नेभिगेशन
अर्थतन्त्र

माथिल्लो ठूलोखोलाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा

 

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा निर्माण सम्पन्न २२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । ठूलोखोला हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । 
आयोजनाको सम्पूर्ण भौतिक संरचना निर्माण तथा उपकरण जडान गरेर आन्तरिक परीक्षणको चरण पूरा गरेपछि विद्युत् उत्पादन सुरु गरिएको आयोजना प्रमुख शिवसागर यादवले बताए । उनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली आयोजना स्थल पुगेर विभिन्न चरणको परीक्षण पूरा गरेपछि विद्युत् प्रसारण प्रणालीमा जोडिएको हो । 
आयोजनाले अहिले परीक्षण उत्पादन गरिरहेको छ । २ सातासम्म परीक्षण उत्पादन गरी विद्युत् प्राधिकरणलाई निशुल्क विद्युत् दिएपछि व्यापारिक उत्पादन सुरु गरिने पनि यादवले बताए । आयोजनाको जडित क्षमता २२.५ मेगावाट भएपनि अहिले सुख्खा याम नै रहेकाले १३.८३ मेगावाट विद्युत् उत्पादन भई प्रसारण प्रणालीमा गइरहेको छ ।
आयोजनाको संरचना निर्माणको काम २०८० सालमा सुरु गरिएको थियो । आयोजनाको भौतिक संरचना रहेको स्थल भौगोलिकरूपमा विकट स्थानमा पर्ने भएपनि निर्माणलाई तीव्रता दिएर २०८२ सालभित्र नै प्रसारण प्रणालीमा जोड्न सम्भव भएको कम्पनीले जनाएको छ ।
रघुगंगा–७ को सुगुरथलामा आयोजनाको बाँध, डिसेन्डर (बालुवा थिग्राउने पोखरी) लगायत संरचना निर्माण गरिएको छ । आयोजनाको बाँध स्थलदेखि विद्युत्गृहसम्म २.९ किलोमिटर लामो पाइप लाइन निर्माण गरिएको छ । ३०० मिटर लामो सर्चसाफ्ट पाइप लाइन जडान गरिएको छ । आयोजनाको विद्युत्गृह फेदीमा निर्माण गरिएको छ । आयोजनाको विद्युत्गृहमा दुई वटा उत्पादन युनिट राखिएको छ ।
आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्न विद्युत्गृह रहेको फेदीदेखि बन्दीसम्म ६ किलोमिटर १३२ केभी प्रसारण लाइनको १४ वटा टावर निर्माण गरिएको छ । साथै, बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले निर्माण गरेको प्रसारण लाइनमा ट्याप गरी तिल्केनीचौर हँुदै कालीगण्डकी करिडोर प्रसारण लाइनको दाना–खुर्कोट २२० केभी प्रसारण लाइन जोडिएको कम्पनीले जनाएको छ । विद्युत्गृह रहेको फेदीदेखि तिल्केनीचौरसम्मको कुल प्रसारण लाइनको दूरी २३.५ किलोमिटर छ ।     
आयोजना निर्माण सम्पन्न हुँदा ५ अर्ब १४ करोड रुपैयाँ खर्च भएको अनुमान छ । आयोजनामा सिटिजन्स, माछापुच्छ«े र कृषि विकास बैंकले ऋण लगानी गरेका छन् । बैंकहरूले आयोजनामा गरेको लगानी कुल लागतको ७० प्रतिशत हो । ३० प्रतिशत लगानी स्वपुँजी हो । कुल स्वपुँजी लगानीको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि र २० प्रतिशत सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेर व्यवस्थापन गरिने पनि कम्पनीले जनाएको छ ।
राहुघाट र सहायक नदीहरूमा निजी क्षेत्रले निर्माण गरेका ३ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । यो बेसिनमा तुँदी पावरले प्रवद्र्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले र त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा छन् ।     
यस्तै, राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जाले निर्माण गरेको २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न भई भदौदेखि सञ्चालनमा छ । साथै, नेपाल विद्युत् प्राधिकरणको सहायक रघुगंगा हाइड्रोपावर कम्पनीले प्रवद्र्धन रहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्