नेभिगेशन
अर्थतन्त्र

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व संकलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व संकलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८०.४३ प्रतिशत हो ।
कार्यालयका प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म तीन अर्ब ३६ करोड ४१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । फागुनमा मात्र ४४ करोड ५० लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ५७.१७ प्रतिशत मात्र संकलन भएको उनले जानकारी दिए ।
कार्यालयका अनुसार आठ महिनामा आयकरबाट एक अर्ब २४ करोड ८२ लाख ४४ हजार, मूल्य अभिवृद्धि करबाट ९७ करोड ३२ लाख १८ हजार तथा अन्तःशुल्कबाट ३६ करोड ७० लाख ५३ हजार राजस्व संकलन भएको छ ।
प्रमुख कर अधिकृत थापाले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण बजार अनुगमनलगायत गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यावहारिक करशिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्