै

काठमाडौं  । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै दलहरु समानुपातिक सूचीका नामहरु टुंगो गर्न दबाबमा छन् । निर्वाचन आयोगले सम्झाएसँगै सुरुमा एमाले र श्रम संस्कृति पार्टीले समानुपातिक सूचीका नाम टुंगो गरेका छन् । 
रास्वपा, कांग्रेस, नेकपा र राप्रपाले आइतबार बैठक गरेर बन्द सूचीमा बुझाइएको मध्येबाट सांसदको नाम टुंगो गर्ने तयारी छ ।  एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेकाले उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले शनिबार समानुपातिक उम्मेदवारको टुंगो लगाएको हो । 
उपमहासचिव लेखराज भट्टकाअनुसार क्लस्टर अनुसार चयन गरिएको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको छ । समानुपातिकतर्फ एमालेले प्राप्त गरेको मतको आधारमा १६ सीट जितेको थियो । जसमा जनजाति ४ जना, खसआर्य ५ जना,  थारु १ जना, दलित २ जना, मधेसी ३ र मुस्लिम १ जना चयन भएका छन् । 
आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरूष) र कुलभक्त शाक्य (पुरूष) छन् । खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरूप्रसाद बराल (पुरूष), पुष्पराज कँडेल (पुरूष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपांगता तथा महिला क्लस्टरसमेत) छन् । त्यस्तै, थारूतर्फ कृपाराम राना छन् भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी छन् । 
त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी बराल र चन्द्रेश्वर मण्डल (पुरूष) छन् । मुस्लिमतर्फ साजिदा सिद्दिकी रहेको उपमहासचिव भट्टले बताए।
समानुपातिकतर्फ ६ दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउँदा ५१ दलले भने थ्रेसहोल्ड पार गर्न सकेनन् । 
पूर्वका हर्कले समेटे कर्णाली र वाग्मती 
३ सिट प्रत्यक्ष जितेर समानुपातिकतर्फ थ्रेसहोल्ड पार गर्दै पहिलो पटक राष्ट्रिय पार्टी बनेको श्रम संस्कृतिले पनि समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । हर्कराज राई नेतृत्वको यो पार्टीले समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको छ । पहिलो पटक निर्वाचनमा भाग लिएको यो पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९ सय २ मत प्राप्त गरेको थियो । 
समानुपातिक सांसदहरूको टुंगो लागेको पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईले बताइन् । आदिवासी महिलाबाट मकवानपुरकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलितबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने भएको छ । प्रत्यक्षतर्फ कोशी प्रदेशबाट ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ भने कर्णाली र वाग्मती प्रदेशबाट सांसद बनाउने भएको छ । 
रास्वपामा समानुपातिकसँगै सरकार गठन एजेण्डा 
आगामी प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र दोस्रो दल कांग्रेसले भने आइतबारमात्रै समानुपातिकका नाम टुंगो लगाउने भएका छन् । रास्वपाले आइतबार बिहान १० बजे केन्द्रीय कार्यालयमा सचिवालयको बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्नेछ । रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ । 
आइतबार बस्ने बैठकमा वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार गठन प्रक्रियाबारे पनि छलफल हुने बताइएको छ । सदनमा ठूलो दलको संसदीय दलका नेता प्रधानमन्त्री हुने वैधानिकतालाई पुरा गर्न रास्वपाले विधान संशोधन पनि गर्ने भएको छ ।   
त्यस्तै, कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो १ बजे केन्द्ीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने कार्यसूची छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको नाम बुझाउन आइतबारसम्मको समय दिएको छ । कांग्रेसले समानुपातिकतर्फ २० सिट जितेको छ । 
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार कार्यसम्पादन समितिको बैठकबाट नाम सिफारिस गर्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपाले ४ सिट प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि आइतबार समानुपातिकतर्फको नाम पठाउने तयारी गरेको छ । नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ ।

यी हुन् एमाले समानुपातिक सांसद
भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्मा अर्याल, टुकाभद्रा हमाल, यसोदाकुमारी बराल, प्रसाद बराल, पुष्पराज कँडेल, कृपाराम राना, विष्णुमाया बिक, नीता घतानी, रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल, साजिदा सिद्दीकी
श्रम संस्कृति पार्टी 
मन्दिरा मोक्तान, अम्बिका संग्रौला, राधिका रम्तेल र पूर्ण लिम्बू

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति