काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ वटा राजनीतिक दलले बन्दसूचीका नामहरु निर्वाचन आयोगमा बुझाएका छन् ।
एमाले र श्रम संस्कृति पार्टीले नामहरु शनिबार टुंगो गरेका थिए । रास्वपा, कांग्रेस, नेकपा र राप्रपाले आइतबार निर्णय गर्दै सूची बुझाएका हुन् ।
रास्वपाले समानुपातिक ५७ जनाको नामावली बसेको सचिवालय बैठकबाट टुंगो गरेको हो । पार्टीले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ । यी क्लस्टरबाट परेकाहरुको नाम निर्वाचन आयोगले प्रमाणित गरेपछि मात्रै सार्वजनिक हुने प्रवक्ता झाले बताए ।
राास्वपाले आयोगमा बुझाएको बन्दसूचीमा मुस्लिम समुदायबाट पाँच जनालाई उम्मेदवार बनाएको थियो । उक्त समुदायबाट दुई पुरुष र तीन जना महिलाको नाम बन्दसूचीमा छ । बाँकेका सैयद वकार अहमद शाह, कपिलवस्तुका मिर्जा राशिद वेग, चितवनकी समिना मिया, काठमाडौंकी अफसाना बानु र रौतहटकी गजाला शमिम मिकरानी छन् । जसमध्ये तीन जना निर्वाचित हुने भएका छन् ।
कांग्रेसले समाुनपातिकमा २० जना सांसदको नाम आयोगमा सिफारिस गरेको छ । कार्यसम्पादन समितिको बैठकले नामहरु टुंगो गरेको हो ।
पार्टीले खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसीको नाम राखेको छ । आदिवासी जनजाति कोटामा गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी श्रेष्ठ र भीष्मराज आङ्देम्बेलाई सिफरिस गरेको छ ।
मधेसी कोटामा निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्द्रमोहन यादव, दलित कोटामा हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपालीको नाम पठाएको छ । यस्तै थारु कोटामा प्रमिलाकुमारी गच्छदारको नाम छ ।
यस्तै नौ सिट पाएको नेपाली कम्युनिस्ट पार्टीले पनि नाम पठाएको छ । खस आर्यमा प्रमेश हमाल, बलावती शर्मा, आदिवासी जनजातिमा परशुराम तामाङ, भीमकुमारी बुढा, अपांगतामा प्रेम बयक, मधेसीमा जोगकुमार बर्बरिया यादव, दलितमा पार्वती विक, गणेश विश्वकर्मा र थारु क्लस्टरमा निराशा चौधरी डगौराको नमम पठाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चार जनालाई सिफारिस गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले नाम छनोट गरेको हो । भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा तथा सरस्वती लामा (जनजाति महिला) धादिङलाई सिफारिस गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
श्रम संस्कृति पार्टीले चार जनाको नाम आयोगमा पेस गरेको छ । मधेसी महिला रुवीकुमारी ठाकुर, दलित महिला राधिका रम्तेल, खस आर्य महिला अम्बिकादेवी संग्रौला खड्का र आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बू निर्वाचित भएको सूची आयोगमा पेस गरेको पार्टीका उपाध्यक्ष लोकनाथ चुडालले बताए ।