नेभिगेशन
अर्थतन्त्र

हुरीका कारण झापामा केराखेतीमा क्षति

झापा । तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसान चन्द्र बस्नेतको दुई बिघा जमिनमा लगाएको केराखेतीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार दुई बिघा दुई कठ्ठा जमिनमा लगाएको केरा हुरीले पूर्णरूपमा नष्ट गरेको छ ।
उनका अनुसार बस्नेतले लगाएको ३० बिघा जमिनको केरामध्ये घरी लागेका दुई बिघा जमिनको तीन हजार २ सय बोट केरा नष्ट भएको हो । केरा नष्ट हुँदा करिब १६ लाखको क्षति भएको उनले बताए ।
बस्नेतले प्राकृतिक विपत्तिले आफूलाई पटक–पटक मर्कामा पारेको बताए । यसअघि असोज १८ र १९ को अविरल वर्षा र बाढीले उनको करिब एक करोड रुपैयाँबराबरको केराखेती नष्ट गरेको थियो ।
‘बाढीले उजाडेको ठाउँमा बल्लतल्ल नयाँ बिरुवा हुर्काउँदै थिएँ, फेरि हुरीले सखाप पारिदियो,’ बस्नेतले भने, ‘अघिल्लो पटकको क्षतिको राहत अझै कतैबाट पाएको छैन, फेरि अर्को क्षति । प्रकृति विपद् पनि मलाई मात्र आउँछ कि जस्तो हुन थल्यो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्